गुल्मीमा तीन हजार जनामा औलो जाँच, एक जनामा पुष्टि
गुल्मी : चालु आर्थिक वर्षमा गुल्मीमा झण्डै तीन हजार ८५ जनामा औलो जाँच गरिएको छ। जिल्लाका १२ वटै स्थानीयमा पुगेर औलो जाँच गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
बिहिबार विश्व औलो दिवसका अवसरमा कार्यालयले जिल्लास्थित सञ्चारकर्मीसँग औलोको जोखिम, लक्षण र रोकथामका उपायका बारेमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया समेत गरेको हो।
चालु आर्थिक वर्षमा जिल्लाभर तीन हजार ८५ जनामा स्वास्थ्य चेकजाँच गरिएको छ। जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको कार्यालयले जनाएको छ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट यसको चेकजाँच गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण भट्टराईले जानकारी दिए।
गुल्मीमा औलोको जोखिम कमै देखिएको छ। पछिल्लो समय तराईका जिल्लासँगै पहाडी जिल्लामा समेत औलो फैलिरहेकाले सचेतना अपनाउन स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक वोम अर्यालले आग्रह गरे।