रानीजमराको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा
टीकापुर : राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको कटाक्षेमा निर्मित विद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आयोजनाले जानकी गाउँपालिका—९ स्थित कटासेमा निर्माण गरेको विद्युत्गृहबाट उत्पादित ४.७१ मेगाबाट उत्पादन सुरु गरेको छ। पावर हाउसबाट माघ १७ गते उत्पादित विद्युत् लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।
पूर्वी कैलालीमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको आयोजनाले पाँच वर्षदेखि विद्युत् उत्पादनको काम सुरु गरेको थियो।
‘विद्युत् उत्पादन पुसमा परीक्षण गरेर माघ महिनाबाटै नियमित भइरहेको छ’ विद्युत् उत्पादनको जिम्मेवारीमा रहेका इन्जिनियर धामीले भने, ‘हालसम्म पनि विद्युत् खरिदबारे सम्झौता हुन नसकेपछि अन्योलमा रहेका छौं, यद्यपि विद्युत् भने नियमित रूपमा उत्पादन भएर लम्कीबाट राष्ट्रिय प्रसारण ग्रिडमा जडान गरेका छौं।’
कर्णाली नदीको चिसापानीबाट मुख्य इन्टेकमार्फत रानी जमरा कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट विद्युत् उत्पादन हुने हुँदा एकनासको विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। पश्चिम नेपालमा लमहीयता कटाक्षेस्थित एकमात्रै पावर हाउस हो। सिँचाइको नहरबाट विद्युत् उत्पादन हुने हुनाले एकनास नियमित विद्युत् उत्पादन हुने इन्जिनियर धामीले बताए। इन्जिनियर धामीले भने, ‘आयोजना र यो क्षेत्रवासीका लागि यो निकै गौरवको क्षण हो, हामीले वार्षिक ४२ गिगावाट विद्युत् ऊर्जा उत्पादन हुने अनुमान गरेका छौं।’
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर टोपबहादुर खत्रीले तराई क्षेत्रको सिँचाइ आयोजना भए पनि सञ्चालन मोडेल स्पष्ट नहुँदा खरिद सम्झौतामा ढिलाइ भइरहेको बताए।
‘तराई क्षेत्रमा पनि आठ मिटरबराबरको हेड (उचाइ) बाट बिजुली उत्पादन भइरहेको छ, यो निकै खुसीको कुरा हो’, इन्जिनियर खत्रीले भने, ‘सिँचाइ नहरमा पानी उपलब्ध निरन्तर हुँदा बिजुली पनि उत्पादन नियमित हुन्छ, तर यसको सञ्चालन कसले गर्ने ? कसरी गर्ने भन्ने विषय स्पष्ट नभएको हुँदा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता हुन सकेको छैन।’
कैलालीको पूर्वीक्षेत्रमा रानी, जमरा र कुलरिया कुला प्रणालीबाट १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। लम्की शाखा नहर निर्माण सकिएसँगै थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य आयोजनाको छ। आयोजनाका शाखा तथा उपशाखाहरूमा कुलो प्रणाली विस्तारका लागि समेत काम भइरहेका छन्। झन्डै १ सय ५० वर्षअघिदेखि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै बर्सेनि रानीजमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो।
आयोजनाले पहिलो चरण २०६७/०६८ देखि २०७४/०७५ मा विश्व बैंकको १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माणकार्य गरेको छ भने दोस्रो चरण २०७४/०७५ देखि २०८०/०८१ मा थप १५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ छुट्ट्याएको छ।