गोपाल योञ्जनको पितृपूजा
संगीतको कुमारी हिमाल
संगतिको आमादब्लम
आज गोपाल योञ्जनको पितृपूजा हो
गोपाल योञ्जनका भावकहरूले
आफ्नै रगतभित्र छहरा छामेनन्
आफ्नै छातीभित्र पहरा छामेनन्
भत्किरहेको छ राष्ट्रिय गीतको चौतारी
आफ्नै चिहान ढुंगाामाथि बसेर
हिमाली भिरजस्तो टोपीले
अधोगतिको आँसु पुछ्दै
झम्केसाँझको बताससँग
बिलौना गरिरहेको छ दुःखी गिदांगे
अपूर्व अनाथ भएको छ
गोपाल योञ्जनको उत्तरदान
ए संगीतका कुलदेवता !
तिमी पुनर्जागृत हुनुपर्ने यो बेला
एउटा पनि तिम्रो सालिक नभएको यो सहरमा
तिम्रो छायाँ छविलाई दण्डवत गर्छु
माछापुच्छ्रे हिमालजस्तो टोपीबाट
स्वाभिमानको सरगम बजे पनि
किन प्रतिध्वनित गर्दैनन् कालीभिरहरूले
एक प्रश्निल रूपक भएर
नेपाली ढुकढुकीमा पुग्दैछन् गोपाल योञ्जन
प्रत्येक नेपाली आङमा
तिम्रो विराट हंस सवार होस्
ए मेरा आराध्य टाकुरा !
तिमीले रोपेको राष्ट्रिय गीतको बियाँ
झाल भएर भूतलभरि फैलियोस्
आज गोपाल योञ्जनको पितृपूजा हो।