बझाङमा कांग्रेसले लियो अग्रता
बझाङ : बझाङमा भएको प्रदेश सभाको बझाङ–१ (क) उपनिर्वाचनको मतगणना जारी छ। हाल चारवटा पालिका र एक वडाको मतगणना सम्पन्न भएको छ।
बझाङमा ३ पालिका र एक वडासम्म अग्रता कायम राखेको नेकपा एमालेलाई नेपाली कांग्रेसले पछाडि पारेको छ। छबिसपाथिभेरा, खप्तडछान्ना, थलारा गाउँपालिका ९ र जयपृथ्वी नगरपालिकासम्म आइपुग्दासम्म अग्रता कायम राखेको एमालेलाई नेपाली कांग्रेसले सुर्मा गाउँपालिकाको सबै वडाको मतगणना हुँदा २६४ मतले पछि पारेको हो।
सुर्माको मत गणना सकिदा बझाङमा नेपाली कांग्रेसले ७ हजार ४९२, नेकपा एमालेले ७ हजार २२८, नेकपा माओवादी केन्द्रले २ हजार ८९५, नेकपा एकीकृत समाजवादीले २ हजार १०२, राप्रपले १८१ मत पाउन सफल छन्।
अहिले मष्टा गाउँपालिकाको मतगणना भइरहेको छ। अब मष्टा, तल्कोट र साइपाल गाउँपालिकाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर हुने देखिएको छ। नेकपा एमाललेले आफूलाई मष्टा र तल्कोटमा अगाडि जाने दाबी गर्दै आएको छ भने नेपाली कांग्रेसले साइपाल र मष्टामा आफूले अग्रता लिने दाबी गरेको छ।