चैती छठ : अस्ताउँदो सूर्य र छठी मातालाई व्रतालुले दिए अर्घ
वीरगन्ज : लोक आस्था र सूर्य उपासनाको पर्व चैती छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिएका छन्।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको दोस्रो दिन आइतबार अर्थात षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ। जसलाई सँझिया घाटे पनि भनिन्छ। छठको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिएका हुन्।
वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि, नगवा, छपकैया लगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरूमा आइतबार साँझ सूर्य भगवान र छठीमातालाई अर्घ दिन व्रतालुहरू पुगेका थिए।
सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ।
छठ पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन सोमबार बिहान व्रतालुहरूले फेरि छठघाटमा पुगेर उदाउदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत् रुपमा समापन हुन्छ।
यसअघि शनिबारदेखि निर्जला ब्रत लिएका व्रतालुहरूले शनिबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए।
चैती छठ पर्व गत शुक्रबारदेखि विधीवत रुपमा सुरु भएको हो। चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ।चैती छठको पहिलो दिन शुक्रबार व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरी वर्षमा दुइ पटक मनाउने गरिन्छ।छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ।
वर्षमा दुइ पटक (कात्तिक र चैत) गरी मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैती छठ, पछिल्लो समयमा मनाउनेहरूको संख्या बढ्दै गएको छ।