काठमाडौं : सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। मंगलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठक मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछिसभामुख घिमिरेले १५ मिनेटपश्चात आजै बैठक बस्नेगरी स्थगित गरेका हुन्।
बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।कांग्रेसले विरोध गरेपछि सभामुखले कांग्रेस सचेतक एवम् सांसद सुशिला थिङलाई समय दिएका थिए। उनले सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरिन्।
त्यसपश्चात सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए। तर कांग्रेस सांसदले उठेर निरन्तर विरोध गरेपछि बैठक स्थगित भएको हो।
मंगलबार बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको निष्कर्ष निकालेकाले गृहमन्त्री लामिछानेको कुरा नसुन्ने बताएका थिए। लेखकले आफूहरुले प्रधानमन्त्रीको कुरा सुनिसकेकाले संसदीय छानबिन समिति गठन नगरेसम्म गृहमन्त्री लामिछानेको कुरा नसुन्ने बताएका थिए।
त्यसपश्चात बालुवाटारमा प्रधानमन्त्री, सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताबीच भएको छलफलमा पनि कांग्रेसले अडान नछाडेपश्चात बैठक बिना निष्कर्ष टुंगिएको थियो।