सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागीको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
काठमाडौं : सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
उनका अनुसार समितिमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य रहनेछन्।
सोमबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको थियो। आगलागीको क्षतिको विवरण, आगलागीको कारण, भण्डारमा आगलागी तथा अन्य विपदजन्य जोखिम न्यूनीकरणका लागि गरेको पूर्व तयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्य तथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।