मेयरले एकलौटी गरेको भन्दै बहुमत वडाध्यक्षको आपत्ति

मेयरले एकलौटी गरेको भन्दै बहुमत वडाध्यक्षको आपत्ति
सुन्नुहोस्

परासी : नवलपरासीको रामग्राम नगरपालिकाका मेयरको कार्यशैलीप्रति बहुमत वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरूले असन्तुष्टि जनाउँदै आपत्ति जनाएका छन्। नगर क्षेत्रमा सञ्चालन भएका विभिन्न कार्यक्रम/योजनालगायतका विषयमा असन्तुष्टि जनाउँदै उनीहरूले मेयर धनपद यादवले एकलौटी रुपमा नगरपालिका चलाउन खोजेको समेत आरोप लगाएका छन्।

विभिन्न असन्तुष्ट विषयलाई लिएर गत चैत १९ गते सात दिने अल्टिमेट दिएर वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक बोलाउन लिखित निवेदन नगरपालिकामा दर्ता गराएका थिए। नगरमा १८ वटा वडा छन्। जसमा १३ जना वडाअध्यक्षले मेयरको कार्यशैलीप्रति असन्तुष्ट जनाएका छन्। 

त्यस्तै २८ सदस्यीय कार्यपालिका रहेको नगरका वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यसहित १७ जनाले मेयर यादवको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै विभिन्न ११ वटा एजेण्डा राखेर बैठक बोलाउन निवेदन दिएका थिए। उक्त अवधिसम्म पनि बैठक बोलाउन वास्ता नगरेको भन्दै उनीहरूले बिहीबार नगरपालिकामै पत्रकार सम्मेलन गरेर मेयरबाट भएका विभिन्न कामको फेहरिस्त प्रस्तुत गरेका थिए।  

वडाध्यक्षहरूले असन्तुष्ट जनाएका काममा नगर क्षेत्रमा सञ्चालन हुने आकस्मिक योजना ( अकस्मात आइपर्ने काम) का नाममा प्राथमिकतामा नै नपरेका योजनालाई आफू निकट व्यक्ति र कार्यकर्तालाई दिने गरेको, निर्वाचित भएको दुई वर्ष बितिसक्दा पनि योजना अनुगमन समितिमा रहने २ जना कार्यपालिका सदस्यहरूलाई नराखी समितिलाई पूर्णता नदिएको आरोप छन्। 

त्यस्तै अभिभावकको लिखित असहमतिका बाबजुद नगर शिक्षा समितिको बैठक राखेर विद्यालय व्यवस्थापन समिति गठन गर्ने गरेको, शिक्षा समितिमा रहने कार्यपालिकाका २ जना सदस्यलाई जानकारी नदिई शिक्षासम्बन्धी निर्णय गर्ने गरेको आरोप छ। कार्यपालिका सदस्यहरूलाई जानकारी नदिई बैठक बोलाएर मेयर आफूखुशी निर्णय गर्ने गरेको भन्दै उनीहरूलाई फिर्ता बोलाउन पनि  एजेण्डामै उल्लेख छ। 

त्यस्तै मेयर यादवले शिक्षकहरूको आफूखुशी सरुवा गर्ने गरेको, सरुवा गरेका शिक्षक विद्यालयमा हाजिर नभएको बहानामा विद्यालयकै खाता रोक्का गरिदिंदा विद्यार्थीले पाउनुपर्ने दिवा खाजासमेत पाउन नसकेको एजेण्डामा जनाइएको छ। त्यसैगरी वडामा सञ्चालन हुने नगर योजनाको रकम दिँदा वडाको सिफारिस बिना भुक्तानी गर्दा आर्थिक चलखेलको आशंका उत्पन्न भएको लगायतका विषयमा छलफल गर्न बैठक बोलाइए पनि मेयर यादवले वास्ता नगरेको उनीहरूको भनाइ छ 

नगरका बेथितिको विषय बाहिर नआए आफूहरू पनि त्यसमा संलग्न भएको प्रमाणित हुने भएकाले पत्रकार सम्मेलन गरेर जानकारी दिनुपरेको वडा नम्बर १५ का वडाध्यक्ष (स्वतन्त्र) धनपत यादवले जानकारी दिए। ‘सकेसम्म नगरको कुरा बैठकमै राखेर समाधान गर्न खोजेका थियौं। तर, मेयर साहेबले वास्ता नगर्दा बाध्य भएर एजेण्डा सार्वजनिक गर्नुपरेको हो’, वडाध्यक्ष यादवले भने। 

वडा नम्बर १७ का वडाध्यक्ष कन्हैया मौर्यले जनप्रतिनिधिको सधैंको झगडाले नगरमा सञ्चालन हुनुपर्ने अधिकांश योजना अझै सम्झौता हुन नसकेको बताए। आरोपका विषयमा जानकारी लिन खोज्दा मेयर यादव पारिवारिक धार्मिक यात्राका क्रममा भारतमा रहेकाले सम्पर्क हुन सकेन।

एमालेबाट निर्वाचित मेयर यादवलाई कार्यपालिकाकै बहुमत सदस्यहरूले असन्तुष्टि जनाएपछि काम गर्न समस्या देखिएको छ। नगरमा कांग्रेस र जसपाबाट ६/६ जना, एमालेबाट २, राप्रपाबाट ३ र स्वतन्त्रबाट १ जना वडाध्यक्षमा निर्वाचित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.