वीरगन्ज नाकाबाट ६ लाख रकमसहित एक महिला पक्राउ
वीरगन्ज : भारतसँग सीमा जोडिएको वीरगन्ज नाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाकी ३७ वर्षीया मालतीदेवी सोनारिन् रहेकी छन्।
सोमबार भारतको रक्सौफबाट पैदल वीरगन्ज आउँदै गरेकी सोनारिन्लाई वीरगन्ज-१६ स्थित शंकराचार्य गेट नजिकै सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।त्यसक्रममा उनको साथबाट श्रोत खुलाउन नसकेको नेपाली १ हजार दरको नोट ६ सय थान अर्थात ६ लाख रुपैयाँ बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले बताए।
महिलाको साथबाट बरामद रकम हुण्डीको कारोबारमा प्रयोग गरिएको रकम रहेको सशस्त्र प्रहरीको आशंका छ। रकमसहित नियन्त्रणमा लिइएकी सोनारिन्लाई आवश्यक कारबाहीका लागि सोमबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले जानकारी दिए।