लुम्बिनीमा आगलागीले बिचल्ली

लुम्बिनीमा आगलागीले बिचल्ली
गुल्मीको ईष्मा गाउँपालिकामा आगोले जलेको घर।
सुन्नुहोस्

बुटवल : आँखैअगाडि घर जलेर खरानी भएको देख्दा विमला अधिकारीको मन विक्षिप्त भएको छ। धन कमाउन श्रीमान् रोमनिया पुगेका छन्। १५ वर्षीय छोरा र ९ वर्षीया छोरीसँगै बस्दै आएको घर आगोले खरानी हुँदा उनीहरू बिचल्लीमा परेका हुन्।

गुल्मीको ईष्मा गाउँपालिका–४ कोटकटेरीकी ३४ वर्षीया अधिकारीको अहिले न बस्ने थलो छ। न खाने। घरमै बसिरहेको बेला जंगलको आगो घरमा सल्कियो। क्षणभरमै जलेको घरको भग्नावशेष हेरेर बस्नुको विकल्प रहेन। चार तोला सुन। ७० हजार नगद पैसासहित लत्ताकपडा, भाडाकुँडा र महŒवपूर्ण कागजातहरू जलेर खरानी भए। तीन जनाको परिवार अहिले गाँस न बाँस भएको छ। स्थानीय जंगलमा लागेको आगो गाउँ पस्दा अधिकारीसहित गाउँका २४ घर  र ३७ वटा गोठ जलेर नष्ट भएका छन्। 

झिमरुक गाउँपालिका–३ धनमुढा प्यूठानका २९ वर्षीय भीमसेन पौडेलले घर जलेर खरानी भएपछि वृद्ध आमासहित ६ जनाको परिवार बिचल्लीमा परेको गुनासो गरे। ‘छिमेकी भाउजूको घरमा बाँस मागेका छौं’, पौडेलले भने, ‘खाने चामल छैन, बस्ने ठाउँ छैन। आगोले बिचल्ली बनायो।’ स्थानीय सिखेटाकुरा सामुदायिक वनमा लागेको आगो गाउँमा सल्केको उनले जानकारी गराए। 

गाउँमा पानीको समस्या भएकाले पनि आगो नियन्त्रण गर्न नसकिएको उनको दुःखेसो छ। ‘राहतका लागि वडा कार्यालयमा निवेदन दिएका छौं’, पौडेल भन्छन्, ‘२० हजार सहयोग हुन्छ रे भन्ने सुनेको छु। खै अझै पाएका छैनौं।’ उनले सरकारले दिने २०/२५ हजारले केही नटर्ने दुःखेसो सुनाए। भाउजूको घरमा बस्दासम्म खानका लागि नजिकैको पसलबाट उधारोमा चामल लिएको पौडेलले बताए। आफ्नोसहित गाउँका वसन्त पौडेल र गिरु पौडेल दाजुभाइको घरसमेत जलेर खरानी भएको पौडेलको भनाइ छ। 

लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँची, कपिलबस्तुलगायतका जिल्लामा आगलागीले वितण्डा मच्चाएको छ। सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा सयौं घरहरू जलेर नष्ट भएका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म प्रदेशका १२ वटै जिल्लामा गरी कुल २ सय ३९ घर र १ सय ७४ वटा गोठहरू जलेर पूर्ण रूपमा नष्ट भइसकेका छन्। 

यस आर्थिक वर्षमा आगोमा जलेर ६ जना बालबालिकासहित २५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए। आगलागीमा परेर ९२ जना घाइते भएका छन्। प्रहरीका अनुसार आगलागीबाट प्रदेशमा कुल ४० करोड ८२ लाख रुपैयाँबराबरको क्षति भएको छ। २ सय ७३ पशु चौपाया मरे भने १ सय १६ वटा घाइते भएका छन्। हालसम्म सात सय बढी आगलागीका घटना भएका छन्। 

घर जलेका पीडितलाई २० हजार

आगलागीबाट घर जलेर पूर्ण रूपमा नष्ट भएका अग्निपीडितलाई नेपाल सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नगद २० हजार रुपैयाँ दिने गरेको छ। तर, गोठ र पशु चौपाया मरेकालाई थप राहत नहुने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीले जानकारी दिए।

‘घर जलेपछि पीडितलाई स्थलगत पुगेर नगद २० हजार रुपैयाँ राहतस्वरूप दिने गरेका छौं’, उनले भने, ‘व्यक्ति, संघसंस्थाहरूले स्वइच्छाले सहयोग गर्न सक्छन्। तर, प्रशासनले दिने तत्काललाई यही नै हो।’ ६/७ महिनापछि जलेको घर पुनर्निर्माण गर्नका लागि चार लाख रुपैयाँ सरकारले दिने गरेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाए। प्रशासनले दिने नगद राहत रकमले मात्र पीडितको तत्काल पुनस्र्थापना नहुने देखिएको छ। 

पक्राउ पर्दैनन् आगो लगाउनेहरू

धेरैजसो जिल्लामा जलेका घरहरू स्थानीय सामुदायिक वनबाट निस्केको आगोकै कारण जलेका देखिएको छ। तर, स्थानीय प्रहरी प्रशासनले हालसम्म वनमा आगो लगाउनेको पहिचान गरेको छैन।

आगो नियन्त्रणमा आएपछि यसको दिगो समाधानका लागि ठोस काम हुन नसकेको पीडितले गुनासो गरे। अग्निपीडितले जंगलमा आगो लगाउनेहरूको पहिचान गरी कारबाही गर्न मागसमेत गरेका छन्। वनमा लागेको आगो गाउँ पस्दा मानवीय क्षतिसँगै नागरिक घर न बाँस त भएकै छन्। खानेपानीको समेत चरम समस्या बल्झिँदै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.