गरिबको चमेली रोइदिने कोही छैन...
काठमाडौं : कोही किन गरिब हुन्छन् ? किन नदी किनारमा सुकुमबासी जीवन बाँच्छन् ? कारण अनेक छन्। दुर्घटनामा परेका एक मात्र जीवनका साहारा २५ वर्षीय छोरो अनिलको उपचार गराउँदा ४९ वर्षीया कमलकुमारी वाजी लिम्बु सुकुमबासी भएकी छिन्। त्यसमाथि छोरो उपचार गराउन पति वैदेशिक रोजगारीमा जाँदा उनका पति धनबहादुर राई पटक–पटक ठगिए। यसैले गर्दा कमलाको परिवारको बास खोला किनारमा पुगेको हो।
३५ लाख ऋणको भारी बोकेर बाँचिरहेकी छिन् कमल। साहुको ऋण तिर्न विदेश पुगेका उनका श्रीमान्ले पनि कमाउन नसकेर फर्किएका छन्। भाइलाई उपचार गराउन कमाउन गएकी माइली गुना भने अनुसारको काम र दाम पाउन सकेकी छैन। यता कमला काठमाडौंको मनोहरा खोला किनारमा ढुंगा बोकेर जीवन चलाइरहेकी छिन्। नगरपालिकाले त्यो खोला किनारबाट पनि लखेट्न सूचना लिएर आउँछ। अब कमलाई कहाँ जाने ? ठेगान छैन।
२०७१ मा भएको सवारी दुर्घटना उनको छोरो गम्भीर घाइते भए। उनी चिच्याउँछन्, हाँस्छन् तर बोल्दैनन्। उनी थला परेको ९ वर्ष भयो। उनले अरूको साहारामा सास फेर्नु परेको छ। दुःखै, दुःखमा परेकी कमलाले सहन नसकेर आत्महत्याको प्रयास पनि नगरेका होइनन्। तर, बुढी आमाको मुख हेरर बाँच्ची रहेकी छिन् काठमाडौं–३२ जडीबुटीस्थित मनोहरा खोला किनारमा साहारा खोजिरहेकी कमला कुमारी वाजीसँग उनको गरिबी जीवन, संघर्ष, अपेक्षाबारे अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी सम्पादित अंश प्रस्तुत छ :
तपाईंको नाम के हो ?
कमलकुमारी वाजी लिम्बु
तपाईंको उमेर ?
म ३१ साले हो। त्यस्तै ५० पुग्दो होला।
घर ?
मेरो घर र जग्गा नै छैन। अहिले जडीबुटी–३२ को मनोहरा खोला किनारमा बस्छु। हामी त बाध्यताले सुकुमबासी भयो। कर्म नै यस्तो भयो, के गर्ने।
कसरी सुकुमबासी हुनुभयो ?
पहिला पतिलाई विदेश पठाइदिने भन्दै एजेन्टले ठग्यो। श्रीमान्लाई विदेश पठाउन साहुसँग ऋण लिएर दिएको थिएँ। वैदेशिक रोजगारीमा धेरैपटक हामी ठगियौं। त्यसपछि छोरो सवारी दुर्घटनामा परे। उपचार गर्नुपर्यो। यी सबै कारणले हाम्रो सबै जम्मै जग्गा बिक्री भयो। लाखौं खर्च गरे पनि छोरो ओछ्यानबाट उठेर हिँड्दैन। बोल्दैन। उसलाई उपचार गर्न सहयोगी मान्छे खोज्दै छु।
छोरो कसरी दुर्घटनामा पर्यो ?
२०७१ मंसिर ४ गते बिहीबारको दिन। पहाडमा काकाको छोरो बिहे थियो। निम्तो थियो। म बिहानै बाटो लागे। छोरोको ५ बजे टियुसन थियो। उभो(स्कुलतिर) लाग्नुपर्नेमा छोरो साथीसँग उधो(बजार) तिर लागे। बाइक बनाउन गएको थियो रे भन्थ्यो। अनि एक्सिडेन्टमा परे।
छोरो दुर्घटनामा परेको कसरी थाहा पाउनुभयो ?
गाडीमै हुँदा फोन आयो, ‘छोरो एक्सिडेन्टमा पर्यो।’ म पत्याइन्। फेरि छोरीले नि फोन गरिन्। अनि बिहेमा नगई बाटोबाटै फर्के।
कसरी दुर्घटना भयो ?
त्यो भगवन्ले जानोस्। उसको बोली नै छैन, कसरी सोध्ने ? बोली नै हरायो। पुलिसले उठाएर हस्पिटल ल्यायो। विराटनगर न्युरोमा लग्यो। एम्बुलेन्समा छोरालाई देखँे।
कस्तो हालत थियो ?
मेरो छोरो छ, छैन, हात छाम्छु, कहीँ केही छैन। आँखा देख्दैन। कोखामा तातो थियो। एक मुठ्ठी सास बाँकी थियो कि के, एक्कासि मुखबाट माटो र धुक्का फाल्दै फिज काड्यो। ल अब मेरो छोरो सकेछ। रोएँ। छोरोलाई बचाइ देऊ, भगवान्, भगवन् जप्दै गयौं।
कहाँ जानुभयो ?
अस्पताल। विराटनगर न्युरो। विराटनगर पुग्न पनि काठमाडौंभन्दा टाढो भयो। न्युरोमा भर्ना भयो। त्यो दिन आइस्वीमा पस्न दिएन। भोलिपल्ट मैले आफ्नै छोरोलाई चिन्न सकिनँ। टाउको र जीउ फुलिएर मेरो छोरो होइन किन लाग्यो। नर्सले तपाईँकै छोरो हो। ८ नम्बर बेडकै हो। मैले भने त्यो बेडबाट हटाउनुस्।
बेडबाट हटाउन किन भन्नुभयो ?
१२ र ८ ले पर्छ। त्यसैले। भोलिपल्ट ९ नम्बरमा बेर्डमा सारिदियो। २४ दिन आईसीयूमा राखे। दिनको १६ हजार लाग्थ्यो। खर्च अभाव भयो।
त्यो बेला कसरी खर्च जुटाउनुभयो ?
धन्न उसको बाउ(धनबहादुर राई) रसियामा छिर्नुभयो। स्काफोल्डरको काममा। छोरो दुर्घटना भएको १२ दिनपछि नै उहाँ विदेश उड्नुभयो। उनले त्यहाँबाट कमाएर पठाउनुहुन्थ्यो। यहाँ मैले छोराको उपचार गराउँथेँ। महिनाको ढेड लाख कमाउनुहुन्थ्यो। त्यो सबै खर्च नानीको उपचारमा खर्च हुन्थ्यो। उहाँ गएको एक वर्षपछि नै कम्पनीले फर्काइदियो।
उपचार गर्न त कठिनै परे होला ?
त्यसअघि श्रीमान्को अंशमा परेको दुई कठ्ठा १३ धुर जग्गा परेको थियो। त्यो जग्गा बेचियो। जे होस् त्यो बेला २ लाख आएको थियो त्या जग्गाबाट। त्यो पैसाले पनि नानीको उपचार गरियो। पछि यिनै कारणले मेरो आमाको १ विघा ओइलानी र १० कट्टा नम्बरी पनि बिक्री भयो।
अस्पालमै कति समय भर्ना गर्नु पर्यो ?
११ महिना अस्पतालकै बेडमा राखियो। ऋण कति भयो, भयो, जग्गा सप्पै बिक्री भयो।
कसरी बिक्री भयो जग्गाहरू ?
छोरो दुर्घटना हुनुभन्दा पहिला नै श्रीमान्लाई विदेश पठाइदिने भन्दै ८ लाख खाइदियो। २०५८ सालमा इराक पठाइदिने भन्दै साढे ३ लाख खाइदियो। २०७० सालमा मलेसियाको सीपमा पठाइदिने भन्दै एजेन्टले ढेड लाख लियो। राम्रो कमाई हुन्छ। आफूलाई ऋण तिर्नु छ भनेर कर्जा गरे एजेन्टलाई दिएँ। श्रीमान्लाई मलेसिया उडायो। पहिलोपटक २२ हजार पठाउनुभयो। त्यसपछि कमाई भएन। उहाँलाई भात खान त मुस्किलले दिन्थ्यो। १ वर्षमा उहाँ फर्केर आउनुभयो। फेरि छोरोको उपचारका लागि पैसा जोहो गर्न अजात भिसामा श्रीमान् कतार जानुभयो। एजेन्टले महिनाको एक लाख ढेड लाख कहीँ जाँदैन भन्थेँ। २ लाख ५० हजारमा लियो। उडायो। २०७३ सालमा गएको थियो। त्यहाँ पनि कमाइ भएन। विदेश जान साहुँग लिएको ऋण तिर्दा पनि जग्गा नै बिक्री गर्नु पर्यो।
केही उपाय लागेन ?
उता विदेशमा पटक–पटक श्रीमान् फस्यो। ठगीमा परे। गाउँमा बसी नसक्नुभयो। छोरोको पनि इलाज गर्नु पर्यो। श्रीमान्ले पनि पैसा पठाउँदैन। कोही, कोहीले भन्यो काठमाडौंका युटुभरलाई भन्यो भने उपचारका लागि सहयोग पाइन्छ रे !
अनि काठमाडौं आउनुभयो ?
उनीहरूलाई कुन ढंगले, कसरी, कहाँ भेट्ने ? पत्रकार कहाँ भेट्ने ? लु म छोरोलाई उपचार गर्न छोरोलाई घरमै छोडे गाउँबाट काठमाडौं लागे। यो कुरो २०७४ सालको कुरो हो।
काठमाडौंमा कसैलाई चिन्नुभएको थियो त्यो बेला ?
अँ चिनेको थिए। हाम्रो गाउँको दुई भाइ थिए कार्की र दाहाल थरको।
अनि यहाँ आएपछि युटुभर भेट्नुभयो ?
भेटिएन। पछि भेटे पनि हाम्रो दुःखको कुरो बोलिदिएन।
अनि के गर्नुभयो ?
बुढा विदेश गएको यस्तै भयो। कोटेश्वरमा हाम्रो गाउँको दुई जनाले गेष्ट हाउस खोलेको थियो। उनीहरूले त्यहीको कमाईले जग्गा जोड्यो। ऋण तिरो। अनि मलाई पनि ऋण तिर्नु थियो। छोरोको उपचार गर्नु थियो। कोटेश्वरमा भेटिएकी हाम्रै गाउँको निरौलाकी बुहारीले मिलेर केही गरौं भन्यो। नहुनेलाई कहीँ पनि नहुँदो रहेछ। त्योसँग मिलेर व्यापार नगर्नु भनेर एक जना लिम्बुनी बजैले भन्यो, ‘बरु म र तिमी मिलेर गरौं।’
बज्जैलाई कसरी पत्याउनुभयो ?
बज्जैसँग ५० हजार पैसा रहेछ। अनि उसले बोलेको बोलीलाई मैले पत्याए। अर्काले बिगार्छ भनेर लिम्बुनी बजैतिरै लागे। नहुने मतिलाई छुँदा त्यस्तो हुन्छ। बजैसँग मिलेर कोटेश्वरमा पूर्वेली खाजा घर गर्ने भयौं।
लगानी कसरी जुटाउनुभयो ?
२०७४ सालमा पिँजडा भन्ने कानमा सुनको टप थियो, त्यो बेचे। ३५ हजार आयो। त्यही पैसा लगानी गरँे। त्यहाँको सर्टमा राम्रो व्यपार हुने। बजैलाई भनेको थिए, ‘भोली छोड्दा पनि मचाहिँ जादिनँ यो ठाउँ छोडेर। म नयाँ मान्छे तपाईं भनेको यहाँ धेरै चिनिएको मान्छे।’ उहाँले जानै परे, मैई जान्छु, तैं बसेर पसल गर्नु। यसो कुरो भएको। पछि जति बिकेको (व्यापार) सप्पै उसैले (लिम्बुनी) राख्ने।(रिसाउँदै)
तपाईंले कहीँ खुसी पाउनुभएन ?
त्यसपछि उनीसँग हामी खाजा पसल नगर्ने पक्षमा गयौं। फाल्टै गरौं। विथामा अब झन् राम्रो हुनेभयो। त्यो बेलासम्म मेरो श्रीमान् विदेशबाट आइसक्नुभएको थियो।
के सल्लाह भयो श्रीमान्सँग ?
लु अब हामी सेकुवा कर्नर खोलुमु भन्ने सल्लाह भयो। पुरानो ठाउँबाट छुटिदा लिम्बुनी बज्जैले ५५ हजार दिएर निकाली दियो। त्यो पैसा थियो साथमा। त्यसपछि जटिबुटीमा धराने कालो बंगुर सेकुवा कर्नर राख्यौं।
आम्दानी त राम्रै भयो ?
दिनको २०÷२५ हजार व्यापार हुन थाल्यो। नजिकैको छाप्रोमा बस्थ्यौं। अनि श्रीमान्ले छोरोलाई लिएर गाउँको घर जानुभयो। यतिको दोकान चलेपछि छोरोलाई पालिन्छ। उपचार गरिन्छ। खुवाइन्छ। भडा पनि तिरिन्छ। गाउँबाट छोरो पनि काठमाडौं ल्यायौं। धेरै मान्छेले भन्यो भीडभाडमा छोरो निकाल्दा झट्ट होस् आउँछ। अनि निकाल्न थाले। त्यही छोरोलाई सुम्मसुमाइयो, हेरियो। भगवान् छन् मेरो छोरोलाई केही हुन्छ भन्दै कामना गर्थें। तर, सेकुवा कर्नरको व्यपार घट्दै गयो।
किन व्यपार घट्यो ?
छोरोको र्याल र सिंगान आउँछ। छोरोलाई पसलमै राखेर काम गर्नुपथ्र्याे। त्यसले ग्राहकहरू घिनायो। मलाई पो घिन लाग्दैन मेरो बच्चा छ। अरूलाई त घिन नलाग्ने कुरो हुँदैन। दोकान सुक्दै गयो। कमिनी साथी एकदिन फर्सीको मुन्टा बेच्दै गइरहेको थिए। उसले भन्यो अब पसल चल्दैन कसरी बस्छेस् ? कसरी भाडा तिर्छस् ?
उसलाई के जवाफ दिनुभयो ?
अब दोकान नचल्ने भएपछि बेच्ने भयौं। पहिला पाँच लाखमै जान्थ्यो पसल। पछि त व्यापार घट्दा पसलको मोल घट्यो। ३ लाख ८० मा बिक्री गर्यौं। किन्नले २ लाख दियो। १ लाख ८० हजार उसले पनि नतिरेरै भाग्यो। त्यो पैसा पनि डुब्यो। समस्या र दुःखी भएको बेला भगवान्ले पनि साथ दिँदैन।
केही उपाय लागेन है ?
उपाय त खोजेको खोजै गर्यौ नि ! अनि हामीले बास खोज्न थाल्यो। जडीबुटीको मनोहरा खोला किनारमा चार लाखमा चर्चेको ठाउँ किन्यौं। त्यसपछि हामी बुढाबूढी ज्यामी काम गर्न थाल्यौ–बालुवा–गिट्टी बोक्न थाल्यौं। चार पाँच तल्लामा भारी बोकेर चढ्नु थाल्यौं।
ज्याला राम्रै हुन्थ्यो ?
के राम्रो हुनु। बिहानदेखि रातिसम्म काम गर्दा सात सय दिन्थ्यौं। तीन वर्ष यो काम गर्यौं। त्यहाँ पनि हामीलाई दलेले दल्यो। ज्यामीले छोरोको उपचार नहुने भयो। श्रीमान् र छोरीलाई विदेश पठाए।
उनीहरूको हालत के छ ?
श्रीमान् विदेश गएको दुई वर्ष फर्किको छ। श्रीमान् साउदी जानुभएको थियो। माइली छोरी गुना राई दुबईमा छिन्। त्यहाँ पनि कमाई छैन। अलि–अलि कमाएर पठाएको साहुलाई ऋण तिर्नै पुग्दैन। श्रीमान् बैदेसिक रोजगारीमा ठगिँदै आउनुभएको छ।
छोरो उपचार गर्दासम्म अहिले कति ऋण लाग्यो ?
३०÷३५ लाख रुपैयाँ ऋण छ। साहुहरूले तँलाई गुण्डा लगाएर मार्छु भन्छन्। साहुले लु, गुण्डा लगाएर मार्छ भने उसले दिएको पैसा त पाउँदैन होली नि !
बाँच्नै कठिन बन्यो है ?
साहुले कराएपछि अ केही सीप नलाग्ने भयो। आत्महत्या गरुम् भनेर मनमा आयो। तर, बाटोबाट फर्के।
कसले फर्कायो त्यो मृत्युको मुखबाट ?
८५ वर्षीय आमा हुनुहुन्छ। म मरेपछि कसले हेर्छ। लास्टमा आमाकै मुख हेरेर फर्के। छोरो पनि हिँड्दैन। मैले के पाप गरे ? थाहा छैन। चारै तिरबाट दुःखै दुःख छ। साहुले पनि राम्रो मनले हामीलाई ऋण दिनुभयो ? मैले उहाँहरूलाई राम्रो मनले फर्काउनु पर्थियो। तर, समयले कतै पनि साथ दिएन। छोरोको उपचार गर्दा र श्रीमान्लाई कमाउन विदेश पठाउँदा घरजग्गा सबै सक्यो। छोरोलाई डेनमार्क लगेर उपचार गराउने नाममा एक जनाले पैसा खाइदियो। खाजा पसल गर्दा पनि लगानी उठेन। अब ज्यान बाहेक मसँग केही छैन सम्पत्ति। के गरुँ। अब यसरी कति दिन बस्ने ?
तनावै तनाव छ।
छोरोको हालत अहिले के छ ?
थाला परेको ९ वर्ष भयो। छोरो दुर्घटनामा परेपछि हराएको बोली फर्किएको छैन। दिसापिसाब एकै ठाउँमा गर्छ। हिँड्न सक्दैन। के भयो–भयो। छोरो बोल्छ, हिँड्छ भनेर जसले जहाँ भन्छ त्यही कुदाउँछु। यता डाक्टर सुन्छु यतै कुदाउँछु, उता वैध, धामीझाँक्रीलाई देखाउँछु। जबसम्म छोरो ठीक हुँदैन तबसम्म छोरोलाई उपचार त गर्ने पर्छ। राति १२ बजे विशाल बजारको काल भैरवमा पनि लान्छु। भगवान् छ, राम्रो भइहाल्छ भनेर। तर केही हँुदैन।
जस्ताको त्यस्तै।
छोरोको उपचार, वैदेशिक रोगजारीमा हुने ठगीले तपाईंको जीवन काठमाडौं आएर सुकुमबासी बन्यो। यस अघि पहिलाको बसोबास कहाँ थियो ?
मिकलाजुग गाउँपालिका–८ मधुमल्ला मोरङ।
तपाईंको जन्म त्यही भयो ?
होइन्, पहाड पाँचथर, दुरदिम्बा–७ सामचा। मोरङ मेरो विवाह गरेर आएको घर हो।
तपाईं कति भाइबहिनी।
मेरो दिदी अमृता हुनुहुनथ्यो, खस्नुभयो। अहिले म एकलै छु।
कसरीे बित्नुभयो ?
०४२÷०४३ साल तिरको कुरो हो, म सानै थिए। अलि–अलि मात्रै याद छ। हामी पहाड–तराई आउजाउ गर्थियौं। दिदी पाँचथरको पहाडमै बोजी(हजुरआमा)संग बस्नुहुनुहुन्थ्यो। ज्वरो आइरहेको बेलामा निमुनिया भयो। उहाँलाई १७ वर्षमै रोग खायो। विवाह पनि भएको थिएन।
तपाईंहरू तराईमा बस्नु हुन्थ्यो, पहाडमा बसेको दिदी बितेको कसरी थाहा भयो ?
त्यो बेला फोनसोन केही थिएन। पहाडबाट गाई बेच्न तराई आउनेहरूले बुवालाई खबर दिए। सुनाए, तेरो छोरी बिरामी पर्यो। बुवा, म, मामा हिँडेर गयौं। बिहानै हिँड्दा अबेर राति पुग्यौं।
किन अबेर राति भयो ?
मिकलुकको उकालो बाटोमा मै बिरामी भएँ। ज्वरो लागेर म लठ्ठै बिरामी भए। मधेसमा भएको आमा पनि बिरामी पर्नुभयो। आमालाई पनि डोकोमा बोकेर पहाड ल्याइयो। तर, आमाले दिदीको लास भेट्नु भएन। दिदीलाई दाहसंस्कार गर्न जंगल पुर्याइसकेको रहेछ। उता दिदी बितेको पीडा यता आमा छोरी बिरामी भयौं।
पहाड र मधेस दुवैतिर बसाइ किन ?
तल जग्गा थोरै, फेरि माथि पनि जग्गा भएको। हिउँदमा पहाडबाट गाईवस्तु तल झर्थियौं। १०÷११ वटा गाईवस्तु थियो। चैतपछि फेरि पहाड लान्थ्यौं। दुई हल गोरु जात्ने चलन थियो। दुई हल गोरु अनिवार्य हुन्थ्यो। मैत गोरु जोत्थेँ।
त्यो बेला महिलाले हलो जोत्ने चलन त थिएन ?
मलाई अहिले पनि चामल केलाउन आउँदैन बरु गोरु जोत्न आउँछ। त्यति खेर बुवा र म एक हल गोरु जात्थ्यौं।
कति उमेरको हुँदा हलो जोत्न थाल्नुभयो ?
मैले २०४५ सालको भूकम्प देखेको छु। त्यो बेला त्यस्तै म १६ वर्षको थिए। पहाडमा धेरै दुःख थियो। त्यही भएर बुवा पहाडबाट मावली गाउँ तराई झर्नुभएको थियो। दिदी पनि पहाडमा बित्नुभयो। त्यसैले बुवाको चित्त दुःख्यो होला। सप्पै त मलाई थाहै छैन।
तपाईं स्कुल जान पाउनुभयो ?
गएँ। कक्षा ९ पढ्थेँ। अनि हलो जोत्थेँ। पत्रिकामा यो कुरा छापियो भने देख्ने छिमेकीहरूले यसले गरेकै हो भनेर भन्छ।
एसएलसी पास गर्नुभयो ?
गरिनँ, मैले एसएलसी फेल गरेँ।
किन ?
मेरो आँखै कमजोरी। सरहरूले प्रश्न भनी दिदाँ उत्तर आउने। नत्र के हो, के हो नि ? आँखाले नदेखेपछि त ? उत्तर के दिने। परीक्षा हलमा सरहरूबाट सहयोग पाइन्। पत्रिका पढ्न सक्दिन, मोबाइलमा रिचार्ज पनि हाल्न सक्दिनँ।
कति सालको एसएलसी हो ?
२०४८ सालको (औंला गन्दै)
कतिवटा विषय लाग्यो ?
चारवटामा फेल भए। हिसाब, इग्लिस, अर्थशास्त्र अनि विज्ञान।
आँखाले फेल गरायो हैई ?
हो नि ! फेल भएपछि पढ्न मन मर्यो।
कसरी विवाह भयो ?
२०५० सालमा बिहे भयो। देख्दै न देखेको मान्छेसँग विवाह भयो। गाउँमै विवाह भयो, मोरङको शिसौलीमा।अनि श्रीमान्को नाम धनबहादुर राई हो। के भयो भने नि (हाँस्दै) जग्गा भनेको एक–ढेड बिघा जति थियो होला। केटो ब्रिटिस लाहुरे भिर्न आँटेको। काकाले बिहे गर्दा हुन्छ भनेर बुवालाई फकाउनुभयो। अनि उहाँसँगै बिहे भयो।
उहाँ लाहुर जानुभयो ?
कहाँ जानु, त्यतिकै बस्नुभयो। घरकै दुःख सुखमा अल्झिनुभयो। मिस्त्रीको काम अलि गर्नुहुन्थ्यो। अहिले घर पनि बनाउनु हुन्छ।
विवाहित जीवन कसरी चल्यो ?
२०५२ सालमा जेठी छोरी मुना राई जन्मी। २०५४ सालमा माइली छोरी गुना राई जन्मी। २०५६ सालमा छोरो अनिल जन्मियो। २०५८ जेठमा राजा खसेकै बेला कान्छी छोरी प्रमिला राई जन्मी।
छोरीहरू के गर्दै छिन् ?
मुना बिहे गरेर गई। भाइ सेहार्दा सेहार्दै ऋण धेरै भयो। मैले भनी छोरी गुनालाई भने, ‘तिमी विदेश जाँकी, म जान्छु।’ ऋण दिएकाले छोड्दैन। सबैलाई आफ्नो धनको माया नै हुन्छ। ‘आमा तपार्इं भाइ सेहार्नु। म जान्छु।’ अहिले गुना दुबई गएकी छे। उ गएको पनि पुसमा ३ वर्षमा बढी नै भयो। जेठी र कान्छी छोरीको विवाह भयो।
छोरी विदेश जानुभन्दा अघि के गर्थिन् ?
११ कलास पढ्दै गर्दा दुःखले गर्दा विदेश गई। उपर कटेश्वरको क्याम्पस पढ्थिन्।
अहिले तपाईं के गर्नुहुन्छ ?
जडी बुट्टीमा ढुंगा बोक्छु।
कहाँ लाग्नु हुन्छ ?
ट्रकमा आउँछ। त्यो ढुंगा बोकेर तल झार्छ। १० चक्के टिपरमा ढुंगा आउँछ। त्यसैले चुलो बल्छ।
अन्तमा ?
भगवान् मेरो छोरोलाई निको पारिदियोस्। दुईवटा, तीनवटा होइन्, एउटै छोरो हो। कसले उपचार गराएर निको पारिदिनुहोस्। उहाँलाई म जिन्दगी भरी सम्झिरहने छु।