समृद्धिको मार्ग कर्णाली राजमार्ग
वीरेन्द्रनगर : विकास र समृद्धिको हिसाबले कर्णाली मुलुकका सबै प्रदेशहरूको तुलनामा निकै पछाडि छ। रोग, भोग, विकटता र अशिक्षाले चित्रण गर्न बाध्य पारिएको कर्णालीको रूप फेरिएको छ। कर्णालीमा सडक, विद्युत् र सञ्चार सेवाको विस्तारसँगै असुविधा र विकटताबाट सुगमता र सुविधायुक्त बन्दै गएको छ।
पिछडिएको, राज्यले उपेक्षा गरेको, मानव विकास सूचकांकमा कमजोर कर्णाली विकासको बाटोमा लम्किँदैछ। जसको ज्वलन्त उदाहरण हो कर्णालीको लाइफ लाइन कर्णाली राजमार्ग। कर्णाली राजमार्ग गाडी हिँड्ने सडकमात्र होइन, समृद्धिको मार्ग पनि हो। यसले विकासको ढोका खोल्ने काम त गर्यो नै। अहिले विकास ओसार्ने राजमार्गका रूपमा यो परिणत भएको छ। नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्डका रूपमा हेरिन्छ। सुर्खेत बाङ्गेसिमलदेखि दैलेख, कालीकोट हुँदै एकातर्फ जुम्ला र नेपालकै भू–स्वर्ग मुगु राराताल अर्कोतर्फ कालीकोट, बाजुरा हुँदै नेपालकै सडक सञ्जालसँग जोडिनबाट वञ्चित रहेको हुम्ला जिल्लासम्म जोड्ने कर्णाली करिडोरले कर्णालीमा विकासको मूल फुटाएका छन्। गाउँलाई सहर बनाएको छ।
कालीकोटको पचालझरना गाउँपालिका—६ का ज्येष्ठ नागरिक नरिमान बुढाले भने, ‘पहिले हामी राजापुर ३३ दिन लगाएर नुन लिन जाँदा थियौं। अहिले त बिहान घरबाट हिँडेर बेलुका राजापुर, अर्को दिन फेरि घर पुग्न सकिने अवस्था छ। कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि हाम्रो त थाप्लोको भारी चौतारीमा बिसाए जस्तै भएको छ।’ पञ्चायतकालदेखि निर्माण थालिएको कर्णाली राजमार्ग तत्कालीन राजाको हुकुमबमोजिम नेपाली सेनामार्फत २०६३ चैत ३० गते निर्माण सम्पन्न भई पहिलो पटक सुर्खेतदेखि जुम्लामा गाडी गुड्यो। यसले अपर कर्णालीको विकासको ढोका नै खोलिदियो। पहिलेका गाउँहरू अहिले कर्णाली राजमार्ग र कर्णाली राजमार्गसँगै जोडिएको कर्णाली करिडोरका कारण सहर बन्दै गएका छन्।
- अहिले विकास ओसार्ने राजमार्गका रूपमा यो परिणत भएको छ ।
- नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली प्रदेशको विकास र समृद्घिको मेरुदण्डका रूपमा हेरिन्छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्ला १ सय ३२ किलोमिटर र जुम्लादेखि मुगु ९६ किलोमिटरमा नियमित गाडी गुडिरहेका छन्। कर्णाली करिडोरको पनि कालीकोटको खुलालुदेखि बाजुरा र हुम्लाको सिमाना कवाडीहुँदै सलीसल्लासम्मको १ सय ८४ किलोमिटरमा सडक निर्माणकार्य सम्पन्न भइसकेको छ। यसअन्र्तगत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ र हुम्ला खण्डमा १ सय १ किलोमिटर सडक पर्दछ। बाँकी ६ किलोमिटर सडक निर्माणको अन्तिम चरणमा छ।
सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १ सय २६ किलोमिटर कर्णाली राजमार्ग खण्डमा पक्की सडक निर्माण गरिएको छ। कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको करिब १ सय २२ किलोमिटर सडकमा यातायातसमेत सञ्चालन हुँदै आएको छ।
कर्णालीको स्वास्थ्य सेवामा बढ्यो पहुँच
हुम्लाबाट बाजुराको कोल्टी विमानस्थल हुँदै हवाईजहाजमा नेपालगन्ज वा सुर्खेत पुग्न दुईदेखि तीन दिन लाग्ने गथ्र्यो। त्यो पनि बाजुराको कोल्टीमा टिकट पाइएमा मात्र। सदरमुकाम सिमकोटसम्म बिरामी ल्याउन चार दिन पैदल हिँड्नुपर्ने अवस्था थियो। त्यसैले कतिपय बिरामीले उपचारको अभावमा मृत्युवरणसमेत गरेका घटना प्रशस्त छन्। त्यो पनि स्टेचर वा मानिसले बोकेर लैजानुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था रहेन। सडक सञ्जाल जोडिएसँगै बिरामीलाई गाडीमै लैजाँदा पनि एक दिनमै सुर्खेत वा नेपालगन्ज पुर्याउन सकिने भएको छ।
दैलेखका समाजसेवी एवं सामाजिक अभियन्ता दीपा बोहोराले भनिन्, ‘पहिलेका मानिस त काल नआएर बाँचेका मानिस हौं भनेको सुन्थ्यौं। तर अहिले कर्णाली राजमार्गले अकालमै ज्यान गुमाउनेहरूलाई बचाउँदै आएको छ। तर स्तरोन्नतिको काममा सम्बन्धित निकायको लापरबाही छ। यसलाई दुई लेनको बनाएर बिग्रिएको ठाउँमा कालोपत्रे मात्र गर्ने हो भने हाम्रो लागि निकै सहजता हुने थियो। यसप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ।
सडकले हुम्लाको खाद्यान्न समस्यासमेत समाधान उन्मुख छ । कतिपय बेला जनताले खाद्यान्न नपाउने परिस्थिति थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदानमा बिक्री वितरण गर्ने खाद्यान्न हुम्लाका ग्रामीण बासिन्दाले पाउँदैनथिए। दक्षिणी हुम्लामा अहिले जनताले आफूले चाहेका खाद्यान्न घरघरमै खरिद गरेर उपभोग गर्ने अवस्था छ। यसलाई एक प्रकारले खाद्यान्न समस्या समाधान भएको मान्न सकिन्छ। हुम्लाका सामाजिक अभियन्ता राजन रावतले भने, ‘कर्णालीको विकासका लागि कर्णाली राजमार्ग मुख्य आधार हो। यो राजमार्ग नभएको भए अहिले पनि हामीले विकासको स्वाद चाख्न पाउने अवस्थामा थिएनौं।’
राजमार्गसँगै आयआर्जन बढ्यो
कर्णाली राजमार्गमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिस तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जाने युवाहरू अहिले तरकारी खेती गर्न थालेका छन्। गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएको स्थानीय नरप्रसाद बरालले बताए। ‘विगतमा बारीमा तरकारी लगायो भने कसरी कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो’, उनले भने, ‘बारीछेउमा नै बजार बनेको छ। कता बेचौं भन्ने समस्या छैन।’ कर्णाली राजमार्गले हाम्रो आयआर्जनको आधार तयार बनाइदियो।
कर्णालीमा उत्पादन भएका स्याउ, सिमी र अन्य स्थानीय उत्पादनहरूले पनि बजार सहज पाएका छन्। स्याउ किसान बेगमबहादुर शाहीले भने, ‘पहिले स्याउ सिजनमा पशुले खान्थे। कर्णाली राजमार्ग बनेपछि अहिले स्याउ नपाक्दै खरिद गर्ने व्यापारीहरू बगैंचामै पुग्छन्। कालीकोट र जुम्लाको स्याउ तराईका जिल्लाहरूमा निर्यात हुँदै आएको छ। यहाँ उत्पादित वस्तुहरू हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो मानिस व्यावसायिक कृषि पेसामा आकर्षित भएका छन्।