आफैंविरुद्ध एक गुरिल्ला
म त्यो देशमा जन्में
उज्यालोले पहिलोपल्ट ‘नमस्कार’ गर्छ।
जहाँ मैले
पालुवामै– दुःखका अनगिन्ती व्याकरण पढें
कोपिलामै– पीडाका अनेकौं प्रश्नको सामना गरें
फक्रँदै गर्दा– चोटका विविध परीक्षाबाट गुज्रिएँ।
खाने लाउने उमेरमा
मैले बोकें
जिन्दगीको एउटा अजंगको बोझ।
सहें अभावको राजमार्ग– मेरी आमाले जस्तै
हार नमानी गरें परिश्रम– मेरा पिताले जस्तै।
हो, मैले प्रेम गरें
– अतिरिक्त
– असामाजिक
– असंवैधानिक
हो, मलाई प्यार भयो
पारम्परिक मर्यादाविपरीत
आफ्नै सुगन्ध, पहिचानसित
नैतिक आचरणविपरित
आफ्नै संस्कृति, संस्कारसित
मैले
दर्ज गरें अभियोग पत्र आफैंविरुद्ध
आफैंलाई नियुक्त गरें
मेरो जिन्दगीको न्यायाधीश
– आफैं बनें अभियुक्त
– आफैं भएँ अधिवक्ता
– आफैं गरें इजलास
– आफैं जुटाएँ प्रेम गर्ने अपराधको प्रमाण
– आफैं गरें तर्कको खण्डन
र, सुनाएँ जिन्दगीको पक्षमा फैसला।
जिन्दगीको परीक्षा उत्तीर्ण गर्न
तप, योग र बोधले तयार रहँदा
विधाता हो कि कसले हो फेरिदियो प्रश्नपत्र !
प्रेमको गुरिल्ला युद्ध लड्दालड्दै
हा¥यो– एक भूमिगत प्रेम !
ज्यान,
देखिरहेछु बिस्तारै नजिक आइरहेको अन्धकार....
तिम्रो न्यानो अँगालो र स्पर्शदेखि
टाढाको एक्लो क्षितिजबाट
म, उज्यालो उदाउने देशको मान्छेनजिक
अर्थात्,
मेरो जिन्दगीको पहिलो र, अन्तिम सूर्यास्त !