साहित्यकार बरालको अर्धकदको शालिक अनावरण
काठमाडौं : प्रसिद्ध नेपाली साहित्यकार स्वर्गीय बहादुरसिंह बरालको अर्धकदको शालिक भारतको दारीको भाग्सुस्थित गोरखनाथ मन्दिर परिसरमा अनावरण भएको छ।
तत्कालीन ब्रिटिस इन्डियन आर्मीको पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनका अवकाशप्राप्त सैनिक अधिकृत कप्तान स्वर्गीय बरालको सो मन्दिर उनले सन् १९५५ अप्रिलमा स्थापना गरेका थिए। उक्त शालिक अनावरण कार्यक्रममा ‘गेस्ट अफ अनर’ त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइँटेल र प्रमुख अतिथि पूर्वसांसद दिलकुमारी राई भण्डारी थिए। कार्यक्रमको विशेष अतिथि बिक्रमपाण्डे काजी उपस्थित थिए।
स्वर्गीय बराल वि.सं. १९७० साल पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनमा सोझै कमिसन पाउने गरी जमदार पदमा भर्ती भएका थिए। उनी सुबेदार मेजर पदमा हुँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उनी आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा सरिक भए। सन् १९३५ मा उनी सेवानिवृत्त भएका थिए।
त्यसपछि उनी सन् १९३५–१९३९ सम्म ‘अल इन्डिया गोर्खा एसोसिएसन’ को अध्यक्षका साथै ‘गोर्खा ढोगभेट÷सत्संग प्रचारिणी सभा’ को अध्यक्ष भएर सामाजिक सुधारका कार्यमा सक्रिय भए।
दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उनी पुनः सैनिक सेवामा प्रवेश गरी सन् १९५२ सम्म काम गरे। यस अवधिमा उनलाई ‘मानार्थ कप्तान’ को दज्र्यानी प्रदान गरियो।
उनी ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ र ‘अर्डर अफ ब्रिटिस इन्डिया’ बाट विभूषित थिए। वि.सं. २००७ सालको क्रान्तिका क्रममा उनले बीपी कोइराला लगायतका शीर्ष कांग्रेसी नेताहरूलाई आर्थिक सहयोग गर्थे । सो क्रान्तिको प्रारम्भमा उनी र उनका कान्छा छोरा खड्गजित बराल (पछि नेपाल प्रहरीका आईजीपी तथा म्यानमारका लागि आवासीय नेपाली राजदूत) भारतको बिहारको बैरगनियास्थित बैरगनिया सम्मेलनमा सहभागी भए।
बाल्यकालदेखि गीत गाउन सिपालु भएकाले बहादुरसिंहलाई गोर्खाली पल्टनमा ‘शंखस्वर’ भन्ने गरिन्थ्यो। ‘बरालको आँसु’ उनीद्वारा नेपाली भाषामा रचित गीत, गजल र भजनको संग्रह हो। यस कृतिमा १ सय ६८ वटा रचना छन्। समग्रमा यस कृतिलाई राष्ट्रप्रेम/राष्ट्रिय, सामाजिक–सांस्कृतिक र जातीय जागरण, नीतिवादी औपदेशिक तथा धार्मिक विषयक गीत÷गजल संग्रहका रूपमा लिइन्छ।
बरालको आँसुको अन्तिम संस्करण डा. खगेन्द्रप्रसाद लुइँटेलबाट सम्पादित भई वि.सं. २०६९ मा प्रकाशित भएको थियो।