पालोमा पाठकीय दृष्टि

पुस्तक

पालोमा पाठकीय दृष्टि

पुस्तकका कविताहरूको दर्जा छुट्ट्याउन गाह्रो छ। सबै उत्तिाकै सुन्दर छन्, पठनीय छन्।

केही जाँगर नै थिएन अहिले जाडो पुसैको हुँदा 

ढुस्सेले दिन धुम्म घाम मधुरो साह्रै चिसो जे छुँदा
यौटा पुस्तक हातमा छ अहिले लेख्ने 
तिवारी उनै 
लेख्या छन् कविता छ सुन्दर अहा पढ्दा 
मीठा छन् जुनै।

साह्रै सज्जन हुन् धनी हृदयका छर्ने उनी चेतना 
लेखे दर्जन पुस्तकै छ कति हो भूगोलका वेदना
त्रिसट्ठी कविता उन्या छ यसमा राम्रा बनेका सबै 
पढ्ने पाठकले अवश्य यसको गर्लान् प्रशंसा खुबै।

कवि नारायण तिवारीको यो कविता संग्रह ‘अब तिम्रो पालो’ जब मेरो हातमा पर्‍यो मैले पुस्तकको अमूर्त आवरणपछि साझा प्रकाशनको गहकिलो प्रकाशकीयमा नजर गाडें। त्यसपछि स्व. आमाप्रति भावनात्मक सभक्ति समर्पणका भावुक शब्दहरू अनि प्रा. कृष्ण पोखरेलको ‘काव्यिक भावले पूर्ण र व्यंग्य चेतले भरिएका कविताहरू’ शीर्षकभित्र समेटिएका सुन्दर भाव, राजवको ‘कविताका चिन्ता’का साथै स्वयम् लेखकको ‘मेरो पालो’लाई छिचोलेपछि मात्र यस पुस्तकको पहिलो कविता ‘प्रेम’लाई पढ्ने म पाठकको पालो आयो।

तीन चारवटा कविता पढें। अनि, छोड्न मन लागेन। अर्थात् कविताहरूले मलाई ताने। ‘प्रेम’ शीर्षकको कविताले स्वयम् प्रेमलाई नै वास्तवमा म प्रेमले यस्तो हुनुपर्ने रहेछ भन्ने कुरा उसलाई बोध भएको हुनु पर्छ। यदि प्रेमले ‘प्रेम’ पढेको खण्डमा। दोस्रो कविता ‘फेरिएन’मा आफ्नो र देशको जिन्दगी फेरिन नसकेकोमा कविद्वारा गहिरो चिन्ता व्यक्त गरिएको छ। तेस्रो कविता ‘फगत मान्छे’मा आफ्नो जीवन छ भने ब्रह्माण्ड छ, यदि आपूm छैन भने संसारभित्र रहेका प्राकृतिक सौन्दर्य, संरचना, धनसम्पत्ति आदिको कुनै औचित्य नरहने कुरा कविले व्यक्त गरेका छन्। चौथो कवितामा अर्काको झोला बोक्ने कविपात्र चाहिँ माथि सजिलै चढ्छ र अर्को झोला नबोक्ने कविचाहिँ माथि उक्लन नसकेको कटुसत्य व्यक्त गर्दै भनेको छ :
‘....स्वाभिमानी जो छु
बरु मर्छु 
तर ब्रह्मको झोलाले जे देख्छ
त्यही लेख्छु भन्छ...!’

झोले कविमाथि झोलाको धनीले छप्पर पारेर कृपा बर्साएको कुरा हालको यथार्थलाई यस ‘ब्रह्मको झोला’ शीर्षकको कविताले सरल भाषामा हतौडा हानेको छ। अब पालो आएको छ ‘कविता लेख्न खोज्छु’ शीर्षकीय कविताको। यसमा नातिनीको माया र उसको निश्छल बाल स्वभावभन्दा कविता किमार्थ ठूलो होइन भनेर कविताले बोलेको छ। यो बाल मनोवैज्ञानिक कविता हो। ‘मेरो राष्ट्रिय पोसाक कोट, पाइन्ट र सर्ट’ शीर्षकको कविता चित्तबुझ्दो र चखिलो बनेको छ। यसमा कवि भन्छन् :
‘...हो, 
म यस राष्ट्रको नागरिक 
यस अर्थमा राष्ट्रिय मान्छे !
मैले पहिरिएको पोसाक
स्वतः राष्ट्रिय पोसाक...’ 

छोटकरीमा भन्नुपर्दा एक राष्ट्रिय व्यक्तिका लागि सोही राष्ट्रको अर्को राष्ट्रिय व्यक्तिले सिलाएको मन पर्ने र सुहाउने पहिरन लगाइयो भने त्यो राष्ट्रिय पोसाक हो। त्यतिमात्र कहाँ हो र ? अझ मेरो विचारमा त यस राष्ट्रमा उत्पादन हुने ढिँडो, मकै, भटमास, गुन्द्रुकहरूलाई एक राष्ट्रिय व्यक्तिले गर्‍यामगर्‍याम चपाएर जब निल्छ त्यो पनि पक्कै राष्ट्रिय खाजा बन्छ। यो सुन्दर भावको कवितालाई साधुवाद। मन परेको अर्को कविता हो– ‘अक्षरको कामना’। साहित्य र साहित्यकारका लागि भूगोलको डल्लो त हुन्छ तर त्यसमा सीमा हुँदैन। असरफ फयादलाई त्यहाँको शासकले दिएको कडा सजायप्रति असन्तोष प्रकट गरिएको यो कविता पठनीय छ, सुन्दर छ।

त्यसपछि क्रमिक रूपले आएका ‘म स्वाधीन, आफ्नो मालिक आफैं’, ‘ईश्वर छैन’, ‘हेलो सरकार !’ आदि कविताहरूमा राजनीतिमा भएका असन्तोष परिस्थितिलाई कविले मिठासपूर्ण खबरदारी गरेका छन्। कतै ईश्वरप्रति असन्तोष व्यक्त गरिएको छ। एघारौं नम्बरमा दर्ता भएको कविताले यस 
पुस्तकको आवरणमा आफ्नो नाम राख्न सफल भएको छ। अर्थात् कविता हो– ‘अब तिम्रो पालो’। यो कविता पनि राजनीतिकै 
सेरोफेरोमा रहेको छ। हेरौं :
‘भो सकियो–
मैले निरंकुश शासकलाई खेदें, लखेटें
सकियो मेरो पालो 
अब तिम्रो पालो
मेरो घरआँगनको सपना पूरा गर्ने 
अब तिम्रो पालो।’

कविको भनाइ शतप्रतिशत ठीक लाग्छ। कविले भन्न केही बाँकी राखेको छैन। प्रस्ट बुझिन्छ कि अब (युवा) तिम्रो पालो। यो मीठो कविताका लागि कविलाई बधाई छ। बाह्रौं कविता ‘दिन आउँदै छन्’मा कविता बोल्छ :
‘...मिच्न खोज्नु हुन्छ
तर, होस गर्नु 
मालिकका दिन जाँदै छन्
होस गर्नु
‘मानिस’का दिन आउँदै छन्।’

यसरी आफूलाई सर्वश्रेष्ठ ठानेर अरूलाई होच्याउने प्रवृत्तिप्रति दरो व्यंग्य कसेको यो कविता चोटिलो र चखिलो छ। ‘लालबहादुर विश्वकर्माको आपत्ति’ शीर्षकीय कविताले अझै पनि हराउन नसकेको जातीय विभेदलाई औंल्याएको छ। ‘यथावत्’ शीर्षकको कविताले वर्षहरू फेरिँदा जतिसुकै शुभकामनाका ठर्रा तेस्र्याए पनि प्रकृतिको चक्र, राजनीतिका बेथिति, समाजको कहालीलाग्दा रुढी आदि सबै यथावतै रहने कुरा चित्त बुझ्नेगरी दर्शाएको छ। कविता ‘पवित्र क्रान्ति’ले समानताको चाहना गरेको देखिन्छ। अनि ‘देश जति रोइराखे पनि’ कवितामा अमेरिका पुगेर उतैको नागरिक भएपछि यता आफ्नो देशलाई चटक्क नबिर्सियोस् भन्ने भाव व्यक्त गरिएको छ। 

‘कृष्णेहरू’ शीर्षकको कविताले राष्ट्रियताप्रति खेलवाड कसैबाट पनि नहोस् भन्ने भाव बोकेको छ। ‘मन पर्‍यो÷मन परेन’, ‘संक्रमणकाल’, ‘मधेस’, ‘ओ मेरो प्रिय मधेस !’, ‘अखण्ड माटोलाई अक्षुष्ण राख्दै’ र ‘मैले डीभी भरिनँ’ आदि सबै राष्ट्र भाव बोकेका मीठा कविताहरू हुन्। यस पुस्तकभित्र रहेका सबै कविताहरू छिचोली सकेपछि भन्न सकिन्छ कि कविमा राष्ट्रप्रति असीम मोह छ। संग्रहको अन्तिम कविता ‘भन्नेहरू’को एक अंश उद्धृत गर्न चाहन्छु। हेरौं :
‘...यहाँ भन्नेहरूको कमी छैन
यहाँ वेदना पोख्नेहरूको कमी छैन
किनकि यहाँ
मुटुमा आगो सल्केकाहरूको कमी छैन...।’

यस कविताले बेथिति र अभावले सिर्जना गरेको भयावह जनपीडालाई उजागर गर्दै हाल देशको परिस्थितिलाई ऐना देखाइदिने कामको प्रतिनिधित्व गर्ने यो अन्तिम कविताले यस पुस्तकको कविता क्रमलाई बिट मारेको छ। यस पुस्तकमा रहेका कविताहरूको दर्जा छुट्ट्याउन गाह्रो छ। सबै उत्तिकै सुन्दर छन्, पठनीय छन्। धेरै कविताले पाठकको हृदयलाई छुन्छ। अन्त्यमा, कवि नारायण तिवारीलाई हार्दिक शुभकामना दिँदै भविष्यमा यसरी नै अरू सुन्दर, चोटिला, रसिला सिर्जनाहरूको अपेक्षा गर्दछु। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.