बझाङका एमाले उम्मेदवार भण्डारीलाई पितृशोक
बझाङ : नेकपा एमालेका बझाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का उम्मेदवार दमन भण्डारीलाई पितृशोक परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो। उनी बिरामी भएर लामो समयदेखि थला परेका थिए।
बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा चक्रका छोरा दमन बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन्। निर्वाचनको मुखैमा बुबाको निधन भएकाले दमनको निर्वाचन प्रचार प्रसारको काममा केही अवरोध हुन गएको एमालेले जनाएको छ।
यस विषम् परिस्थितिमा चुनाव प्रचार-प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन्। चक्रको निधनप्रति दुःख व्यक्त गर्दै एमालेले शोकाकुल परिवारमा समवेदना प्रकट पनि गरेको छ।