बाहुबली हर्बल उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आयो
बाँके : बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले आगो करिब नियन्त्रणमा आइसकेको अन्नपूर्णलाई जानकारी दिए।
उनका अनुसार आगो निभाउन ११ वटा दमकलको प्रयोग गरिएको थियो। आगलागीबाट क्षतिको एकीन विवरण आइनसकेको डीएसपी डाँगीले बताए। विद्युत सर्ट भइ आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
आगो निभाउन स्थानीय बासिन्दा र ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए। हर्बल प्रालिको परिसरभित्र जडिबुटी राखिएको ठाउँमा बिहान ७ बजेतिर भीषण आगलागी भएको थियो।
आगलागी नियन्त्रणमा लिन भारतबाट पनि दमकल ल्याइएको थियो।