डोल्पामा जेठ १० मा यार्सा पाटन खुलाइने निर्णय
डोल्पा : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरिएको छ। जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।
जिल्लामा रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण यार्सागुम्बा पाटनहरूमा जेठ १० गतेदेखि पाटन खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। बैठकबाट यार्सा खुला गर्ने मिति तोक्नुका साथै पाटनमा सुरक्षाकर्मी परिचालनदेखि स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णयसमेत भएको उनले बताए।
प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा पाटनमा २०औं हजार सर्वसाधारणहरू यार्सागुम्बाको खोजीका लागि पुग्ने गर्छन्। डोल्पाका यार्सा पाटनहरू वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्छन्। यार्सागुम्बा टिप्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था निकुञ्जको नियमावलीमा गरिएको छ ।जसअनुसार मध्येवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ।
सरोकारवालाको बैठकले १० जेठमा पाटन खुला गर्ने निर्णय गरेपनि निकुञ्ज र वन क्षेत्रका यार्सापाटनमा लुकिछिपी अवैधरूपमा गएका मान्छेहरू भरिभराउ छन्। डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारणहरू निकुञ्ज र वन कार्यालयका कर्मचारी र सेनाको आखाँ छलेर पाटनमा भरिभराउ भएका हुन्। एक साता यतामात्र निकुञ्जले अवैधानिकरूपमा छिरेका ७५ जना पक्राउ गरेर छोडिसकिएको छ।