कर्णाली प्रदेश सरकारमा माओवादीका रनसिंह परियार बने मन्त्री
वीरेन्द्रनगर : कर्णाली प्रदेशको मन्त्रिमण्डलमा एक जना मन्त्री नियुक्त भएका छन्। सरकार गठन भएको १५ दिनपछि प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार मन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्री परियारले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन्। सत्ता साझेदार दल माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन्। उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका हुन्।
मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक पनि हुन्। गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका छन्। सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भएको भन्दै सर्वत्र आलोचना समेत भएको थियो।
मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि बुधबार माओवादीबाट मन्त्री नियुक्त भएका हुन्। बाँकी मन्त्रीको सपथ बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि विस्तार हुने बताइएको छ।