कवितामा समसामयिक स्वर
कविताका मूल प्रवृत्तिा नै समकालीन समाज, राजनीतिलगायत हरक्षेत्रमा व्याप्त बेथिति रहेका छन्।
कवि होइन बोल्ने त कविता हो। कहाँ, कसरी, कहिले, कस्तो, किन कविता बोल्छ, त्यो त सुन्न जान्नेहरूलाई थाहा हुने कुरा हो।’ अक्टोभियो पाज।
यही कुरा लागू हुन्छ, ४० को दशकदेखि नेपाली कविता फाँटमा देखा परेका कवि छविरमण सिलवालको सन्दर्भमा। उनी समकालीन समयका बेथितिविरुद्ध सक्रिय कलम चलाउँछन्। उनीबिना दुरुहका सरल शब्द प्रयोग गरी गहिरो भाव अभिव्यक्त गर्न सक्षम छन्। दैनिकीमा जति सरल र शालीन देखिन्छन्, लेखनीमा पनि दुरुस्तै लाग्छन्। यसअघि दुईवटा कविता संग्रहसहित विभिन्न विधाका ६ कृति प्रकाशित गरेका उनको डोरम्याट ३० छोटा र मझौला कविताको संग्रह हो। यसमा वर्तमानलाई कवितामार्फत चिहाउने प्रयत्न गरिएको देखिन्छ। कवितामा समसामयिक समाज र यसका विकृति, विसंगतिप्रति शालीन आक्रोश पोखिएका छन्।
देशप्रतिको गहिरो चिन्तामा डुबेका छन् कवि। समकालीन समाजको ऐना लाग्ने कविता फरकफरक सन्दर्भले विषयगत विविधाका लाग्छन्। जीवनका सबैकुराले बुनिएका छन्। उनी आफ्ना अनुभूतिका पहाड चढ्छन्। भुइँमान्छेका पीडा र दुःखहरूमा भेटिन्छन्। जीवनको वास्तविकता उजागर गर्छन्। कविताहरू कोरा नारावादी सोचबाट शतप्रतिशत मुक्त छन्। तथ्यमा टेकेर, भोगाइका विभिन्न सन्दर्भमा विचार र भावना पोख्न माहिर छविरमणलाई समाजको स–साना कुरा जसले छुन्छ, तिनमा गहिरिन्छन्, घोत्लिन्छन् र लेख्छन् जिम्मेवार भएर। प्रायः कविता यथार्थको सन्निकट रहेर लेखिएका छन्। आँखाले परपरसम्म हेरेर, मनले तिनलाई महसुस गरेर लेखिएका जस्ता लाग्ने कविता छन्। उनको तीक्ष्ण सामाजिक उत्तरदायित्व मज्जैले पोखिएका कविताले व्यक्त गरेको मूल्यमान्यता र भावना समयानुकूुल हिँड्न सकेका छन्। जीवन्त लाग्ने कविता यथार्थभन्दा पर छैनन्।
शीर्षक कविता डोरम्याट, सिंहदरबार भद्दा मजाक गरिरहेछ, गन्तव्यविहीन यात्राजस्ता कविताहरूले समकालीन समाजको राजनीति, राज्यव्यवस्था सञ्चालन गर्नेहरूले आफ्ना जनतासामु गरेका वाचा बिर्सिएर स्वार्थ साँध्न गरेका अनेकानेक हर्कतप्रति तीव्रतर आक्रोश पोख्दै व्यंग्यसमेत गरेका छन्। विकृत राजनीतिमा अनेक पटाक्षेप देखेका आमजनताको पीडालाई कविले विहंगम दृष्टिचेतसहित तीव्रतर प्रहार गरेका छन्। सबैको भलो सोच्ने, सरल र सौम्य स्वभावका कवि वर्तमान राजनीतिको विकृति र विसंगतिप्रति असहमति जाहेर गर्छन्। यस्ता कवितामा विकृत राजनीतिको क्यानभास चित्रित छन्। यिनमा वर्तमान राजनीतिको कुरुपता उजागर गरिएको छ।
कवितामा देशप्रेमका भाव सञ्चारित भएका छन्। उनी आफ्ना कवितामा वर्तमान विषम परिस्थितिको यथार्थ वस्तुस्थिति चित्रण गर्न रुचाउँछन्। यथार्थवादी दृष्टिचेतका कविताहरूले सामाजिक उत्तरदायित्ववोधको प्रकटीकरण गरेका छन्। नेपाली समाजको जल्दोबल्दो समस्यामा उनको कलम चलेको छ। कविताहरूमा वर्तमान समाजको देशको बेथिति ओकल्छन्। कविताहरूले वर्तमान समयको मानवीय प्रवृत्तिको चित्रण पनि गरेका छन्। वर्तमान समयको पीडाबोधले ग्रस्त कविमनले द्रवित भएर बाँच्नेको मानसिकतालाई मर्मस्पर्शी रूपमा आफ्ना सिर्जनामा प्रस्तुत गरेका छन्। राजनीतिक संरक्षण पाएर काम गर्नेप्रतिको कटाक्ष गरिएका कविता जसले हामी बाँचिरहेको समयको यथार्थलाई सत्यापन गरेका छन्।
एउटा युगपुरुषको खोजी, स्वाभिमानी मान्छेको खोजीजस्ता कवितामार्फत उनी बिग्रिँदै गएको वर्तमान समय, राजनीति, समाजमा व्याप्त विभिन्न विकृति, विसंगतिप्रति संकेत गर्दै त्यसबाट देश र जनतालाई मुक्त गराउन एक कुशल युगनायकको खोजी महसुस गरिरहेका छन्। उनले नेपाली समाजको दिशाविहीन यथार्थताको सत्यापन गर्दै तीबाट मुक्ति दिन सक्ने युगपुरुषको आवश्यकता भएकोतर्फ औंल्याएका छन्। उनको कवितामा आमाबुवा गुमाउनु परेको पीडाग्रस्त मन कस्तो हुन्छ भन्ने भावुक मानसिकतामा प्रस्तुत गरेका छन्। स्मृतिमा बा, आमा, बाको तस्बिरले मलाई हेरिरहेको छ, जुठो थाल, धुवाँको सिँढी, समय त्रासदीजस्ता कविता यस कोटीमा पर्छन्। यी कवितामा आफन्तहरूको यादमा घायल कविहृदयको अभिव्यक्ति उद्दीपक भएर आएको छ। आफ्ना गुमाउनुपर्दाको पीडाबोध आत्मसात् गर्नुपर्दाका पलहरूको हृदयस्पर्शी चित्रण पनि पाइन्छ।
छविरमणका कविताका मूल प्रवृत्ति नै समकालीन समाज, राजनीतिलगायतका हरक्षेत्रमा व्याप्त बेथिति रहेका छन्। कविताहरू सामाजिक विविधाका विषयवस्तुमा केन्द्रित छन्। कविको भोगाइहरूको अमिट छाप कवितामा परेको छ। समाजका मूल्यहीनताको संस्कृतिको विरुद्ध कविता लक्षित छन्। कविता लेख्ने शैली छविको आफ्नै छ। कवि छवि कविताहरूमा निर्धक्क भएर बोल्छन्। आफ्ना मनका भावनाहरू प्रकट गर्छन्। भाषाशैलीगत वैशिष्ट्यको हिसाबले सरल, बोधगम्य, मिठासयुक्त भाषा अनि पाठकलाई सम्मोहित गर्ने विभिन्न बिम्ब प्रयुक्त गरी माधुर्यता प्रदान गर्ने प्रयास छ। कविको अभिव्यक्ति सामथ्र्य गजबको छ। यहाँ हेरौं :
रुख काटेर
धन जोड्नेहरूलाई
भन्दै थियो रुखले–
म बोल्न नसकेरै
हेप्छन्, काट्छन्
मेरो हत्या गर्छन्
थाहा छैन तिनलाई
मैले नै अन्तिममा
खरानी बनाउनुपर्छ... (रुख)
यस्तै सरल तर भावनाको भरिपूर अभिव्यक्ति उनका कविताका विशेषता हुन्। स–साना कुराहरूमा उनको दृष्टिप्रक्षेप हुनु उल्लेख्य मान्न सकिन्छ। आममान्छेका भोगाइका यावत् दृश्यहरूले कविता भरिएका छन्। सिर्जनामा वर्तमान मानव नियतिको पराकाष्टालाई प्रकटीकरण गर्छन्। त्यसैले भन्न सकिन्छ उनका कविताहरूमा समकालीन यथार्थवादी र समसामयिक स्वर प्रबल रूपमा आएको छ। दुरुहको कुनै भावसम्म छैनन्। कवि आफ्ना अनुभूतिका पहाडहरू चढ्छन्। भुइँमान्छेका पीडा र दुःखहरूमा भेटिन्छन्। जीवनको वास्तविकता उजागर गर्छन्। उनी कोरा नारावादी सोचबाट शतप्रतिशत मुक्त छन्। तथ्यमा टेकेर, भोगाइका विभिन्न सन्दर्भहरूमा आफ्ना विचार र भावनाहरू पोख्न माहिर छविरमणलाई समाजको स–साना कुराले छुन्छ तिनमा गहिरिन्छन्, घोत्लिन्छन् र लेख्छन् जिम्मेवार भएर। प्रायः कविता यथार्थको सन्निकट रहेर लेखिएका छन्। जीवन्त लाग्छन्।
आँखाले परपरसम्म हेरेर, मनले तिनलाई महसुस गरेर लेखेका कविता संग्रहमा छन्। उनको तीक्ष्ण सामाजिक उत्तरदायित्व कविताहरूमा मज्जैले पोखिएको छ। जसमा मूल्यमान्यता र भावना समयानुकूल हिँड्न सकेका पाइन्छ। जीवन्त लाग्ने कविताहरू यथार्थभन्दा पर छैनन्। अत्यन्तै सामान्य कविताका पाठकले समेत पढ्न सक्ने, अर्थ बुझ्न सक्ने कारण क्लिष्टताबाट उनका कवितामुक्त देखिन्छन्। दुर्बाेध्यताको सिकार भएको कविता भेटिन्नन्। हाम्रा समयको सामाजिक यथार्थको वस्तुपरक प्रस्तुतिले भरिएका संवेगहरूलाई कविताका विषयवस्तु बनाउने खुबी यहाँ देखिन्छ। सहजरूपमा प्रवाहित हुनसक्नु उनका कविताका उल्लेख्य पक्ष लाग्छ।
संरचनाका दृष्टिले लघु र मध्यम आकारका कविताहरूले भरिएको यो कृतिमा तत्त्वगत विश्लेषणका हिसाबले हेर्दा भावविधानको ख्याल राखी सघन भावमा बगेका कविताहरूले प्राथमिकता पाएको देखिन्छ। लयविधान, भाव र सुहाउँदा सरल बिम्ब, प्रतीकको कलात्मकतालाई खिपेर लेखिनु संग्रहको विशेषता लाग्छ। सपाट भावमा अभिव्यक्त गर्ने सामाथ्र्यले भरिएका कविता छन्। प्रतिकूल परिस्थितिहरू उजागर गरेर त्यसमा धावा बोल्ने कविमनको खुबी यहाँ देखिएको छ। पाठकलाई तान्न सक्ने कविता छन्। अधिकांश कविता वर्तमान समयका क्यानभास कोरिएका छन्। समसामयिक लाग्छन्। कवि मन कतैकतै अलिक बढी भावुक भएर पोखिएको पनि छ। मसिना कुरामाथि लेख्न रुचाउने उनले तपाईं हाम्रा अनुभव, अनुभूति र भोगाइहरूमा सिर्जना कोरेका छन्।
समाज बुझेका कविको सामाजिक चेत र मानवीय मूल्य मान्यताका फेहरिस्तहरू, समाजका विषम परिवेश, आमभुइँमान्छेका पीडा प्रतिविम्बित भएका कविता पनि छन्। कविता लेखनको ध्येय नेपाली समाजको संरचनागत वैशिष्ट्यता अनुरूप हुनुपर्छ भन्ने कुरामा कवि प्रष्ट छन्। र त सरल भाषामा उन्नत चेतनाको सम्प्रेषण गर्छन्। लेखनीमा गम्भीर र बडो संवेदनशील कविको कविता काव्यमा सिंगो समाजको तस्बिर आउनु सकारात्मक छ। तर कुनै पनि रचनागर्भको तिथिमिति भने तोकिएको छैन। पूर्णतः दुनियाँमा कोही हुँदैन, निरन्तरता महत्त्वपूर्ण कुरा हो। अनुभूतिको संरचना, समाजशास्त्रीय चेत र कविताहरूमा प्रतिविम्बित व्यंग्य चेतले भरिपूर्ण कवितामा नेपाली समाजका विभिन्न पक्षको उजागर गरेका छन्। कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो।