एक्लो मान्छे
आकार भविष्यको
नियाल्न सकिनँ झुपडीमा–
धुवाँ अलौटा मकै भुट्दाको ?
हातो फुक्लिएको जाँतोको कुनामा
झोक्राइरहेथ्यो एउटा पीडित मन
सुनको मूर्तिमा जलप भरिरहेथ्यो
अर्को गरिब तन
जुवाको खालमा
ढलिरहेथ्यो अथाह धन ।
पेलेर मिहीन माटो
सिंगो ब्रह्माण्ड घुमाइरहेथ्यो
बूढो कुम्हाले
मुस्किलले जुटाइरहेथ्यो–
सूर्योदयको डुकु–भात
जोडेर सिंगो परिवार एकसाथ ।
पसिनाले टाल्दै थिइन्
टुटेका सपना
झुपडीकी बूढीआमा
रगतले रंग्याउँदै थियो उनैको छोरो
शान्तिको विश्व–चित्र ।
भोकमा पौडिएका सपना
अताल्लिइरहेथे बाँझो फाँटमा
ठम्याउन सकिनँ मैले
कहाँनेर छुट्यो बाटो ?
कहाँनेर टुट्यो मुटु ?
कसरी एक्लियो मान्छे–
मान्छेहरूकै भीडमा ?