कालिका कप भलिबलको उपाधिको आर्मीलाई
बागलुङ : चैताष्टमी मेलाका अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
बिहीबार भएको फाइनल खेलमा आर्मीले बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो। चार भारतीय खेलाडीसहित मैदान प्रवेश गरेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
आर्मीले पहिलो सेट २५-१८ ले जित निकालेको थियो। दोस्रो सेटमा सुरुवातदेखि अग्रता लिएको आर्मीले सहज रुपमा २५-१२ ले जित्यो। तेस्रो सेटमा केही प्रतिस्पर्धा बनेपछि अन्तिम समयमा २५-२२ ले जित निकाल्दै आर्मीले उपाधि रक्षा गर्यो।
यस्तै बिहीबार नै भएको तेस्रो स्थानको खेलमा कस्तूरी युवा क्लबले कालिका युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। कस्तूरी युवा क्लबले २५-२१, २५-२२ र २५-१२ ले आफ्नो पक्षमा पार्यो। उपाधि जितेको आर्मीले नगद ३ लाख रुपैयाँ, उपविजेता बागलुङ घुम्टे रेष्टुरेण्टले १ लाख ५० हजार रुपैयाँ र तृतीय भएको कस्तूरी युवा क्लबले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
यस्तै विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको बर्चस्व रह्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका शरण सामरी छेत्री बनेका छन्। यस्तै आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरिबहादुर भण्डारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट प्रशिक्षक बनेका छन्। यस्तै उत्कृष्ट सर्भर बागलुङ घुम्टेका राजनेश सिंह र उत्कृष्ट डिफेन्डर कस्तूरी युवा क्लबका निरज थापा घोषित भए।