राजा सहलेसको गौरव गानमा झुम्यो मधेस
काठमाडौं : नयाँ वर्ष २०८१ को पहिलो दिन सांस्कृतिक तथा धार्मिक नगरी महोत्तरीको मटिहानी नगरपालिका १ स्थित सिरसियामा राजा सहलेस मन्दिरको उद्घाटन भयो। राजा सहलेस दलित जातिमा पर्ने पासमानका कुल देवता हुन्। मटिहानीका मेयर हरिप्रसाद मण्डल भन्छन्, ‘१४औं शताब्दीका लोक नायक थिए, राजा सलहेस। जो पराक्रमी, बधशाली, विद्वान् थिए।’ उनको विरताको गाथा तथा इतिहास बचाउन मन्दिर बनाइएको सुनाउँछन्।
शनिबार मधेसमा राजा सहलेसको गौरव गाथाको चर्चामा मेला लाग्यो। वैशाख १ गते नयाँ वर्षको दिन सिरहाको लहानस्थित सलहेस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल फक्रिन्छ। जुन फूलको सम्बन्ध राजा सलहेसको अपुरो प्रेम कहानीसँग जोडिएको छ। शुक्रबार मध्यरातदेखि नै फूल हेर्न ठूलो मेला लागेको थियो। जलवायु परिवर्तनका कारण पहिला जस्तो यसपालि भने त्यो फूल पहिला जस्ता नफक्रिएको डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजित कुमार झा बताउँछन्।
‘जलवायु परिवर्तनको प्रभावले जंगलभित्रको सिमसार क्षेत्र घट्दै गयो। अनि बढ्दो शहरीकरणले चराचुरुंगीहरू लोप भएकाले परागसेचनमा ढिलाइ भयो,’ फूल नफुल्नुको कारणबारे उनी भन्छन्, ‘जंगल वरिपरिको खेती प्रणाली परिवर्तन भयो। जताततैको आगलागीले वातावरण प्रदूषित भयो। त्यसको नकारात्मक प्रभाव वनस्पतिको चक्र प्रणालीमा परेको छ।’
राजा सलहेस र मालिनी कुसमाको अधुरो प्रेमको सम्झनामा त्यहाँ फूल फूल्ने गरेको मिथिला सांस्कृतिकविद् तथा प्राज्ञ धीरेन्द्र प्रेमर्षी बताउँछन्। उनी भन्छन्, ‘२१औं शताब्दीमा पनि मिथिला क्षेत्रमा राजा सहलेसको महिमा गान हुन्छ।’
को हुन् राजा सहलेस ?
पकडिया गढका राजा कुहलेश्वरको दरबारमा सहलेस समान्य चौकीदार थिए। कार्यशैली, सुझबुझले उनलाई सबैले मानसमान दिन्थ्यो। पछि राजाले उनलाई राजा पदवी दियो। सहलेशको नाच र किम्वन्तीमा पनि दुःख पर्दा गरिबहरूको गुहार माग्न जाने गरेको कुरा वर्ण छ।
लोक नायकले मात्रै गुहार सुन्ने विशेषत हुन्छ। यो विशेषताले सलहेस लोकप्रिय भए। अहिलेको समयमा पसिन राजनीतिक परिपार्टीमा कतै कहचरी लगाउन, जनतासँगको प्रत्यक्ष कुराकानी हुन्छ। पहिला उनी जनतामा गएर जनताको कुरो सुन्थे। समस्याको समाधान गर्थे।
राजा कुहलेश्वरका चार छोरी थिए– रेशमा, कुसमा, दोना र हीरा। उनीहरू तन्त्र विद्यामा पारंगत थिए। उनीहरू मालिन सम्प्रदायका थिइन्। राजका छोरीहरू सहलेसप्रति आकर्षित थिइन्। कुसमा अलि विशेष थिइन्। सहलेसको विवाह भइसकेको थियो। उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन। कुसमा उनको प्रतीक्षामा सहलेस फूलबारीमा हारमको रूखमुनि बसेकी थिइन्। उनले प्रत्येक नयाँ वर्षको दिनमा त्यहाँ प्रतीक्षा गर्थिन्। त्यसैको प्रतिकको रूपमा त्यहाँ सुनाखरी फूल फुल्ने गरेको जनविश्वास छ।
राजा सलहेसको गाथासँग जोडिएको सलहेस फुलबारी, महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रूपमा मेला लाग्ने गर्छन्। राजा सहलेसको जंगली जनवारप्रति असाध्यै प्रेम थियो। जस्तोसुकै जनावर उनको बसमा हुन्थ्यो। युद्ध कौशलमा उनी बेजोड थिए। केवला किराँतलाई उनले सेनापति राखेका थिए। फरक समुदाय र क्षेत्रका मानिसहरूसँग उनको सामाजिक सम्बन्ध बलियो थियो। त्यसको आधारमा उनी दुशमनलाई युद्धमा पराजित गर्थे।
सन्देशै सन्देशले भरिएको जीवन कथाले भरिएको थियो। संस्कृतिविद् प्रेमर्षि भन्छन्, ‘गज्जब कुरो त राजा सलहेस दलित जातिमा पर्ने पासमानले जाति देवता हुन्। तर, सबैले जातिले उनको पूजा गर्छन्।’