जातको जरो
अघिल्लो पुस्ताले मात्र होइन, अहिलेका पुस्ताले पनि विभेद गर्छन् भन्ने स्पष्ट देखिन्छ।
नयाँ पुस्तामा उन्नत विचार र चेतना भइसकेको छ भनेर हामी जानीजानी विचार थोपर्ने गर्दछौं। त्यसैगरी उमेर ढल्केका पुस्तामा मात्र परम्परागत चिन्तन छ भनी यसको दाबी गर्ने समाजमा एकथरी युवा जमात छ। वास्तवमा त्यसो नभई, विभेदकारी सिकाइको पुनरोत्पादन गर्न स्वयं कथित गैरदलित युवापंक्ति नै त्यसको अख्तियार छन्।
२०७९ कात्तिक २ गते संयोगले नेपालदेखि बैंगलोर जाँदै थिएँ। धनगढीबाट गौरिफन्ट पुगेपछि पलियाको बस चढ्न भारतको सिमानामा पुगे। त्यो जीबनको पहिलो भारत यात्रा थियो। त्यसमा म एक्लै र हिन्दी भाषा बोल्न नजान्ने थिएँ। भारत आवतजावत गरिरहने बैंगलोर जाने आफ्नै उमेरकी एकजना क्षेत्री समुदायकी केटी धनगढी बसपार्कमा भेटें। उनको साथमा आमा र बहिनी थिए। अब भाषाका लागि सहज भयो। जब सिमानामा पुग्यौं तब एउटाबाट अर्को सिमाना पुग्दा हाम्रो यात्रा परिवर्तन भयो। मेरो थर सुन्नेबित्तिकै उनीहरूको व्यवहार नै बदलियो।
जब नेपाल भारतको भन्सार गौरीफन्टा पुग्यौं। त्यहाँ चेकपोस्टका दुईवटा लाइन थिए। एउटा लाइनमा ती गैरदलित केटी र म उभियौं। र अर्काे लाइनमा उनकी आमा र बैनी। हामी उभिएको लाइनमा नागरिकता चेक गर्ने क्रममा मेरो पालो आयो। म ती केटीको अघि उभिएको थिएँ। पालो आएपछि माइती नेपालले मेरो परिचय सोध्दै नागरिकता माग्यो।
नागरिकता देखाउँदै परिचय दिएँ। पछाडि लाइनमा उभिएकी ती गैरदलित युवती थर सुन्नेबित्तिकै लाइन छोडेर उनकी आमा उभिएको लाइनमा गइन्। मैले सुन्ने गरी आमालाई भनिन्, ‘आमा त्यो त दमाईकी छोरी रै’छ, तमिले रायौ कि नाई ?’ त्यसपछि उनकी आमाले पनि खिस्रिक्क अनुहार लगाइन्
र मतिर हेरिन्। मेरो थर सुनेपछि ती तीन आमाछोरी बोल्नै छोडे।
गन्तव्य एउटै भएकाले गौरीफन्टादेखि पलियासम्म जानुपर्ने बसमा फेरि भेट भयो उनीहरूसँग। म बसेको सिटमा तिनीहरू पनि बसे। थरबारे यथार्थ जान्नलाई रै’छ। जब दुदुवा राष्ट्रिय निकुञ्ज पुग्दै थियौं। छेउमा बसेकी ती आमाले ‘तम्रो थर क्या हो ?’ भनेर सोधिन्। ‘नेपाली हो’। उनले नबुझे झैं गरी सोधिन्, क्या भन्या तमिले। दोस्रो पटक भनें– ‘परियार नेपाली’ हुँ। अझै दंग परे झैं गरी केरे केरे फेरि भन त भनिन्। ‘म दमार्इंको छोरी हुँ’ भनेर तेस्रो पटक भनें।
आफ्नो थर भनिमात्र सकेको के थिएँ। उनी बसको अगाडिको सिटमा टाउको ठोक्किने गरी ढलिन्। र बेहोस नै भइन्। पलिया पुगेको केही समयपछि मात्र होसमा आइन् उनी। होसमा आएपछि पनि ती आमाले मेरो थरबारे निकै चासो राखिन्। उसरी सुदूरपश्चिममा नेपाली थर भन्नेबित्तिकै दमाई नै हो भनेर चिन्छन्। म दमाईंको छोरी हुँ भन्दा पनि उनलाई फेरि पनि पत्यार लागेन। मेरो थर बुझ्न उनको मनको कौतुहलको बेग अझै रोकिएन।
पलियाबाट बैंगलोर जाने बस चढ्नुपर्ने थियो। त्यहाँ पनि हामी चढ्नुपर्ने बस एउटै थियो। रातको १० बजेको थियो। को कहाँ बस्ने सिटको फिक्स गर्न कन्ट्याक्टरले सबै यात्रुको पालेपालो नाम बोलाए। सबैको नाम बोलाउँदा मेरो पनि नाम आयो। कान टोप्राएर मेरो थर सुन्न बसेकी उनीलाई कन्ट्याक्टरले मेरो नाम बोलाउँदा झनै प्रस्ट भइन्। उनलाई पत्यार लाग्ने बलियो प्रमाण बन्यो।
हुन त उनी, मेरो थर सुनेर मात्र बेहोस भएकी होइनन्। उनलाई मेरो थर सुन्नेबित्तिकै धनगढीमा सँगै बसेर खाजा र पानी खाएको याद आएछ। सायद दलितसँग बसेर सँगै खाएको उनको जीवनकै पहिलो परिघटना थियो होला त्यो। त्यसैले, उनलाई त्यो स्मरणले साँघुरो चेतलाई रन्थनायो। उनलाई नर्कमै छिरेको भान भयो। मानवीयताभन्दा पर पुगिन्।
- उसो त, नयाँ पुस्ताले जातपात, छुवाछूत र विभेद मान्दैन र गर्दैन भन्ने छ। गाउँका अशिक्षित उहिलेका वृद्धाले मात्र विभेद गर्छन्। सहरका शिक्षितले विभेदै गर्दैनन् भन्ने ठूलो भ्रम छरिएको छ समाजमा।
- उमेर ढल्केका पुस्तामा मात्र परम्परागत चिन्तन छ भनी दाबी गर्ने एकथरी युवा जमात छ समाजमा। वास्तवमा त्यसो नभई, विभेदकारी सिकाइको पुनरोत्पादन गर्न स्वयं कथित गैरदलित युवापंत्ति नै त्यसको अख्तियार छन्।
देश छोड्ने कथित गैरदलितले विभेद गर्न छोडेका छैनन् भन्ने एउटा दृष्टान्त हो यो। जहाँ कथित गैरदलित नयाँ पुस्ताको पनि संलग्नता हुन्छ। आफूले प्रत्यक्ष विभेद नगरे पनि अग्रजलाई विभेद गर्ने हतियार बनाउँछन्। यो थियो, सामान्य पढलेख गरेकी गाउँकी गैरदलित युवतीको अवस्था। जो भारतमा मजदुरी गर्थिन्।
यसरी दलितको थर सुन्नेबित्तिकै गैरदलित नयाँ पुस्ताले जातीय विभेद गर्न गराउन खेलेको भूमिका यो मेरो जीवनको पहिलो तीतो अनुभव होइन। आजभन्दा चार वर्षअघि अध्ययनको सिलसिलामा कोठा खोज्ने क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–१० हिलेटोलमा गृह मन्त्रालय मातहतकै कर्मचारी प्रशासकीय अनुसन्धान अधिकृतको घरमा दुईवटा कोठा पाएँ। घरबेटीकै सहमतिमा कोठा सरें। कोठा सरेकै दिन घरबेटीको छोरी कोठामा आई आफ्नो परिचय दिँदै हामी सबै भाइबहिनीको पालैपालो परिचय सोधिन्। उनी मेरै उमेरकी थिइन्। पेसाले डाक्टर पनि। तसर्थ हामीले पनि थर नलुकाई निर्धक्क भएर परिचय दियौं। त्यसपश्चान् उनीसँग खुलाइएको हाम्रो परिचय उनले घरका सबै परिवारका सदस्यलाई सुनाइछन्। त्यतिमात्र होइन, त्यहाँ उत्तिखेरै हाम्रो थरबारे बहालमा बस्नेले समेत थाहा हुनेगरी चर्चा चल्यो।
भोलिपल्ट बिहान उज्यालो हुन नपाउँदै उनका बुवा प्रशासकीय अनुसन्धान अधिकृत हामी बसेको कोठाको ढोका ढक्ढक्याउन पुगे। निन्द्रामै उठाए र कोठा बाहिर बोलाए। भने– ‘तिमीहरू तल्लो जातका रहेछौ। कोठा दिनुपहिले तिमीहरूको थर थाहा भएन। अहिले थाहा भयो। घरमा भर्खर बुवाको स्वर्गीय भएकाले घर शुद्ध गर्नुपर्छ, घरमा बूढीआमा हुनुहुन्छ, उहाँलाई गाह्रो हुन्छ। तिमीहरू घरमा बस्यौ भने बहालमा बसेका पनि कोठा छोडेर जान्छन्, फेरि तल्लो जातका घरमा बसेपछि सामाजिक दृष्टिकोणले नराम्रो भइन्छ। त्यसैले तुरुन्तै कोठा खाली गर।’ त्यसपछि मैले यो कुरा घरबेटीको छोरी डाक्टरलाई पनि सेयर गरें। उनले वास्तै गरिनन्।
उल्टै सम्झाउन पो थालिन्, ‘बूढाबूढी उहिलेका मान्छेसँग चेतना छैन, कुरा बुझ्दैनन्। मृत्युको मुखमा पुगेकालाई यस्तो नगर भन्न पनि नसकिने।’ यस्तैयस्तै भन्दै टारिन्। तर जातीय विभेद गर्नु हुँदैन भनेर आमाबुवालाई भन्न सकिनन्। उनी पानीमा टेकेर पाइलो नपारी वुबाआमामार्फत विभेदको पुनर्जागरण गर्न पुगिन्। उनी आफैंले हामीलाई प्रत्यक्ष सानो जातको घरमा बस्न नमिल्ने भन्न नसके पनि कोठामा बसेकै भोलिपल्ट बिहान जातको कुराले कोठाबाट निकाल्न बुवाआमालाई हतियार बनाएको कुरा छर्लंग बुझ्न सकिन्छ। फेरि घरबेटीले कोठा छोड भन्नेबित्तिकै अन्त कोठा पाइने स्थिति थिएन। किनकि कोठा दिनुअघि थर सोध्ने कयौं घरबेटी त्यहाँ बस्नुअघि तीन महिनासम्म काठमाडौंका गल्लीहरूमा कोठा खोज्दा भेटेको थिएँ। कोठा छोडे पनि जात छोड्न त मिल्दैनथ्यो। उसै त काठमाडौंमा दलितलाई कोठा पाउन गाह्रो। त्यसमा पनि पाएको कोठाबाट परीक्षाकै समयमा निकालिनु पर्यो। योभन्दा ठूलो समस्या के हुन सक्छ र ?
उसो त, नयाँ पुस्ताले जातपात, छुवाछूत र विभेद मान्दैन र गर्दैन भन्ने छ। गाउँका अशिक्षित उहिलेका वृद्धाले मात्र विभेद गर्छन्। सहरका शिक्षितले विभेदै गर्दैनन् भन्ने ठूलो भ्रम छरिएको छ समाजमा। तर त्यसो नभई विभेद अघिल्लो पुस्ताले मात्र होइन, अहिलेका पुस्ताले पनि गर्छन् भन्ने स्पष्ट देखिन्छ। अशिक्षितले मात्र होइन, शिक्षितले नै गर्छन्। गाउँकाले मात्र होइन, सहरकाले पनि गर्छन्। ती सबै दलितमाथि जातीय विभेद र छुवाछूत गर्न अतिरञ्जित बहाना मात्र हुन्। त्यसकारण मेरो भारत यात्रामा भेटिएकी क्षेत्री समुदायकी युवतीले मेरो थरबारे आमालाई लगाएको छुस्की र राजधानीमै शिक्षित परिवारमा हुर्किएर डाक्टर बनेकी युवतीले हाम्रो थरबारे परिवारमा दिएको जानकारीलाई हेर्ने हो भने नयाँ पुस्ताले जातीय विभेद कसरी गर्छन् भन्ने कुरालाई बुझ्न सकिन्छ। यस्ता तमाम विभेदको रंगमञ्च गर्ने धेरै कथित उच्च भनिने युवायुवती समाजमा छन्। जसले शदियौंदेखि दलितमाथि विभेद गर्दै मोक्ष प्राप्तिको आनन्द लिन्छन्।
यतिसम्म कि जातीय विभेद गर्दैनौं पनि भन्ने तर दलितको थर सुन्नेबित्तिकै पचाउन गाह्रो मान्ने त्यही युवा पुस्ता समाजमा छन्। नयाँ पुस्ताले गर्ने विभेद हेर्दा नदेखिने र कसैले नबुझिने मात्र हो। अब भन्नुस् त, नयाँ पुस्ताले कसरी जातीय विभेद गर्दैनन् भन्न सक्नुहुन्छ ? के साँच्चै गैरदलित युवाले जातीय विभेद गर्दैन ? जातीय विभेद गर्नु हुँदैन भन्ने चेतबाट माथि उठिसकेका छन् र आजका पुस्ता ? अन्ततः समाजमा जति पनि जातीय विभेदका घटना हुन्छन्। त्यहाँ युवा संलग्न भएको पाइन्छ। जातीय विभेद अन्त्य गर्न नयाँ पुस्ता गैरजिम्मेवार हुनुको एउटै कारण छ। जहाँ एक पुस्ताले अर्को पुस्तालाई जातीय विभेद गर्न अनिवार्य विषयका रूपमा घोकाइन्छ। मानौं, गाउँघरका मानिसले विभेद र छुवाछूत गर्दा चेतना नभएको भन्न सकिएला तर सहरका शिक्षितले त्यसरी नै विभेद गर्छन् भने कसरी जायज भन्न सकिएला र ?
आखिरमा सहरको सिको गाउँकाले गर्छन्। जसले समाजमा दलितको थर सुन्नेबित्तिकै बेहोस हुने र विभेद गर्ने गैरदलित आज पनि गाउँदेखि सहरसम्म छन् भने सयौं वर्षदेखि जातीय विभेद भोग्ने दलितहरू यो समाजको घृणा, अपमान, विभेद र तिरस्कारले कतिपटक मूच्र्छित हुन्छन् होला ? जुन विभेद गाउँदेखि सहरसम्म र देशदेखि विदेशसम्म उस्तै छ। यसबारे तपाईंहरूले कहिल्यै सोच्नु भएको छ ? यदि जातीय विभेद गर्नु हुँदैन भनेर एक पुस्ताले अर्को पुस्तालाई सिकाएको भए जातीय विभेदको जरो पहिले नै उखेलिन्थ्यो। त्यसकारण जातीय विभेद अन्त्य गर्न अब ढिलो गर्नु हुँदैन।