दर्शन दृष्टि
भौतिकवादी दर्शनहरूमा माक्र्सवाद मात्र अर्थतन्त्रको हिसाबले सरलीकृत तथा अब्बल मानिन्छ। त्यो पनि बिर्सनु भएन कि ! काल्र्स माक्र्सले हेगेलको दर्शनमा टेकेर सरलीकृत गरेका हुन्। बाँकी भौतिक दर्शन अरू जस्तै हो। त्यसपछि पनि अर्थशास्त्रसम्बन्धी विभिन्न दर्शन जन्मेका छन्। धर्मको अर्थ सत्यता हो। उदाहरणका लागि पानीको गुण बग्नु। आगोको अर्थ पोल्नु। अध्यात्माको अर्थ आफैंभित्र छिर्ने कला हो।
अर्को अर्थमा सत्य तथा निष्ठाको धारण गर्नु नै धर्म हो। अतः धर्म तथा अध्यात्मा विषयले अपमान तथा असमान विषयमा बहस गर्दैन। बाँकी समाजमा जति पनि स्वार्थको स्वरूपअनुसार धर्मको नाम र परिभाषा छन्। वास्तवमा भगवान्ले मान्छेलगायत प्राणीको सृष्टि गरे। मान्छेले आजकल भगवान्को सृष्टि गर्दैछ। वेदान्त विश्वको पहिलो दर्शन थियो। यो सनातनीहरूका धार्मिक दर्शन बन्यो। पछि धर्मसम्बन्धी अनेकौं दर्शनहरू आए। बौद्ध, इस्लाम, इसाईलगायत विभिन्न धार्मिक दर्शन तथा भौतिक दर्शन जन्मिए।
अंग्रेजहरूले सिन्धु घाँटीदेखि उत्तरका हिमालय पर्वतमालासम्मका मानवीय समाजको संस्कृति तथा रहनसहन एकै लागेर हिन्दु धर्म भनेर नामाकरण गरे। वेदान्त दर्शन नमान्नेहरूले हिन्दु दर्शनमा टिकेर शिख दर्शन, बौद्ध दर्शन, जैन दर्शनलगायतका धार्मिक दर्शन जन्माए। यहुदी पश्चिमको पहिलो धार्मिक दर्शन थियो। त्यसका टिकेर इसाई तथा इस्लाम जन्मियो। मानवहरूले केही विकास गर्न थालेपछि एकपछि अर्को गर्दै भौतिक दर्शन जन्माउन थाले। जसमा क्रिश्चियन धर्म र दृष्टिकोणसम्बन्धी दर्शन र दार्शनिक बढी जन्मे। त्यो बेला उद्यमी, व्यवसाय तथा अन्य विषय नरहेको कारण झुन्डझुन्डमा धर्म र भगवान्को मानपदवी बढ्यो।
हालसम्म विश्वमा २० हजार जति दार्शनिक जन्मे। पौराणिक कालखण्डमा बाहेक नेपालमा हालसम्म एक जना पनि दार्शनिक जन्मेको पाइँदैन। भलै हिन्दु वा सनातन धर्मका जन्मदाता वेदव्यास र बौद्ध दर्शनका जन्मदाता गौतम बुद्ध नेपालमा जन्मिएका हुन्। यस विषयमा नेपालका विश्वविद्यालय निकम्मा रहे। जबसम्म विश्वविद्यालयले वैज्ञानिक, विज्ञ तथा दार्शनिक उत्पादन गर्न सक्दैन, तबसम्म हामी पिछलग्गु बन्छौं। दर्शन भनेको सोच तथा विचारको सैद्धान्तिक दस्तावेज हो। हामीले सोच्न, विचार गर्न तथा चिन्तन गर्न अरूको सहायता लिनुपर्छ। तब के हामीले निर्णय लिन सक्छौं ? त्यसैले नेपालमा नेपालकै भूगोल तथा अवस्थासम्बन्धी दर्शन चाहिन्छ। यसो गर्न अरू कुनै दर्शनको सहायता लिएर अनुकूलताको हिसाबले परिमार्जन गरिन्छ।
दर्शन एमफिल गर्दा र पीएचडी गर्दा पढिन्छ तथा पढाइन्छ। बाँकी जसले बुझ्ने गर्छ, उसले स्वअध्ययन गर्छ। सामान्य अध्ययन गर्दा दर्शन बुझिन्न। यसको प्रयोग गर्नुपर्छ। कम्युनिस्ट भन्नेबित्तिकै उद्योग मोडल, व्यवस्था मोडल, विकास मोडलसहित सूक्ष्म र श्रमिकको हितमा रहनुपर्छ। नीतिगत र सैद्धान्तिक निर्णयबाट बाहिर जानु हुँदैन। कि यिनमा यी गुण छन् र ? कम्युनिज्ममा श्रमिक वर्गको महान् इज्जत हुन्छ। सम्मान हुन्छ। श्रमजीविको हकहितका लागि पार्टी निर्माण हुन्छ। सामान्य विषय अपनाउन नसक्ने नास्तिक मानिन्छ। अतः सबै दर्शन तथा शास्त्र ठाउँ, अवस्था, परिवेश, समय र कालखण्डमा अब्बल छन्। नेपालका लागि कस्तो चाहिन्छ ? सवालका जवाफ खोज्ने कि ?