अरूभन्दा फरक गण्डकी विश्वविद्यालय
पोखरा : मुलुकका अरू विश्वविद्यालयभन्दा गण्डकी विश्वविद्यालय फरक छ। यसको स्थापना प्रदेश सरकारले गर्नुमात्रै यसको फरकपन होइन। सञ्चालन प्रक्रिया नै अरू सबै विश्वविद्यालयभन्दा फरक छ।
गण्डकी विश्वविद्यालयमा उपकुलपति प्राज्ञिक व्यक्तित्व र कुलपति सरकार प्रमुख हुने व्यवस्था अरूमा जस्तो छैन। यसको कुलपति नै प्राज्ञिक व्यक्तित्वलाई बनाइएको छ। त्रिभुवनलगायत विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री भएजस्तो गण्डकीमा मुख्यमन्त्री कुलपति हुने व्यवस्था छैन।
प्राज्ञिक व्यक्तित्वहरूको ट्रस्टी छ। त्यसैले प्राज्ञिक व्यक्तिलाई नै कुलपति छनोट गर्छ। अहिले प्रा.डा. गणेशमान गुरुङ कुलपति छन्। प्रा.डा. नवराज देवकोटा उपकुलपति। उनलाई पनि ट्रस्टीले नै चयन गरेर जिम्मेवारी दिएको हो।
२०७६ साल फागुन ४ गते स्थापना भएको गण्डकी विश्वविद्यालयले अहिले फार्मेसी, बीबीए, सूचना प्रविधि, कानुन र खेलकुद व्यवस्थापन पढाइरहेको छ। ४ सय ७६ जना विद्यार्थी विश्वविद्यालयमा छन्। ती विद्यार्थी गण्डकी प्रदेशका ११ जिल्लाका मात्रै होइनन्। रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाका अनुसार ५२ जिल्लाबाट गण्डकी विश्वविद्यालयमा पढ्न विद्यार्थी आएका छन्।
वार्षिक ११ करोड रुपैयाँ सञ्चालन खर्च रहेको विश्वविद्यालयले ७ करोड भने आफैं आम्दानी गरिरहेको छ। चल्तीकै विषय बीबीए, फार्मेसी, कानुनलगायत पढाउँदा विश्वविद्यालय सञ्चालनमा सहयोग पुगेको तिमिल्सिना बताउँछन्। अब भने कृत्रिम बौद्धिकता (एआई), सुरुङ इन्जिनियरिङलगायत विषयको पढाइ सञ्चालन गर्ने योजना पनि विश्वविद्यालयले बनाएको छ। मुलुकमा आवश्यक तर अन्त कतै पढाइ नभएका सहकारी, पालिकाहरूको योजना निर्माणलगायत विषय पनि पढाउन सकिन्छ कि भनेर विश्वविद्यालयले अध्ययन गरिरहेको छ।
विश्वविद्यालय विशुद्ध पढाइ गर्ने र ज्ञान उत्पादन गर्ने थलोमात्रै नभई अनुसन्धान केन्द्र पनि हुनुपर्छ। सोही मान्यता अनुरूप गण्डकी विश्वविद्यालयले महावीर पुनसँगको सहकार्यमा आविष्कार केन्द्र चलाइरहेको छ। स्थानीय कोदोको रक्सीमाथि विश्वविद्यालयले एक चरणको अनुसन्धान पूरा गरेको छ। विश्वविद्यालयको अनुसन्धानबाट कोदोको रक्सी बनाउन आवश्यक मर्चाको मापदण्ड तयार भइसकेको छ। अब उक्त मर्चाबाट कसरी र कुन विधिबाट रक्सी बनाउँदा स्वस्थकर हुन्छ, विषरहित हुन्छ भन्ने अनुसन्धानमा विश्वविद्यालय छ।
स्थापनाको छोटो अवधिमै पोखरा महानगरपालिका— ३२ मा भवनहरू निर्माण गरिसकेको विश्वविद्यालयको पुँजीगत खर्च ९० प्रतिशत छ। यसको बेरुजु शून्य छ।