साङ्मोको स्कुले उमेर, वनपाखा र मेलापातमै
गोरखा : मुलुकका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसक्यो। तर, चुमनुब्री ५ बिही, ह्युल्छुङकी कर्मा साङ्मो भने वनमा निगालो बोकिरहेकी थिइन्। पढ्ने, लेख्ने उमेरमा कर्मा भने गाईवस्तुको गोठालो जाने र घाँसदाउराको जोहो गरिरहेकी छिन्। त्यसो त गोरखा पूर्णसाक्षरता घाोषणा भएको जिल्ला हो। पाँच वर्षभन्दा धेरै भइसक्यो, यस्तो घोषणा भएको। तर, दुर्गम गाउँका अवस्था भने भिन्न छन्। कर्माजस्ता सयौं बालबालिका स्कुल जान पाएका छैनन्। घरायसी कामधन्दा र मेलापातमै स्कुले जीवन बिताइरहेका छन्।
कर्मा १४ वर्ष लागिन। हिजोआज गाउँकै पाखा पखेरामा मेलापात गरिरहेको भेटिन्छिन्। सिजनअनुसार कहिले मेलापात त कहिले गोठालो गर्दै जीवन बितिरहेको छ। दाउराघाँस गरेर जोहो गरिरहेकी छिन्। उनले स्कुल पढ्न छाडेको दुई वर्ष भयो। लामा गुरु ‘स्पोन्सर’ पाएपछि उनि काठमाडौं फर्पिङ गुम्बामा पढ्न गइन्। ६ कक्षा पढ्दापढ्दै घरायसी बाध्यताले स्कुल छुटायो। ‘पढ्न छोड्दे, घरमा आइज भनेर बुबाआमाले सधंै बोलाइरहन्थ्यो’, केही दिनअघि वनमा निगालो काटेर ओसार्दै गर्दै भेटिएकी उनी भन्छिन्, ‘पढ्न मन त लाग्छ नि, तर घरको मान्छेले नदिएपछि के गर्ने त ?’ स्कुलै भर्ना नभएका र, कोही पढ्दा पढ्दै बीचैमा छोडेका साथीसंगीको संख्या गाउँमा धेरै नै भएको उनको भनाइ छ।
कर्मा साङ्मो मात्र होइन, उनकी १० वर्षकी बहिनी छेदेन धिकीले पनि स्कुल भर्ना हुन पाइनन्। घरायसी काममा नै छेदेनको दिन बितिरहेको छ। अर्की एउटी दिदी छिरिङ ङामोले सात कक्षासम्म पढेर छोडिन्। बिहे गरेर घरजम गर्न थालिसकिन्। ‘अर्को दिदीले त कत्ति पनि पढेन। उ पनि बिहे गरेर गइसक्यो’, उनले भनिन्।
बिही गाउँकै पासाङ डोमा यो फागुनले आठ पूरा भएर नौ वर्ष लागिन्। उनलाई स्कुल पढ्ने औधी मन छ। उनका १० बर्षका दाइ तेञ्जिङ छ्योक्याल ल्हो मावि स्यालामा पढ्छन्। अर्को दाइ सेराङ स्कुल पढ्छन्। उनलाई चाहिँ सेराङमा होइन, स्याला स्कूल पढ्ने ठूलो रहर छ। घरमा बस्दा पनि प्रायः उनी ठूलो वर्णमाला किताब हेरेर बस्छिन्। तर, उनलाई अक्षर पढ्न त परको कुरा, नेपाली भाषा बुझ्न र बोल्न पनि आउँदैन।
दाइलाई जस्तै आफूलाई पनि यो वर्ष त स्कूल पठाउँछन् कि भन्ने रहर पालेर बसेको धेरै भयो, तर उनलाई स्कुल भर्ना गर्ने बारे घरमा कहिल्यै चर्चा चलेको सुनिनन्। तीन दाजुभाइपछिकी एउटा छोरी पासाङ, खेल्न, बोल्न निकै टाठी र फुर्तिली छिन्। उनको अन्तर्निहित क्षमता वर्णमाला किताबमै सीमित भइरहेको छ।
‘छोरी हो के यो। स्कूल हाल्ने ठाउँ नै पाउँदैन। पैसा छैन’, उनका बुबा दोर्जे छेवाङ भन्छन्, ‘सेराङ नजाने, स्याला जान्छु भन्छ। स्याला पठाउन नि गाह्रो छ। बर्खामा स्याला पु¥याउनुपर्छ। एकदिनभरि हिँड्नुपर्छ। हिउँदमा कोखेटार पु¥याउनुपर्छ। त्यहाँ जान आउन तीन दिन लाग्छ। ल्याउन, पु¥याउन खर्च चाहियो। पैसा छैन।’ ल्हो मावि स्याला चिसो छल्न मंसिरदेखि चैतसम्म आरुघाट गाउँपालिका ३ कोखेटारमा सञ्चालन हुन्छ भने बर्खाका बेला स्यालामा सञ्चालन हुन्छ।
सेराङ आधारभूत विद्यालय पनि जाडो महिनामा बिही गाउँमा सञ्चालन हुन्छ, बर्खा महिनामा सेराङगुम्बामा सञ्चालन हुन्छ। सेराङ पुग्न पनि सात, आठ घण्टा लाग्ने उनको भनाइ छ।
‘पासाङ, स्कूल नजाने ? किन स्कुल नगा’को ?’
‘स्याला’, सोधेको कुरा बुझ्दै नबुझी उनले पढ्न मन लागेको स्कुलको नाम मात्र लिइन्।
स्याला पढ्ने तीब्र धोको घरआँगनमै धुलौटो कोरेर र ठूलोवर्णमाला हेरेर समाप्त हुने क्रममा छ।