नुब्री उपत्यकालाई अहिंसा क्षेत्र घोषणा

नुब्री उपत्यकालाई अहिंसा क्षेत्र घोषणा
नुब्री क्षेत्रलाई अहिंसा(स्याग्या) उपत्यका घोषणा गर्दै प्रमुख लामा तथा गाउँपालिकाका अध्यक्षहरु। तस्बिर : शिव उप्रेती।
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा गरिएको छ। वेयुल किमोलुङअन्तर्गत सेराङ गुम्बा र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा नुब्री क्षेत्रलाई अहिंसा(स्याग्या) उपत्यका घोषणा गरिएको हो। 

यसअघि एकसय वर्षभन्दा पहिलेदेखि चुमक्षेत्रलाई अहिंसा उपत्यकाका रुपमा घोषणा गरिएको थियो। नुब्री क्षेत्र पनि अहिंसा क्षेत्र घोषणा भएपछि अब चुम र नुब्री दुबै उपत्यका अहिंसा उपत्यका घोषणा भएका छन्।

नुब्री उपत्यका अन्तर्गत चुमनुब्री गाउँपालिकाको वडा नं. १, २, ४ र ५ का गाउँबस्ती पर्दछन् भने चुम उपत्यका अन्तर्गत वडा नं. ६ र ७ का गाउँबस्तीहरु पर्दछन्। चुमलाई अहिंसा उपत्यका घोषणा गरेको एकसय वर्ष पूरा भएको उपलक्ष्यमा गतबर्ष अहिंसा सताव्दी महोत्सव मनाइसकिएको छ। 

सेराङ गुम्बाको बिगत लामो समयदेखिको प्रयास र चुमनुब्री गाउँपालिकाको गत शुक्रबार सेराङ गुम्बामा सम्पन्न कार्यपालिका बैठकले निर्णय गरेपछि गत शनिबार औपचारिक समारोहका बीच नुब्रीलाई पनि अहिंसा उपत्यका घोषणा गरिएको हो। 

null१० दिने गुम्बापूजापछि शनिबार आयोजित ‘वाङ’का अवसरमा सेराङ गुम्बाका प्रमुख लामा टुल्कु कर्मा रिम्पोछे, टुल्कु पासाङ रिम्पोछे, टुल्कु आङ्वा रिम्पोछे, औतारी लामा पासाङ ङिमा र चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अहिंसा उपत्यका घोषणा व्यानरमा हस्ताक्षर गरेका थिए।

अहिंसा क्षेत्र घोषणा सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने लगायतका कार्यपालिका सदस्यहरु सहभागी थिए। त्यस्तै गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ का सबै गाउँबस्तीका बासिन्दा उपस्थित भएका थिए। अहिंसा क्षेत्र घोषणा सभामा अहिंसा उपत्यकाका स्थानीय बासिन्दा तथा यस क्षेत्रमा प्रवेश गर्ने सबैले पालना गर्न विभिन्न शीलहरुको बारेमा जानकारी गराइएको थियो। 

नजिकको गाउँ वडा नं. ५ को क्य्राक र वडा नं. ४ को क्वाक, छाकबाट करिब पाँचघण्टा भन्दा धेरै पैदल हिँडेर स्थानीयबासिन्दा वाङ थाप्न सेराङ गुम्बामा उपस्थित भएका थिए। वाङका अवसरमा गुम्बाले भक्तजनहरुलाई दिनभर वुद्ध धर्म, संस्कृतिमा प्रचलित विभिन्न नाच(चाम) आयोजना गरेको थियो। विभिन्न देवदेवीको भेषभुषामा सिँगारिएर कलाकारहरुले चोयकङ चाम, शिवा चाम, थ्रोओ चाम, खान्द्रो चाम, दुर्थाङ रोलाङ चाम, गोमासी चाम, गुदाङ सिङतोङ चाम, न्यूले ड्रेपा चाम, झोएन चामलगायतका सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो। त्यस्तै लामा गुरु रिम्पोछेहरुले प्रसाद र आशिर्वाद प्रदान गरेका थिए। 

सेराङ गुम्बा चुमनुब्री गाउँपालिका ५ साबिक बिही गाविसको श्रृङ्गी हिमालको फेदीमा अवस्थित छ। वेयुल किमोलुङ(लुकेर रहेको पवित्र धार्मिक स्थल) सेराङमा आयोजित १० दिने वाङ(गुम्बा पूजा तथा आशिर्वाद लिने कार्यक्रम) को अवसरमा गाउँपालिकाले कार्यपालिका बैठक पनि सोही स्थलमा आयोजना गरेको थियो।

गत शुक्रबार सम्पन्न बैठकको समापन गर्दै गाउँपालिकाका अध्यक्ष निमा लामाले सेराङ विश्वकै उच्चत्तम पवित्र स्थलअन्तर्गत पर्ने हुँदा यस क्षेत्रमा प्रवेश गर्ने तिर्थालु भक्तजन तथा अन्य पर्यटकका लागि विभिन्न आचार संहिता लागु गर्ने निर्णय भएको जानकारी दिए। त्यस्तै हिन्दू र वौद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिक क्षेत्रमा अवस्थित टासी पासाङ हिमाल(श्रृङ्गी हिमाल) आरोहण गर्न अनुमति नदिन सरकारसंग अनुरोध गर्ने निर्णय बैठकमा भएको पनि बताए। पर्यटन तथा पर्वतारोहणसंग सम्वद्ध व्यक्ति तथा संस्थाहरले देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति माग गर्ने क्रममा यस श्रृङ्गी हिमाल आरोहणका लागि पनि सरकारसंग अनुमति माग गर्नसक्ने हुँदा यस विषयमा अनुमति नदिन सरकारसंग अनुरोध गर्ने बैठकले निर्णय गरेको लामाले बताए।

त्यस्तै बैठकले सेराङमा सञ्चालित सेराङ गुम्बा आधारभूत विद्यालयलाई कक्षा आठसम्म सञ्चालन गर्ने अनुमति दिने निर्णय पनि गरेको छ। सो विद्यालय गोरखाको एक गुम्बा विद्यालय हो। सो विद्यालय हिउँदमा चुमनुब्री ५ बिहीमा र बर्खाका बेला सेराङ गुम्बामा सञ्चालन हुदै आएको छ।

साथै बैठकले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेको दिन मे ९ मा मनास्लु महोत्सव आयोजना गर्ने पनि निर्णय गरेको पनि पालिका अध्यक्ष लामाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.