कथा र व्रत स्वस्थानीको तर शिव र विष्णुलाई नायक मानिनुले पनि यसतर्फ संकेत गर्छ। बौद्ध स्वस्थानीमा पनि बुद्घलाई नायक बनाउनुले पनि समाजमा पुरुषसत्ताको प्रभावलाई बुझ्न सकिन्छ।
स्वस्थानीको स्मृतिसहित कथाका कुरालाई लेखक रामेश्वरी पन्तले लैंगिक र सामाजिक दृष्टिकोणले विश्लेषण गरेकी छन्। आफ्ना कुरामा लेखकले आफू सात वर्षको हुँदाको स्वस्थानी कथावाचन र श्रवणको स्मरण गर्दै दाइले स्वस्थानी व्रतकथाको किताब झिकेर पढ्न सुरु गरेपछि आमाले पनि चुल्होचौकाको काम सकेर सपरिवार वरिपरि घेरो लगाएर स्वस्थानी कथा श्रवण गरेको कुरा उल्लेख गरेकी छन्। कथा वा मिथकहरूले बाल मस्तिष्कमा कस्तो छाप पार्ने रहेछ ? कौतुहलपूर्ण अमान्य या सामान्य भन्ने कुरा पनि लेखकको मनभित्र सात वर्षीया गोमाको बारेमा परेको चिन्ताले प्रस्ट पार्छ।
मिथकसँगैको आफ्नै आमाको बालविवाह पनि साइनो गाँसिन पुग्थे लेखकको मस्तिष्कमा। प्रथमतः लेखकले स्वस्थानी शब्दकै आगमन कसरी भयो भन्ने विषयमा उल्लेख गरेकी छन्। स्वस्थानी परमेश्वरी भनेर जुन कथामा उल्लेख गरिएको छ, यिनको बारेमा कुनै पनि पुराणमा उल्लेख नभएको साथै नेवारी शब्दकोश तथा संस्कृत शब्दकोशमा पनि ‘स्वस्थानी शब्द उल्लेख नभएको’ भन्दै तर पद्मपुराणको भनिएको स्वस्थानी व्रतकथाको १४२औं श्लोकमा पाइएअनुसार स्वस्थान अर्थात् आफ्नो स्थानकी स्वस्थानी परमेश्वरीको विधिवत् व्रत गरेपछि आफ्नो स्थानलाई लाभ हुन्छ भन्ने मान्यता हो कि ?
मिथकलाई आफ्नो अनुकूल र स्थानअनुसार कथा बुन्दै लगेको हो कि भन्ने पनि अनुमान गर्न सकिने रहेछ। कथाको परिवेश काठमाडौंको वरिपरि भएकाले पनि यो स्थानीय देवीको रूपमा मानिँदै आएको हुन सक्ने विद्वानहरूको धारणा रहेको उल्लेख छ। स्वस्थानीलाई ठ्याक्कै को हुन् भनेर कुनै पनि पुराणमा लेखिएको पाइँदैन। बरु निरञ्जन निराकार देख्न सुन्न नसकिने कुनै रूप र आकार नभएकी केवल महसुस गर्न सकिने देवी भनेको पाइन्छ। हुन त सबै देवीदेवतालाई महसुस गरेर नै स्थापित गर्दै मिथक संस्कृति बन्दै देख्न सुन्न नसकिने तर भाकलदेखि लिएर दुःख हर्दिने कोही सुपरपावरलाई प्रतिस्थापन गरेकै छन् मानिसले।
‘स्वस्थानी’लाई कसैले महादेवकी आराध्या महाकाली नै स्वस्थानी भनेका छन् भने कसैले महादेवी सती नै स्वस्थानी हुन् भनेर भनेका छन्। कसैले सतीको पुनः अवतार पार्वती नै स्वस्थानी हुन् भनेका छन्। जे होस् महिला प्रधानता देखाइएको स्वस्थानी व्रतकथालाई लेखकले निकै नै समय, चिन्तन र अध्ययनबाट पुस्तकाकार दिएकी हुन्। गोमा र नवराजको कथामात्र भएको करिब साढे चार सय वर्षअघि लेखिएको भनिएको आठपत्रे स्वस्थानीको किताबबाट विस्तारित हुँदै आजको करिब साढे चार सय पृष्ठको पुस्तक तयार हँुदासम्म कथामा विभिन्न प्रसंग जोडिँदै आएका कुरा उल्लेख छ। लेखकले आज पढिने स्वस्थानी व्रतकथाको समाजशास्त्रीय तथा लैंगिक दृष्टिकोणबाट गहन विश्लेषण गरेकी छन्।
स्वस्थानीको स्मृतिसहित कथाका कुरालाई लेखकले लैंगिक र सामाजिक दृष्टिकोणले विश्लेषण गरेकी छन्।
पुस्तकमा उल्लेखित विद्वान् मदनमणि दीक्षितले भनेजस्तै ‘भगवान्’ मानिएका व्यक्तिहरू विशेष गुण र क्षमताका कारण पुराणहरूले देवत्वकरण गरिदिएकै पो हुन् कि ? ल ! महादेव पार्वती हिमालयमा जन्मिए विशेष क्षमता लिएर तर ती अहिले अस्तित्वमा छैनन्। उनीहरूका नाम प्रसिद्धि र उनीहरूका प्रशंसकहरू भने निरन्तर नै छन्। यसमा नीतिकथा, पुराणहरूले समाजलाई पारेको प्रभावलाई पनि मान्न सकिन्छ।
प्रश्न उठ्छ– विधिविधान सिकाउने, आशीर्वाद दिने पुरुष, सेवा गर्ने, क्षमाशील हुने, व्रत बस्ने र पापमुक्त हुने महिला ! संगत, आनिबानी, भावना, विचार नमिली एकपक्षीय व्रत र तपले मात्र कसरी प्रेमी, दुःखी, दरिद्रीहरूको उद्धार हुन्छ ? स्वस्थानीको चित्रमा अष्टमातृकाले घेर्नु भनेको त्यतिबेलाको समाज मातृप्रधान मान्न सकिने र कथा लेखिने समयदेखि पुरुष प्रधानताको सुरु भएको मान्न सकिने पुस्तकमा छ। उनी भन्छिन्– ‘कथा र व्रत स्वस्थानीको तर शिव र विष्णुलाई नायक मानिनुले पनि यसतर्फ संकेत गर्छ। बौद्ध स्वस्थानीमा पनि बुद्धलाई नायक बनाउनुले पनि समाजमा पुरुषसत्ताको प्रभावलाई
बुझ्न सकिन्छ।’
लेखकले स्वस्थानी व्रतकथाको ऐतिहासिक चर्चा गर्दै यसको आर्थिक, सामाजिक एवं लैंगिक विश्लेषण गरेकी छन्। स्वस्थानी व्रतकथा सामाजिक कथा भएको र यो बिल्कुल मौलिक र परम्परागत नेपाली समाजको कथा भएको लेखकको दाबी छ। उनले नेपाली हिन्दु समाजमा अत्यन्त श्रद्धाका साथ स्वस्थानी व्रतकथाले निरन्तरता पाइरहेको दाबी गरेकी छन्। साथै कथामा उल्लेखित घटना र स्थान प्रायः सबै नेपाली भूमि त्यसमा पनि काठमाडौं उपत्यका र त्यसको आसपासको क्षेत्र भएकाले पनि यसले नेपाली मौलिक परम्परा र महत्त्वलाई बोकेको छ भन्ने कुरा उल्लेख गरेकी छन्। ‘देवभूमिहरू हाम्रै पुण्यभूमि नेपालमै रहेका थिए’ भन्ने वाक्यांशबाट यो कुरा बुझ्न सकिन्छ। तर ती देवता नै बस्ने भूमि थिए या शक्तिशाली राजा रजौटा, अगुवालाई देवता बनाइए अथवा बुनिएका कथाहरूलाई वास्तविकता झल्काउन तत्तत् स्थानमा ती पात्रको नाम र देवस्थान बनाइए ? यस्ता कुराको पनि विश्लेषण हुनुपर्ने थियो कि ?
महत्त्वपूर्ण कुरा चाहिँ यो पनि हुन सक्छ कि स्वस्थानी कथामा उल्लेखित पात्र तथा चरित्रहरूले तत्कालीन समाजको सामाजिक, धार्मिक तथा सांस्कृतिक परिवेश र त्यसभित्रको मानवीय चरित्रको प्रतिनिधित्व गरेका छन्। लेखककै विश्लेषणमा नारी पात्रलाई स्वस्थानी व्रतकथामा निरीह, सेविका, धर्मात्मा हुनुपर्ने, श्रापित र कष्टकर जीवन जिउनुपर्ने, आशीर्वाद पुरुष सर्वोच्चताबाट नै पाउनुपर्ने तबमात्र पापमुक्त हुने मान्यता र मिथकको अवशेष आजसम्मको पुरुष प्रधान समाजले पनि प्रस्ट पार्छ।
परम्परागत नेपाली समाजको चरित्रलाई उजागर गरेको यस कथाले वंश परम्परामा छोराको निरन्तरता र छोरीको सामाजिक, आर्थिक मूल्यमान्यताको कुनै चर्चा नै गरेको पाइँदैन केवल व्रत, ध्यान, पतिभक्ति, गृहिणीबाहेक। पतिभक्ति यस्तो देखाइएको छ कि लोग्नेको अपमान भएमा श्रीमतीले ‘आत्मदाह’ नै गर्नुपरे पनि गर्नुपर्छ। यस्तै कथाले नै पतिको मृत्युपछि पत्नी जिउँदै सती जानुपर्ने सामाजिक रीति नै बसालेका त थिएनन् ? लेखकले प्रश्न गरेकी छन्। स्वस्थानी कथाको अर्को जोडबल भनेको चाहिँ महिला बत्तीस लक्षणले युक्त, सुशील, समर्पित, गृहिणी र हरदम पतिप्रति निष्ठावान् र पतिव्रता हुनुपर्ने ! हुन त लेखपढ गर्ने आविष्कारको सुरुआती समयमा पुरुष मनोभावमार्फत देवीदेवताको परिकल्पना गर्दै लेखिएको या प्रचारित, प्रसारित लोकप्रिय साहित्य जो एउटा समुदायमा लामो समय चल्दै जीवनशैली, संस्कृति, धर्म बन्न पुग्यो भन्न पनि सकिन्छ यस स्वस्थानी व्रतकथालाई।
यौनिकतालाई मध्यनजर गर्दा पुरुष स्वच्छन्द र महिलाको यौनिकतामा नियन्त्रण गरेको पाइन्छ भन्ने विश्लेषण छ लेखकको। पतिव्रतालाई पटकपटक उल्लेख गरिएकोबाट यो कुराको आभाष पाइन्छ। महिलालाई आदर्शको पर्खालभित्र कैद गरेर चरित्र, भाग्य, कर्म, पाप र नैतिकताको पाठ पढाइएको छ भन्ने लेखकको विचार छ। प्रायः नेपालीमा लेखिएका पुस्तकहरूमा पाइने स्वस्थानी कथा ब्राह्मण पुरुषहरूले ब्राह्मण महिलाका लागि लेखिएका नियन्त्रणमुखी दस्तावेज हुन्। यसले महिला केन्द्रित आवाजलाई मुखरित गर्दैनन्।
आजको समयमा धर्मकथाहरूमा आलोचनात्मक दृष्टिकोण राखेर विवेचना र विश्लेषण गर्न जोकोहीलाई पनि ठूलै हिम्मत चाहिन्छ। अझ महिलाका लागि त हिम्मतको पनि हिम्मत जरुरी हुन्छ। अर्थात् रामेश्वरीले ठूलो जोखिम मोलेर स्वस्थानी व्रतकथाको चिरफार गरेकी छन्। सायद यसरी नेपालमा नेपाली लेखकले नै स्वस्थानी व्रतकथामाथि अनुसन्धान गरेर पुस्तक नै प्रकाशन गरेको यो पहिलो हो।
लेखक पन्तको भनाइमा धर्म आफैंमा नराम्रो होइन, धर्म र अध्यात्मले मानिसमा सकारात्मक सोचको विकास गराउँछ, अनुशासनमा रहन, नैतिकवान् हुन सिकाउँछ र स्वस्थानी व्रतले आफैंभित्रको शक्तिलाई जागृत गर्न सिकाउँछ। लेखकको चित्त नबुझाई स्वस्थानी व्रतमा होइन कि यसको कथानकमा छ।