खेलकुद मैदान निर्माणमा भ्रष्टाचार
सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा दायर
काठमाडौं : ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको आरोपमा सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्य,सब- इन्जिनियर मोतीप्रसाद बुढा र डीपीआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही,सचिव अपार गुरूङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेले ठूलीभेरी नगरपालिका-३ दुनै,डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा २०७६/०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाइ बनाइ गैरकानुनी लाभ र हानी पुर्याउने बदनियतले भुक्तानी दिने/ लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए।
उनीहरूविरुद्ध ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो र जरिवाना माग दावी गरिएको छ।