ड्र्यागन खेतीमा आकर्षण
रामेछाप : पछिल्लो समय किसानहरूमा ड्र्यागन खेतीमा आकर्षण बढ्न थालेको छ। रामेछापमा केही वर्षअघि छिटफुट सुरु भएको ड्र्यागन व्यावसायिक रूपमा नै खेती बढ्न थालेको हो। केही व्यक्तिले भने घरको छतमा र खाली रहेको जमिनमा समेत खेती गर्न थालेका छन्।
रामेछाप जिल्लामा सञ्जय शाहीले झन्डै तीन रोपनी जग्गामा व्यावसायिक ड्यागनको खेती सुरु गरेका छन्। मन्थली नगरपालिका –५ सुनारपानीमा भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर शाहीले नमुना नर्सरीका साथै ड्यागन खेती सुरु गरेका हुन्। जम्मा ६ रोपनी क्षेत्रफलध्ये शाहीले ३ रोपनीमा ड्यागन खेती र ३ रोपनीमा आधुनिक एवं नमुना नर्सरी सञ्चालन सुरु गरेका हुन्।
प्राविधिक अध्ययनका लागि विदेश गएको छोरालाई समेत उनले नेपाल बोलाएर यसमै लगाएका छन्। उनले ड्यागन खेतीबाट मात्रै वार्षिक १५ लाख आम्दानी हुने अनुमान गरेका छन्।
- कृषक सञ्जय शाहीले बिदेसिएको छोरालाई बोलाएर लगाए खेतीमा
- ड्र्यागन खेतीबाट मात्रै वार्षिक १५ लाख आम्दानी हुने अनुमान
जिल्लामा फलफूलका विरुवाको आयात बढिरहेको बेला शाहीले आयात रोक्ने र निर्यातमा वृद्धि गर्ने उद्देश्यले ड्यागन बिरुवासमेत उत्पादन गरिरहेको बताए। उनले प्रतिबिरुवा २ सय रुपैयाँका दरले खरिद गरेर उत्पादन गरेको बिरुवा १ सयका दरले किसानलाई बिक्रीसमेत गर्छन्।
शाहीले सञ्चालन गरेको नर्सरीमा अत्याधुनिक उपकरणसमेत जडान गरिएको छ। अत्यधिक तापक्रम बढेको बेला कुलर फ्यान र सिँचाइको लागि विद्युतीय फोहोरासमेत जडान गरेका छन्। उनले नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
कार्यान्वयन इकाइ रामेछापको ५ लाख अनुदान सहयोग र व्यक्तिगत ८ लाख गरी १३ लाखको लगानीमा उक्त नर्सरी सञ्चालन गरेका हुन्। उनी भन्छन्, एक घर एक ड्यागन खेती भन्ने उद्देश्यले चाँडै नै मन्थली नगरपालिका वडा नं ५ का ५ सय घरधुरीलाई एउटा बिरुवा ड्यागन फुड्स बिरुवा निःशुल्क वितरण गर्ने योजना छ।’