पूर्व पश्चिम राजमार्गलाई ४ लेन बनाउन रुख काट्ने कार्य अन्तिम चरणमा
काठमाडौं : पूर्व पश्चिम राजमार्गलाई एशियाली सडकका रुपमा विस्तार गर्न २ लेनबाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ।
झापाको काकडभिट्टाबाट लौकही सम्मको सडक विस्तारका लागि राइट अफ वे अन्तर्गत परेका रुखहरु काटिएको हो। सडक विभाग, वन कार्यालयका कर्मचारी, ठेकेदार प्रतिनिधिहरुको रोहबरमा रुख काटेर दाउरा र गोलिया छुट्याई घाटगद्दी गर्ने गरिएको कानेपोखरी सब डिभिजन वन कार्यालयका वन रक्षक लाल बहादुर मगरले जानकारी दिए।
उनले चिसाङ पुल देखि डाँसखोलासम्मको करिब ५ हजार ५३ वटा रुखहरु विगत २ महिना देखि काट्न थालिएको र केही दिनमा रुख काट्ने काम सम्पन्न हुने बताए।
वन क्षेत्रमा राइट अफ वे २५ मिटर बाट साढे १७ मिटर कायम गरिएपछि काट्नुपर्ने रुखहरुको संख्या घटेको छ। विभिन्न सामुदायिक वन र राष्ट्रिय वन अन्तर्गत रहेका रुखहरु सामुदायिक वनको कि स्थानीय पालिकाको स्वामित्वमा रहने विवाद रहेकोमा अहिले रुखहरु काटेर वन कार्यालयमा घाट गद्दी गर्ने कार्य भइरहेको हो। मोरङमा करिब २६ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि साइट क्लियर गर्ने कार्य भइरहेको छ।