खाली खुट्टा आएका नेताको काठमाडौंमा घर र चार वटा पजेरो कहाँबाट आयो? : प्रदीप यादव
काठमाडौं : जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले २०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। प्रतिनिधिसभामा बुधबार बोल्दै सांसद यादवले खाली खुट्टा आएका नेताको घर र गाडीसहित आलिसान जीवनयापनको खोजबिन हुनुपर्ने बताए।
गणतन्त्र आएको १७ वर्षमा जनता निराश रहेको, निशुल्क शिक्षा, स्वास्थ्य नपाएको र गणतन्त्र नै अनुभूति गर्न नपाएको भन्दै यादवले नेताहरूको मोजमस्ती बढेको टिप्पणी गरे। ‘२०४६ पछिका काण्डको छानबिनको कुरा धेरै आयो। छानबिन गर्न जसपा पनि माग गर्दछ,’ उनले भने, ‘खाली खुट्टा आएका नेताको बहुदलपछि घरघरमा चार वटा पजेरो र चारवटा भवन काठमाडौंमा कहाँबाट आयो? छानबिन गर्नुपर्छ।’