आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रंगमा आगलागीमा परि तीन बालबालिका गम्भीर घाइते भएका छन्। गाउँ नजिकै रहेको सुँ सामुदायिक बनमा लागेको आगलागीमा परि तीन जना घाइते भएका हुन्।
घाइते हुनेमा कक्षा ४ मा पढ्ने ९ वर्षीया बिवस बुढा, १० वर्षीय सुलस बुढा र १३ वर्षीय सुमन्त बुढा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। बिदाको दिनमा बनमा गुच्छी च्याउ टिप्न गएको बेला आगोमा परेको स्थानीयले बताएका छन्।
अवस्था गम्भीर भएकाले हेलिकोप्टरबाट नेपालगन्ज लैजाने तयारी गरिए पनि मौसमका कारण आउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।
बालबालिकाको जिल्लामा उपचार सम्भव नभएपछि उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हेलिकोप्टरका लागि पत्र लेखिएको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए। घटनामा एकै घरका दुई बालबालिका परेको स्थानीयले बताएका छन्।