गृहमन्त्री संलग्न रहेको सहकारी ठगीका विषयमा संसदीय छानबिन नबनेसम्म संसद चल्न दिँदैनौं : शेखर कोइराला
चुलाचुली (इलाम) : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताएका छन। उनले पहिचानको मुद्दा सम्बोधन पनि कांग्रेसले नै गर्ने दाबी गरे।
उनले कांग्रेस सधैं पहिचान र प्रतिनिधित्वको पक्षमा भएको बताए। उनले भने ‘कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्नुस्।’ उनले पहिचान चाहनेहरूले कांग्रेस उम्मेदवार खड्कालाई मत दिनुपर्ने बताए।
चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनोस् इलाम-२ को विकासको जिम्मा म लिन्छु।’
नेता कोइरालाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेको सहकारी ठगीको विषयमा संसदीय समिति नबनेसम्म संसद चल्न नदिने बताए। उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे।