भोलि उपनिर्वाचन : कुन-कुन सवारी साधन चलाउन पाइन्छ ?
काठमाडौं : निर्वाचन आयोगले भोलि हुन गइरहेको उपनिर्वाचनमा मापदण्ड तोकिएका बाहेकका सवारी साधन चल्न नदिने जनाएको छ। उपनिर्वाचनमा स्वच्छता,निष्पक्षता तथा पारदर्शितामा असर नपर्नेगरी सम्बन्धित क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि वैशाख १० गतेको निर्णयअनुसार सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध मिलाउन निर्देशन दिइसकेको आयोगले जनाएको छ।
उपनिर्वाचनका लागि सवारी साधन सञ्चालनका सम्बन्धमा गृहमन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको आयोगले जनाएको छ। इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (१)मा भोलि उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनको दिन नरोकिने सवारी साधन
बिरामी बोकेको एम्बुलेन्स,
खानेपानीको ट्याङ्कर,
दुध बोक्ने सवारी साधन,
दमकल,
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
शव वाहन,
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,
तरकारी, फलफुल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,
कुटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा वहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।
२. सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने।
३ . उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ एकवटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने ब्यवस्था मिलाउने।
४ . सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने।
५ . मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गर्ने।