रेसुंगा र अर्जुन वनमा भीषण आगलागी, तम्घासका बस्तीहरू उच्च जोखिममा
गुल्मी : गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा र अर्जुन वनमा भीषण आगलागी भएको छ। शनिबार दिउँसोदेखि रेसुंगा र अर्जुनका वनमा आगलागी भएको थियो। तीनै तहका सुरक्षाकर्मी, स्थानीयद्वारा दमकलको सहयोगमा आगो केही नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
प्रवक्ता पोखरेलका अनुसार राति पुनः रेसुंगा र अर्जुन वनमा एक्कासि हावाहुरीसहित भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि अर्जुनमा दमकल, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय लागि परेका छन् भने रेसुंगामा सुरक्षाकर्मी र स्थानीयको पहल आगो नियन्त्रणमा ल्याउने काम भएको छ।
हावाहुरीसहित भएको आगलागी अहिले नियन्त्रणभन्दा बाहिर छ। जिल्लामा एउटामात्रै दमकल भएको र सबै ठाउँमा नपुग्ने भएकाले आगो निभाउन थप समस्या देखिएको प्रहरीले जनाएको छ। भीषण आगलागीका कारण सदरमुकाम तम्घास नजिकका बस्तीहरू उच्च जोखिममा छन्। आगो नियन्त्रणमा ल्याउनका लागि स्थानीय र तम्घास बजारवासीलाई आगो नियन्त्रणमा जुट्नसमेत प्रशासनले अनुरोध गरेको छ।