हल्का विषयमा संसदीय समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुन्छ : एमाले
काठमाडौं : नेकपा एमालेले नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिन समिति नबन्ने बताएको छ। हल्का विषयमा पनि संसदीय छानबिन समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुने एमालेको भनाइ छ।
सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर छानबिन समिति बनाउनुपर्ने अडान लिएको बताए। कांग्रेसको माग तथ्य र प्रमाणमा आधारित नरहेको उनको भनाइ छ।
'कांग्रेसले माग गरेको संसदीय छानबिन समिति तथ्य र प्रमाणमा आधारित छैन। राजनीतिक पूर्वाग्रह राखेर माग गरिएको संसदीय समिति बन्दैन,' बर्तौलाले भने, 'यस्ता हल्का विषयमा संसदीय समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुन्छ भन्ने एमालेको अडान हो।'
उनले छानबिनको विकल्प रहे पनि कांग्रेसको संसदीय छानबिन समिति बनाउनैपर्ने अडान जायज नरहेको बताए। 'हामीले मागमा पुनर्विचार गर्न आग्रह गरेका हौं। उहाँहरूले अड्डी कसेर बस्नुभएको छ। त्यसैले पनि प्रतिपक्षीले उठाएको विषय न्योचित छैन,' उनले भने।
प्रमुख सचेतक बर्तौलाले संसदका विभिन्न विषयगत समिति रहेको र उक्त विषय सम्बन्धित जुनसुकै समितिमा पनि छलफल गर्न तयार रहेको बताए। 'संसदका १० वटा समितिहरू छन्। त्यहीँ पनि यो विषय छलफल गर्न सकिन्छ। सरकारलाई सुझाव दिने धेरै ठाउँहरू छन्। त्यो हुँदाहुँदै गलत तरिका नअपनाउन भनेका हौं,' उनले भने। उनले मंगलबार बस्ने संसद बैठक कार्यतालिका अनुसार नै चल्ने बताए। मुठभेड ननिम्त्याउ कांग्रेसलाई आग्रह गरिएको उनको भनाइ छ।
'सरकारका अन्य थुप्रै स्थापित मेकानिज्महरू छन्। त्यहाँबाट छानबिन गर्ने र पीडितलाई न्याय दिन एमाले सधैं तयार छ। लामो संसदीय इतिहास बोकेको पार्टीले संसदलाई मुठभेडतर्फ लाने प्रयास गर्नुहुन्न,' उनले भने।