कांग्रेससहित विपक्षी सांसदले गरे संसद बैठक अवरोध
काठमाडौं : प्रमुख प्रतिपक्ष दल कांग्रेससहित विपक्षी सांसदले संसद बैठक अवरोध गरेका छन्। सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ गरेसँगै कांग्रेस, राप्रपा र लोसपाका सांसदले उठेर संसद बैठक अवरोध गरेका हुन्।
सभामुख घिमिरेले आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेका निर्णय र सहमति पालना गर्न आग्रह गरेका थिए। तर, सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन्।
घिमिरेले भने,‘अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका सहमतिको बारेमा ध्यानाकर्षण गर्न चाहन्छु। कार्यव्यवस्था परामर्श समितिको बैठकमा हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ ? जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौं। त्यसका लागि आसनग्रहण गर्न आग्रह गर्दछु।’
सांसदले विरोध कायमै राखेपछि सभामुखले घिमिरेले १ देखि ७ नम्बरसम्मका कार्यसूची हटाएर बैठक सञ्चालन गरेका हुन्।