घुम्नैपर्ने सिन्धुली
सिन्धुली : नयाँ वर्ष २०८१ को अवसरमा प्राय : मानिस नयाँनयाँ ठाउँमा पुग्ने र त्यसको अध्ययन अवलोकन गर्ने सोचमा हुन्छन्। यस्तै सोचमा कोही सिन्धुली जिल्लालाई केन्द्र बनाएर घुम्न आउँदैछन् भने उनीहरूका लागि यी स्थानहरू आकर्षक गन्तव्य बन्न सक्नेछन्।
राजधानी काठमाडौंबाट दुई घण्टाका समयमा सिन्धुली प्रवेश गर्न सकिन्छ। पूर्वी नेपाल र तराईका जिल्लाहरूबाट पनि दुई घण्टाकै बीचमा सिन्धुली जिल्लामा आउन सकिन्छ। बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग, हेटौंडा–गाईघाट–चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै छोटो दूरीमा रमाइलो यात्रा गर्दै सिन्धुली आइपुग्न सकिन्छ।
सिन्धुली जिल्ला घुम्न आउनेहरूले यहाँको आकर्षक धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सक्नेछन् भने सुविधा सम्पन्न होटल तथा रिसोर्टहरूमा आरामदायी बास बस्न सक्नेछन्।
सिन्धुलीगढी : जिल्लाको प्रमुख गन्तव्यको रूपमा रहेको सिन्धुलीगढी हो। सिन्धुली जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा रहेको सिन्धुलीगढी नेपाली वीर गोर्खालीहरूले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरूसँग भएको युद्धमा विजय प्राप्त गरेको ऐतिहासिक स्थल हो। यो सिन्धुली जिल्लाको कमलामाई नगरपालिका— ३ मा अवस्थित छ।
सिन्धुलीगढी किल्ला नेपाली वीर गोर्खालीहरूको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी ब्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्वभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो।
यहाँ नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ भने भग्नावशेष रानी दरबारको समेत हालै निर्माण सम्पन्न गरिएको छ। यस स्थलमा हरेक कात्तिक २४ गते भव्य रूपमा विजयोत्सव मनाउने गरिएको छ। यहाँ संस्थागत तथा पारिवारिक पिकनिकसहित गौरीशंकर हिमाल, महाभारत क्षेत्रको हरियाली वन जंगलहरू देख्न सकिन्छ भने नजिकै रहेको जुनार बगैंचाका अवलोकन गर्न सकिन्छ।
सुनकोशी जलयात्रा : राजधानी काठमाडौंबाट बीपी राजमार्ग हुँदै आउँदा सुनकोशी गाउँपालिकासँगै सिन्धुली जिल्ला प्रवेश गर्न सकिन्छ। जिल्लामा भित्रिने पर्यटकहरूले सुनकोशी गाउँपालिकाभित्र पर्ने बीपी राजमार्गको मनमोहक दृश्य, सुनकोशी नदीमा साहसिक जलयात्रासँगै सुविधासम्पन्न होटलहरूको सुविधा पाउने सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा (दाहाल) को भनाइ छ। नयाँ वर्षमा सिन्धुली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूले सुनकोशी गाउँपालिकामा नेपालथोकदेखि मूलकोटसम्म सुनकोशी नदीमा साहसिक र आनन्ददायी जलयात्राका लागि राफ्टिङ गर्न सक्ने व्यवसायी मनोज श्रेष्ठको भनाइ छ।
सिन्धुली जल, कृषि, वन, जडीबुटीजस्ता पर्यापर्यटनका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा मौलिक कला पहिचानसहितको पर्यटकीय सम्भावना बोकेको जिल्ला हो।
हरिहरपुरगढी दरबार : सिन्धुली जिल्लाको सुदूरपश्चिम सिमानामा रहेको हरिहरपुरगढी गाउँपालिका—१ मा रहेको हरिहरपुरगढीको महत्त्व उत्तिकै छ। यस दरबारको ऐतिहासिक महत्त्व नेपाल एकीकरणसँग नै जोडिएको छ। पृथ्वीनारायण शाहले एकीकरणका बेला सिन्धुलीगढीसँगै हरिहरपुरगढीमा पनि तीन सय सेना तैनाथ गरेका थिए।
कलाघर : कमलामाई नगरपालिका— ३ चपौलीमा रहेको कलाघर नेपाली लोककला तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणसहितको राष्ट्रिय संग्रहालय हो। यहाँ लोपोन्मुख जाति, धर्म, पेसा तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरिएको छ। राज्यका तर्फबाट समेत लगानी गरी स्थापित हुँदै आएको यस संग्रहालय अवलोकनका लागि दैनिक पर्यटकहरू आउने गरेका छन्। यस स्थलबाट विभिन्न हिमशृंखलाहरू, सुनकोशी तथा महाभारत क्षेत्रका सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ।
भद्रकाली मन्दिर : कमलामाई नगरपालिका— २ मा रहेको भद्रकाली मन्दिरलाई शक्तिशाली शक्तिपीठका रूपमा लिइन्छ। धार्मिक पर्यटकका हिसाबले यस मन्दिरमा पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ। यस मन्दिरलाई गोरखामा रहेको भगवती मनकामनाकी बहिनीको रूपमा पनि लिइन्छ। यो मन्दिर पृथ्वीनारायण शाह स्वयंले स्थापना गरेको शिलालेखमा उल्लेख छ। मन्दिरमा तत्कालीन समयमा सिन्धुलीगढी र दोलखामा तैनाथ नेपाली सेनाका टुकडीले विजयादशमीलगायतका पर्वहरूमा सलामीसमेत दिने गरेको थियो।
काली–कमलामाई मन्दिर : सिन्धुली जिल्लाको सदरमुकाम माढीमा रहेको काली–कमलामाई मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हुन्। कालिकामाई र कमलामाई दिदिबहिनी भएको किंवदन्ती छ। कमलामाईको महिमा ज्यादै उच्च छ। कमलामाई मन्दिरमा विस १८८६ सालमा तत्कालीन काजी भीमसेन थापाले चाँदीको मुकुट चढाएको उल्लेख छ।
सिद्धबाबा मन्दिर : कमलामाई नगरपालिका—४ मा रहेको सिद्धबाबा मन्दिर समुन्द्री सतहबाट ८५० मिटरको उचाइमा रहेको च्याउकोट डाँडामा छ। यस मन्दिरमा मकवानपुरका राजा हेमकर्ण सेनले विस १८१२ मा चढाएको घण्टी अहिले पनि छ। यसले पनि यस मन्दिरको ऐतिहासिक महत्त्व रहेको बुझिन्छ। यस मन्दिरमा भगवान् शिवको पूजाआराधना हुने गरेको छ। यहाँबाट सिन्धुलीमाढी तथा तराईका सुन्दर दृश्यहरूसमेत अवलोकन गर्न सकिन्छ।
पञ्चकन्या पोखरी : मरिण गाउँपालिका— ५ मा रहेको पञ्चकन्या पोखरी मरिण गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको छ। सिन्धुली सदरमुकामबाट २२ किमिको दूरीमा रहेको यस पोखरी मरिण खोलाको चुरे खण्डतर्फको भागमा अवस्थित छ। यस पोखरीमा रुखका पातहरू पानीमा खस्नेबित्तिकै चराहरूले टिपेर लैजाने, पोखरीमा पसेको धार्मिक मानिस भोलिपल्टमात्रै सकुशल निस्कने, तथा परापूर्वकालमा रोपाइँ गर्न आएका पाँचवटी कन्याहरू सोही पोखरीमा अलाप भई गएका जस्ता कथनहरू छन्। पोखरीलाई मरिण गाउँपालिकाले संरक्षण र पुर्निनिर्माण थालेको छ।
कुशेश्वर महादेव : कुशेश्वर महादेव सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका—१ मा पर्दछ। यो बीपी राजमार्गको सिन्धुली–बनेपा खण्डअन्तर्गत पर्छ। यहाँ जान यातायातको सहजता छ। रोशी र सुनकोशी नदीको संगमस्थलमा अवस्थित यस महादेव मन्दिरलाई आधिलिंग महादेवसमेत भन्ने गरिएको छ। पौराणिक महत्त्व रहेको यस मन्दिरमा महाशिवरात्रिका दिन ठूलो मेला लाग्ने गर्दछ।
कमला ताल : कमलामाई नगरपालिका ५ र ८ मा रहेको पवित्र धार्मिकस्थल कमलामाई मन्दिर नजिकै रहेको कमला ताल अहिले बोटिङका पारखीहरूको रोजाइमा पर्न थालेको छ। यहाँ पुग्नेहरूमा कमला मन्दिरको दर्शन गर्नुका साथै थोरै शुल्क तिरेर मोटरबोट गर्न सक्नेछन्।