जगत्भित्रको जीवन, जीवनभित्रको जगत्
आधुनिक मानव सृष्टिको विकास र विस्तार लाखौं वर्षको मानव परिकल्पना, रचना र पौरख नै हो। यस सृष्टिमा जीवितमध्ये सर्वश्रेष्ठ र सचेत प्राणी हो, मानव समुदाय। र, यसको विकासको क्रम आदिकालदेखि निरन्तर चलिनै रहेको छ। यस जगत्मा मानव जीवन रोचक र रहस्यमय छ। मानिसहरू अरूभन्दा बुद्धिजीवी छन्। यसैले त जीवन अद्भुत छ।
हामी एकअर्कामा मनभित्र के भावना जागृत भइरहेको छ यकिन गर्न सक्दैनौं। न त पत्ता लगाउने कुनै वैज्ञानिक सूत्र नै बनेको छ। यसैले त भनिन्छ, मानव विवेकशील प्राणी हो। असल, खराब छुट्ट्याउन सक्छन्। भावना बुझ्न सक्छन्। असल भावनाले नै सम्बन्धहरू बन्दै जान्छन्।
सद्गुरु भन्छन्, तपाईं जीवित हुनु भएकाले मात्रै घर, सम्पत्ति, धन आदि रहेको हुन्छ र त्यो त्यतिञ्जेल मात्रै रहन्छ। यस जगत्मा जे जति छन्, ती सबै जीवित रहुन्जेलसम्म अस्तित्वमा रहन्छन्। त्यसपछि मित्थ्या।
रजनिश ओशो भन्छन्, मानव जन्म त पाइन्छ, तर जीवनलाई भने खोज्नुपर्छ। जीवनको खोजी गर्नु पनि एउटा कला हो। जीवनको अर्थ जिउनु र भोग्नुमा हुन्छ, तर एउटै परिभाषा भने हुँदैन।
समाज, देश र भूगोलको विकास, वृद्धि र समृद्धिका लागि मानिसहरूको विवेशील भूमिका महŒवपूर्ण हुन्छ। मानव पुर्खाको पौरख र मेहनतीपन र संघर्षले नै आज हामी आधुनिक विश्व समाजको अस्तित्वमा खुसी छौं। यो पुस्तान्तरण हुँदै अघि बढिरहेको छ।
रुखबिरुवाले मानवलाई अक्सिजन दिइरहेको हुन्छ। मानवले कार्बन डाईअक्साइड। र त दुवैको जीवन अस्तित्व छ। सूर्यले प्रकाश र ताप दिइरहेको हुन्छ। चन्द्रमाले शीतलतासँगै सद्भाव अनि अँध्यारो रातमा उज्यालो छरिरहेको हुन्छ। प्रकृतिका हरेक चिजवस्तु अद्भुत छन् र ती सबैमा मानवको गहिरो सम्बन्ध जोडिएको छ। यसैलाई हामी ‘सृष्टि’ अर्थात् ‘जगत्’ भन्छौं।
हरेकको जीवनमा मानवीय, पारिवारिक र सामाजिक पाटाहरू हुन्छन्। मानिसमा बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीहरू पनि सँगसँगै हुन्छन्। जीवनप्रतिको दृष्टिकोण, आदर्श, करुणा र मूल्यले मानव जीवनलाई गति दिन्छ। जिउनको सार्थकता महसुस गराउँछ।
मानवलगायत संसारका जीवित प्राणीको आश्रयस्थल ‘भूमि’ अर्थात् ‘जगत्’ (संसार) हो। यसैले जीवन र जगतबीचको सम्बन्ध ‘नङ र मासु’ झैं छ। भूमिबिना मानव अस्तित्व कल्पना गर्नै सकिन्न। आजको विश्व मानव समुदायको एउटा प्रमुख लडाइँ ‘जमिन’ अर्थात् ‘भूमि’को लागि पनि हो।
संसारमा मानव मात्रै यस्तो जीवित प्राणी हो जसले भूमिमा श्रम गर्छन्, पसिना बगाउँछन् र पौरख गर्छन्। उत्पादन गरेर आफू, परिवार र विश्व समुदायलाई खुवाउँछन्। किसानले अन्न उत्पादन नगरिदिने हो भने हामी कति दिन बाँचांैला ? यो जगत् कति दिन टिक्ला ?
भूमि–उत्पादन र मानव सम्बन्ध अचम्मको छ। अधिकांश मानिसको मुख्य आवश्यकता भनेकै चाहना, पेटभरि खान, आङभरि लगाउन र बस्न भूमि अर्थात् यो जगत् अनिवार्य आवश्यकताभित्र पर्छ। कृषि युगदेखि आधुनिक पुँजीवादी युगसम्मको यात्रामा मानवले यसको विकल्प दिन सकेका छैनन्। बाँकी विश्वको धेरै समय यो क्रम चलिनै रहने अनुमान गर्न धेरै घोत्लिरहनु पर्दैन।
कसैले गुणस्तरीय जीवन बाँच्छन्, कसैले कम। यो मानवीय रीत नै हो। प्रचलित भनाइ छ, जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन। तर, कस्तो जीवन बाँच्छौं, त्यसको खास अर्थ हुन्छ।
मानव विकासक्रमको आफ्नै इतिहास छ। कार्लमाक्र्सले मानव विकासक्रमलाई चार भागमा बाँडेका छन्, आदिम साम्यवाद, दासप्रथा, समान्तवादी समाज र पुँजीवादी समाज। ई.वी. टाइलर र ए.एल. मोर्गानले ढुंगेयुग (प्रारम्भिक चरण), वर्वर युग (मध्यकालीन चरण), सभ्य युग (आधुनिक चरण) मा परिभाषित गरेका छन्।
मानव जंगली अवस्थाबाट कृषि युग हुँदै आधुनिक विश्व समाजमा प्रवेश गरेको छ। जंगली युगमा हुँदा ढुंगाको हतियार बनाएर सिकार गरेर जीविका निर्वाह गर्ने मानव समुदाय कृषि युगपछि विभिन्न प्रकारका फलाम, धातु र माटाका औजारहरू बनाई खेतीपाती र पशुपालन गरेर जीविका निर्वाह गर्दै अघि बढे।
आजकल खेतीपातीमा आधुनिक मेसिन औजारको प्रयोग बढी हुन थालेको छ।
कृषिबाट औद्योगिक युगमा मानव समाज रूपान्तरण भयो। बढ्दो जनसंख्या अव कृषिमा मात्र निर्भर नभई उद्योगधन्दामा मजदुरको रूपमा पनि काम गर्न थाले। कृषि युग र औद्योगिक युगमा पनि विभिन्न खालका युद्धहरू हुन्थे। हार्नेहरूलाई दास बनाइन्थ्यो। उनीहरू भूमिपतिको कृषि दासको रूपमा काम गर्न बाध्य बनाइन्थ्यो। जसलाई माक्र्सले दास प्रथा परिभाषित गरेका छन्।
अहिलेका आर्थिकरूपमा सम्पन्नहरू (पुँजीपतिहरू) श्रमिकहरूलाई काम लगाएर प्रशस्त पैसा कमाएर आराम गर्छन् भने त्यतिबेला पराजितहरूबाट खेती र पशुपालनसम्बन्धी काम गराएर विजयी हुने भूमिपतिहरू आराम गर्दथे। बढी उत्पादन गर्नेहरूले सामग्री बेच्ने, पेसाको विभाजन गरेर काम गर्ने, धेरै जमिन हुनेहरूले विभिन्न सर्तमा व्यक्तिहरूलाई खेती गर्न दिने अवस्था विकास हुँदै आयो। धेरै जग्गाजमिन हुने मानिसहरू ठूला (जमिनदार, सामन्त) गनिन थाले।
जमिनमा खेती गर्नेहरू मोही किसान, साना किसान आदिमै सीमित बनाइए।
उद्योग व्यवसायको विकाससँगै श्रमिक र उद्योगी बने। पुँजीपतिहरूको संख्या कम हुँदै गए र मजदुरहरू बढ्दै गए। माक्र्स भन्छन्, संसारमा पुँजीपति र मजदुरहरूको लडाइँ यही क्रमबाट हुन पुगेको हो, यसलाई उनले वर्ग विभाजनको रूपमा विश्लेषण गरेका छन्।
मानवशास्त्री सुरेश ढकाल लेख्छन्, मानव इतिहासको लामो कालखण्ड सिकार–खोजीमुलोको यायावरी युग थियो। स्थायी बसोबास र कृषि त करिब १०–१२ हजार वर्षअघि मात्रै सुरु भएको हो। कृषि युगको सुरुवात मान्छे र पृथ्वीकै इतिहासमा आमूल परिवर्तनकारी एक आविष्कार बन्न पुग्यो।
वर्तमान पृथ्वी करिब २९ प्रतिशत (१४९ मिलिएन वर्ग किमि), भूसतह र ७१ प्रतिशत (३६१ मिलियन वर्ग किमि) पानी (समुन्द्री सतह)ले ढाकिएको छ। मानव विकासक्रमको सुरुवातमा भूसतह उजाड, जंगल, घाँसे मैदान र झाडीहरूले घेरिएको थियो। पछिल्लो केही शताब्दीपछि भने यसमा परिवर्तन आयो र कृषि भूमिमा परिणत हुँदै गएको छ। अहिले पनि संसारको कुल जमिनमा १० प्रतिशत हिउँले ढाकिएको छ। १९ प्रतिशत जमिन बाँझो (मरुभूमि, सुक्खा, नुन पाइने क्षेत्र, समुन्द्र तट, बालुवा टिब्बा र खुल्ला चट्टानहरू) छ। बसोबासयोग्य जमिनको आधामात्र भागमा कृषि खेतीपाती गरिन्छ। ४६ प्रतिशत कृषियोग्य जमिन, ३८ प्रतिशत जंगल क्षेत्र, ११ प्रतिशत घाँसेमैदान छ।
४६ प्रतिशत कृषियोग्य जमिनमध्ये ७७ प्रतिशत जमिनमा पशुपालन-चरण क्षेत्रले ओगटेको छ भने २३ प्रतिशत जमिनमा मात्रै अन्न उत्पादन हुन्छ। यति क्षेत्रफलमा गरिएको कृषि उत्पादनले वर्तमान विश्वका ८ अर्बभन्दा बढी जनसंख्याको हात–मुख जोडिएको छ। विश्वव्यापी सूचकअनुसार विश्व मानव समुदायले बस्नयोग्य जमिनमध्ये आधा हिस्सा मात्रै प्रयोग गरेको छ। नेपालले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भूभागमात्र ओगटेको छ।
विश्व जनसंख्या वृद्धिदर प्रतिवर्ष १.१ प्रतिशत छ। पछिल्लो समयमा बढ्दो सहरीकरणसँगै पृथ्वीका ५० प्रतिशतभन्दा बढी जनसंख्या अहिले सहरी क्षेत्रमा बसोबास गर्छन्। यद्यपि सन् २०२१ सम्मको एक तथ्यांकअनुसार १ प्रतिशत जमिनमात्रै सहरी बसोबासले ओगटेको छ। बढ्दो जनसंख्या, गाउँदेखिको सहरको बसाइँसराइ र विभिन्न आर्थिक अवसरहरूले सहरीकरणप्रतिको आकर्षण बढ्दो छ। वर्तमान विश्वमा ५५ प्रतिशत मानिसहरू सहरी क्षेत्रमा र ४५ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन्। संयुक्त राष्ट्रसंघको एक प्रक्षेपणअनुसार सन् २०५० सम्म ६८ प्रतिशत जनसंख्या सहरी बसोबासमा हुनेछन्।
मानव जीवनको लागि आवश्यक क्यालोरी र प्रोटिन उत्पादनको मुख्य आधार भूमि नै हो। क्यालोरी १८ प्रतिशत मासुजन्य एवं दुग्धजन्य उत्पादनबाट र ८२ प्रतिशत वनस्पतिजन्य उत्पादनबाट हुन्छ भने प्रोटिन ३७ प्रतिशत मासुजन्य एवं दुग्धजन्य उत्पादनबाट र ६३ प्रतिशत उत्पादन वनस्पतिजन्य उत्पादनबाट हुने गरेको छ। मानिसको लागि उपलब्ध खाद्य पदार्थको ९५ प्रतिशतभन्दा बढी वस्तु जमिनबाट मात्र उत्पादन हुने गरेको छ। यसैले पनि जमिनमा खेतीपाती महत्त्वपूर्ण कार्य हो।
आफ्नो स्वामित्वमा जमिन वा उत्पादन गरिखाने भूमिको पहुँच नहुँदा विश्वमा अहिले पनि विश्वका करिब १० प्रतिशत जनसंख्या भोकमरीमा छन् अर्थात् संसारका एक अर्ब जति मानिस राति भोकै सुत्छन्। गरिबीमध्ये करिब एक भाग मानिसहरू भूमिहीन छन्। विश्व भोकमरी सूचक प्रतिवेदन २०२२ अनुसार ८२ करोड ८० लाख मानिसहरू भोकमरीको चपेटामा बाँच्न विवश छन्। हरेक वर्ष ९० लाख मानिसको भोकमरीका कारण मृत्यु हुने गरेको छ। विश्व भोकमरी सूचीको १ सय २१ देशमध्ये नेपाल ८१औं स्थानमा छ।
कृषिको लागि भूमि भनेको माटो हो। रुखबिरुवा, घाँसपातजस्ता सबै किसिमका वनस्पतिको आधार, उनीहरू हुर्कन तथा बढ्न आवश्यक पानी तथा पौष्टिक तŒवहरूको स्रोत माटो नै हो। मानिसको शरीरको ६० प्रतिशत भाग माइक्रोअर्गानिजमबाट बन्छ र ४० प्रतिशत भाग वंशीय जेनेटिकबाट बनेको हुन्छ।
संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनका अनुसार अहिले नै विश्वको खेतीयोग्य जमिनको आधाभाग भन्दा बढी (५२ प्रतिशत) को माटो अन्नबाली राम्रोसँग उब्जाउन नसक्ने किसिमले गुणस्तरहीन भइसकेको छ। प्रतिवर्ष औसतमा १.२ करोड हेक्टरभन्दा पनि बढी जमिन र माटो बिग्रिरहेको छ। यही अनुपातमा माटो बिग्रँदै जान दिने हो भने आउँदो ६० वर्षमा विश्वमा खेती गर्न लायक जमिन बाँकी नै रहने छैन भन्ने चेतावनी विभिन्न दिन थालिएको छ।
यसको मुख्य कारण पछिल्लो समयमा बढ्दो जलवायु परिवर्तनको असर पनि हो।
सद्गुरु भन्छन्, माटो हामीले बनाएको वा सिर्जना गरेको होइन यो अघिल्लो पुस्तादेखि नै हस्तान्तरण हुँदै आएको हो त्यसैले हाम्रो पुस्ताले यसको सही उपयोग गर्दै भावी पुस्ताको लागि पनि सुरक्षित राखिदिनु अहिलेको पुस्ताको कर्तव्य हो। यसैले पनि उत्पादनयोग्य जमिनको प्रमुख हिस्सा खेतीपातीका सीप भएका किसान समुदायसँग हुनुपर्छ भन्ने किसानका माग जायज छ। उनीहरूसँग उत्पादनसँगसँगै माटो संरक्षण गर्ने सीप छ।
हाल विश्वमा ६० करोड ८० लाख परिवार कृषि पेसामा संलग्न छन्। नेपालको भर्खरै सार्वजनिक सातौं कृषि गणना प्रतिवेदनअनुसार ४१ लाख ३० हजार ७ सय ८९ (६२ प्रतिशत) कृषक परिवार छन्। उनीहरूले २२ लाख १८ हजार ४ सय १० हेक्टर जमिनमा खेतीपाती गर्छन्।
कृषियुगको सुरुवातपछि मानिसहरूले जंगलबाट केही जनावरहरू घरमा ल्याएर पनि पाल्न थाले। पशुहरू घर–गोठमा पाल्नुको दुई कारण थिए, एक मासु र दुग्धजन्य उत्पादन र उपभोग। र, अर्काे खेतीपातीको लागि मलमूत्रको प्रयोग। कृषि खेतीपाती सुरु भएपछि सानो आकारको भूमिमा गरिने खेतीपातीले पनि धेरै जनसंख्यालाई पुग्ने भयो। परिवार र समाज नै खेतीपातीमा लाग्न थाले। मानिसहरूको दैनिकी नै कृषि खेतीपातीमै निर्भर हुन थाल्यो।
थोरै भूमिमा पनि विविध प्रकारका बाली लगाएर जीविका धान्न सजिलो हुने भएपछि मानिसहरू घुमन्तेबाट समूह÷समुदायमा मिलेर बस्न थाले। उत्पादन हुने अनाजहरू भण्डारण गरेर राख्ने र वर्षैभरि खान थालियो। यसले बसोबासको संरचनामात्र होइन, सामाजिक संरचनामा पनि फेरबदल ल्यायो। परिवार, नातागोता, आफन्तहरू नजिकै बस्ने र अर्मपर्महरू हुन थाले। उतिबेला कामबापत ज्यालामा पैसा दिने चलन थिएन। श्रमबापत अन्नपात अथवा अर्म–पर्म नै आधार थियो। साथसाथै विभिन्न धर्म, संस्कृति र चाडपर्व पनि मानिसहरूले क्रमशः विकास गरे।
सुरेश ढकाल लेख्छन्, कृषि र पशुपालन क्रमशः पश्चिम एसियाबाट दक्षिण एसिया हुँदै नेपालसम्म आइपुगेको हो। भारतीय उपमहादीपमा पहिलो कृषि÷पशुपालन र अन्न उत्पादनको प्रमाण भेटिएको मेहगढ जुन हालको पाकिस्तानमा पर्छ। त्यो आठ हजार वर्ष पुरानो थियो। उनी लेख्छन्, यो संसार बदल्ने विभिन्न घटनाहरू भूगोलको सबै भागमा एकै पटक भएको भने होइन। आज मानिसहरूले खेती गर्ने र भान्सामा पाक्ने प्रमुख खाद्यान्नको मौलिक भूमि विभिन्न महादेशहरू थिए। केही हजार वर्षको अन्तरालमा मूलतः मानिसको बसाइँसराइको प्रक्रियामार्फत त्यो हामी माझ आइपुगेको हो।
आजको किसानको प्रमुख लडाइँ जमिन स्वामित्वको लागि पनि हो। ठूलो हिस्सा कृषकले ढाकिएको यो पृथ्वीमा आज तिनै किसान वर्गसँग भएको उत्पादनयोग्य जमिनको अधिकांश हिस्सा पुँजीपति र जमिनदारहरूको कब्जामा पुगेको छ। यसबाट उत्पादनको सीप भएको किसानहरू क्रमशः भूमिहीन बन्दै छन्। उनीहरू मजदुरमा परिणत हुँदैछन्। यसो हुँदा उनीहरू क्रमशः कृषि पेसा छाडेर विकल्प खोज्दैछन्। हिजोका किसानका सन्तान आज भारतलगायत दुबई, मलेसियालगायत खाडी मुलुकमा मजदुरी गर्न बाध्य छन्। बीपी कोइराला भन्थे, प्रत्येक नेपालीको एउटा आफ्नै घर होस्। खेती किसानी र भरणपोषण गर्ने जमिन होस्। एउटा दुहुनो गाई होस्। समाजवाद यसरी आउँछ। तर, के सबै नेपालीसँग आफ्नै घर बनाउने जमिन छ त ? खेतीपाती गर्ने जमिन छ त ? छैन।
कृषि उत्पादनमा कमी आउने र बढ्दो जनसंख्यालाई धान्ने खाद्यान्नको अभाव सिर्जना हुँदै जाने जोखिम बढ्दो छ। अर्काेतर्फ राज्यशक्ति पुँजीपतिहरूको कब्जा र उनीहरूकै फेरिफेरीमा घुमिरहने हुँदा तमाम् किसानहरूको समस्यालाई बेवास्ता गरिँदा कृषिप्रतिको वितृष्णा र बढ्दो पलायनले अनेकखाले समस्याहरू सतहमा देखिँदै गएको छ। मानिसहरूमा हुने र नहुनेबीचको खाड्ल बढ्दै गएको छ।
मानव विकासक्रमको सामूहिक उत्तरदायित्व र सामूहिक जीवन पद्धतिबाट मानिस व्यक्तिगत सम्पत्ति र व्यक्तिवादी जीवन पद्धतितर्फ बदलिएपछि क्रमशः सामूहिक जीवन पद्धति छिन्नभिन्न हुँदै गएको छ। निजी सम्पत्तिप्रति मोह बढ्न थाल्दा हुने र सक्नेहरूले सम्पत्ति थुपार्दै गए। मानिसहरूलाई जतिसक्दो बढी आफ्नो स्वामित्वमा भूमि, सम्पत्ति र स्रोत राख्ने हुटहुटीले समाज वर्ग विभाजनमा गयो। माक्र्स भन्छन्, समाजमा हुने र नहुने वर्गहरूबीच द्वन्द्व छ। अहिले वर्गीय समाज छ। जसलाई नभत्काएसम्म न त समाजवाद आउँछ, न त साम्यवादमै पुग्न सकिन्छ।
आज हामी देखिरहेका छौं, जनसंख्याको अधिकांश हिस्सा किसान र मजदुर छन्। तर, उनीहरू भुइँमा छन्, त्यही भुइँको स्वामित्व र पहुँच धेरै उनीहरूसँग छैन। यसले गर्दा यो जगतमा एउटा वर्गलाई अब त बाँच्नै सकिँदैन कि भन्ने आभास हुन थालेको छ।
र, उनीहरू जमिन र जगत्मा आश्रय र जीविकाको लागि संघर्ष गरिरहेका छन्।