पे वेल नेपालका सीइओ श्रेष्ठ पक्राउ, ६८ लाख बढी ठगी गरेको आरोप
काठमाडौं : नेपालमा डिजिटल भुक्तानी गर्दै आएको पे वेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सत्यन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनले वैदेशिक रोजगारमा क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोप छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार सत्यन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
विसं २०७७ सालमा स्थापना भएको पे वेलले नेपालमा डिजिटल भुक्तानीमा चर्चा पाएको थियो। प्रहरीका अनुसार ३९ वर्षीय सीइओ श्रेष्ठले क्यानडा पठाउने भन्दै जानुका निरौलालगायतबाट ६८ लाख २० हजार उठाएका थिए। पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
वैदेशिक रोजगार विभागको पक्राउ पुर्जीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई अनामनगरबाट पक्राउ गरेको हो। श्रेष्ठले पदको दुरुपयोग गर्दै पीडितहरूलाई प्रलोभन दिएर ठगी गरेको आरोप छ। उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।