रातुको उत्खनन् रोक्ने आदेशलाई निरन्तरता
ढल्केवर (धनुषा) : सर्वोच्च अदालतले महोत्तरी र धनुषा भएर बग्ने रातु नदीमा तत्काल उत्खनन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई जारी राखेको छ। रातु नदी उत्खनन विरुद्ध परेको रिटमा बुधवारको पेशीबाट सर्वोच्च अदालतले यसअघि भएको आदेशलाई नै निरन्तरता दिएको छ।
पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै नागरिक समाजका अगुवाहरुले फाल्गुन १७ गते संयुक्तरूपमा रिट दर्ता गरेका थिए।
उक्त रिटमाथी फागुन २० गते भएको बहसमा सर्वोच्चले २८ चैतसम्मका लागि उत्खनन रोक्न अल्पकालीन आदेश जारी भएको थियो। सोहीअनुसार बुधबार भएको बहसमा उत्खनन रोक्नै पर्ने कारण देखाउदै आदेशलाई निरन्तरता दिँदै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलाशले मिसिल झिकाउने आदेश गरेको हो। पूर्ण फैसलाको मिति भने वैशाख ६ गतेलाई निर्धारण गरिएको बताइएको छ।