महिनैपिच्छे ब्याजदर घटेको वर्ष
काठमाडौं : महिनैपिच्छे ब्याजदर घटेको वर्ष बन्यो २०८० साल । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी भइरहँदा वाणिज्य बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर हरेक महिना क्रमशः सामान्य रूपमा भए पनि घट्दै गयो ।
वर्षको पहिलो महिना भारित औसत निक्षेपको ब्याजदर ८.२६ प्रतिशत थियो । यो ब्याजदर झरेर चैत्रमा आइपुग्दा औसत ६.७४ प्रतिशतमा सीमित रहेको छ । बचत खाता औसत ६.५० रहेकोमा १२ महिनाको अन्तरमा चैत्रमा ४.१० प्रतिशतमा झ¥यो । उक्त ब्याजदरमा उक्त अवधिसम्म साधारण बचत खातामा मात्रै १७ खर्ब २० अर्ब ५८ करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै मुद्दती निक्षेपको ब्याजदर औसत १०.८८ बाट झरेर ९.२२ प्रतिशतमा आइपुगेको छ । यस अवधिमा मुद्दतीमा मात्रै ३६ खर्ब रुपैयाँ संकलन भएको छ । यस्तै, २.६३ प्रतिशत रहेको कल निक्षेपको ब्याज वर्षको अन्तमा १.८२ प्रतिशत रह्यो । यस अवधिसम्म कुल खातामा मात्रै ४ खर्ब ३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ । समग्रमा हालसम्म वाणिज्य बैंकमा मात्रै कुल ५४ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप हुँदा प्रवाहमा रहेको कर्जा ४५ खर्ब ४ अर्ब छ ।
नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर, नीतिगत दरलाई साबिकको तुलनामा घटाएपछिका महिनामा ब्याजदर घटाउन दबाब परेको हो । फलस्वरूप वाणिज्य बैंकहरूले सार्वजनिक गरेको, पुस– माघ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर एकल अंकमा कायम भएको थियो । निक्षेपको ब्याजदर विस्तारै कम हुँदै जाँदा कर्जाको पनि सामान्य रूपमा घट्यो । २०८० वैशाखमा भारित औसत कर्जाको ब्याजदर १२.८४ प्रतिशत रहेकोमा चैत्रसम्ममा १०.७८ प्रतिशतमा सीमित भयो । यो औसतमा भएकाले कम देखियो तर बैंकअनुसार कर्जाको ब्याजदर घटेको महसुस खासै नभएको सर्वसाधारणको गुनासो छ । यद्यपि बैंकहरूले ब्याजदर घटाउने भन्दैमा धेरै घटाउन वा बढाउन मिल्दैन । यसका लागि राष्ट्र बैंकले तोकेको परिधिभित्र रहनुपर्ने हुन्छ । केन्द्रीय बैंकका अनुसार ब्याजदर घटाउँदा पनि अघिल्लो महिनाको औसतमा बढीमा १० प्रतिशत बिन्दुले मात्र परिवर्तन गर्न पाइन्छ ।
लामो समयदेखि बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त छ । बैंकहरूलाई कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत अधिकतम तोकिएको छ । तर पछिल्लो समय बैंकहरूको सीडी रेसियो ८०.६४ प्रतिशत रहेकाले कुसन ९.३६ प्रतिशत छ । बैंकहरूको पुँजी कोषको आकार ठूलो बनाउनु पर्दा पनि कतिपय बैंकले भने लगानी बढाउन नपाएको बताउँछन् । यद्यपि दिनप्रतिदिन निक्षेप बढेको छ तर कर्जाको माग कम भएको र त्रैमासको अन्तिम महिना बैंकहरूले खासै थप नयाँ कर्जा पनि दिन चाहँदैनन् । किनभने यस अवधिमा सकभर सावाँ तथा ब्याज, किस्ता उठाउनमा अर्थात रिकभरीमै लागेका छन् ।
यसैक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीका अनुसार बैंकमा तरलता अधिक छ । सुरुमा सबैले ब्याजदर महँगो भएकाले कर्जा गएन भने तर पछिल्ला महिनामा कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ तर पनि कर्जाको माग खासै नभएको उनको भनाइ छ । वास्तवमा पैसाको फ्लो तल्लो तहसम्म नपुगेकाले पनि बजार केही प्रभावित भएको उनको अनुमान छ । यसैले सरकारले विकास खर्चमा बढी जोड दिनसमेत उनले सुझाए ।
वैशाखमा वाणिज्य बैंकको ब्याजदर वर्षको अन्तिम महिना चैत्रको तुलनामा २०८१ वैशाख महिनाका लागि पनि निक्षेपको ब्याज सामान्य रूपमा घटाएको तथ्यांक बैंकहरूले सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार नयाँ ब्याजदरअनुसार वैशाख महिनाका लागि न्यूनतम निक्षेपमा औसत ५.६९ प्रतिशत र अधिकतम निक्षेपमा औसत ६.९६ प्रतिशतले ब्याज दिने भएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ ले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन् । जसमा कृषि विकास, एनएमबी र एभरेस्ट रहेका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नबिल र प्रभु बैंकले चैत्र महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर वैशाख १ गतदेखि वाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंकको देखिन्छ । उक्त बैंकले अधिकतम साढे ७.९७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यसको संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी, मुद्दती निक्षेपमा क्रमशः एभरेस्ट बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ ।
यसैगरी प्राइम कमर्सियलले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत, नबिलले ७.२५ र ६.२५ प्रतिशत, नेपाल इस्भेस्टमेन्ट मेगा बैंकले ७ र ६ प्रतिशत ब्याजदर कायम गरेको छ । प्रभु बैंकले व्यक्तिगततर्फ ७.०५ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसैगरी, ग्लोबल आईएमईले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ५.६६ र ४.५१ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।