कांग्रेस सरकारमा गएपछि न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारको बुँदा हटाइयो : रास्वपा
काठमाडौं : रास्वपाले कांग्रेस सरकारमा हुँदा न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारको विषय हटाएको दाबी गरेको छ। बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद मनिष झाले पहिलो पटक न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउँदा भ्रष्टाचारको छानबिन गर्ने उल्लेख भएपनि कांग्रेस सरकारमा जाने बित्तिकै भ्रष्टाचारको बहस नगरौं भन्दै त्यो हटाएको दाबी गरेका हुन्।
उनले भने, ‘हामीले न्यूनतम साझा कार्यक्रम पहिलो बनायौं सरकारमा संलग्न हुँदै गर्दा २०७९ पौष २५ गते। त्यसको पृष्ठ ३ को पहिलो बुँदामा लेखेका थियौं अहिलेसम्मको सबै भ्रष्टाचारको मुद्दाहरुको छानबिन गरौं भनेर। हामीले सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै गर्दा कांग्रेस सरकारमा सरकारमा संलग्न भएपछि २०७९ चैत्र २३ मा अर्को न्यूनतम साझा कार्यक्रम बन्यो। जसमा त्यो बुँदाहरु हटाइयो। भ्रष्टाचारको विषयमा बहस नगरौं भनेर त्यो बुँदाहरु हटाइयो, मैले संसदमा गुनासो पनि गरे नहटाइदिनुस् भनेर। हामी सरकारमा फर्किएपछि २०८० चैत्र ६ गते तेस्रो न्यूनतम साझा कार्यक्रम बनायौं, त्यसमा हामीले लेखेका छौं सबै भ्रष्टाचारको फाइल खोलौं। ’
उनले प्रतिपक्षलाई हामीले कहिले मुद्दा छानबिन नगरौं भनेर भन्यौ भन्दै प्रश्न गरे। झाले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न आग्रह गरे।
उनले गृहमनन्त्रीको विषयमा कानुनले कुनै निर्णय नदिएको स्पष्ट पारे। उनले भने,‘प्रधानमन्त्रीले सदनमा आएर आफ्नो धारणा दिइसक्नुभएको छ। त्यो चौकीमा कुनै व्यक्तिले उजुरी दिएको मात्रै हो, त्यो दर्ता भएको छैन। त्यो प्रायोजित केही पत्रकारहरूलाई लेख्न लगाइएको सूचना मात्रै हो, त्यसमा प्रश्न छ, निष्कर्ष छैन। तर, त्यसको आधारमा पटक-पटक कुनै व्यक्तिमाथि गरिएको प्रहारमाथि हाम्रो आपत्ति छ। ’