सिकाइ शैली परिवर्तन कहिले ?
गुरुकुल प्रणालीबाट सिकेकाहरू बुढो पुस्तामा पुगिसकेका छन्। गुरुकुल युगको अन्तपछि क्याम्पस र कलेज प्रवेश गरेकाहरू उमेरले ५० कटेका छन्। तिनीहरू पनि पुरानो पुस्तामा गनिए। ६० को दशकसम्म क्याम्पसका कक्षा कोठामा अटाइनअटाइ विद्यार्थी हुन्थे। पढन रुचि र स्वउत्प्रेरणा हुनेहरू अघिल्लो सिटमा बस्थे। शिक्षकका लेक्चर सुन्थे। शिक्षकले बोलेका कुरालाई कपीमा टिप्थे र आफैं नोट बनाउँथे। पछिल्लो सिटमा बस्नेहरू हल्ला गर्थे, जिस्क्याउँथे र पछिल्लो ढोकाबाट बाहिरिन्थे। क्याम्पसको पढाइमा शिक्षकले कुनै करकाप र रोकतोक गर्दैनथे। स्वतन्त्रताको पढाइ हुन्थ्यो। स्कुलको पढाइमा अनुशासनको डन्डा चलाउन खोजिन्थ्यो। शिक्षकको साथी लठ्ठी हुन्थ्यो। शिक्षकसँगै कक्षामा लठ्ठी पनि जान्थ्यो। विद्यार्थीलाई त्यसले सतर्क गराउथ्यो। शिक्षकले कालो पार्टीमा (अहिले मार्कर र ह्वाइट बोर्डले विस्थापन भयो) लेख्ने वा आफ्नो डायरीमा बनाएको नोट टिपाउथे। यसले कक्षा कोठाको हल्ला नियन्त्रण गर्दथ्यो। विद्यार्थीले त्यही घोकेर परीक्षा पास गर्थे। त्यसलाई सिकाइ भनियो। शिक्षकको त्यो नोट १०आंै वर्ष पुरानो हुन्थ्यो। नोट लेखाउन अल्छी गर्नेहरूले भाषण ठोकेर जान्थे। शिक्षकको स्वर मिठास भएन र विषयवस्तुको सिलसिलेवार मिलेन भने सिकाइ दिक्क लाग्दो हुन्थ्यो। निन्द्रा आउथ्यो। सिकाइका लागि घोक्नु र कण्ठ गर्नुबाहेकको विकल्प हुन्थेन। त्यसैले घोकन्ती विद्या र धाउन्ती खेती भन्ने उखान लोकप्रिय थियो।
एक जना अभिभावक भन्दै थिए मल्टिमिडियाबाट पढाउने विद्यालयमा छोराछोरी भर्ना गर्ने हा ! जमानाअनुसार चल्नै पर्छ। अर्का अभिभावकको फरक धारणा थियो। मल्टिमिडियाबाट पढाउने विद्यालयमा छोराछोरी पढाएको भए पनि एउटा निवेदनसम्म लेख्न जान्दैनन्। के पढ्छ्न र के पढाउँछन् भन्ने गुनासो थियो। अक्षर कुरूप छन्। सामजिकीकरण र घुलमिलनको पाटो ज्यादै कमजोर छ। अरूसँग बोलचाल गर्दैनन्। बोलचाल गर्नुपर्छ भन्ने ठान्दैनन्। यी दुई प्रतिनिधि भनाइले सिकाइका बारेमा धेरै संकेत गर्छन्। सिकाइ शैली माथि प्रश्न खडा गरेको छ। मल्टिमिडिया सबै समस्याको समाधान होइन। केवल सिकाइ प्रभावकारी बनाउने माध्यम हो। मल्टिमिडियाबाट सही ढंगमा सिकाउन सकिएन भने परम्परागत सिकाइभन्दा फरक हुँदैन।
नाम चलेका सार्वजनिक तथा निजी शैक्षिक संस्थाले नयाँ विद्यार्थी आकर्षण गर्न पहिलो बुँदामा मल्टिमिडियाबाट पढाइ हुने लेखेका हुन्छन्। मल्टिमिडिया सर्वसाधारणलाई भ्रम पर्ने सजिलो माध्यम बनेका छन्। अचम्मैको कुरा सिकाउँछ कि क्या हो मल्टिमिडियाले भन्ने बुझ्दछ्न। अभिभावक पनि दंग छोराछोरीले कम्प्युटरबाट पढेका छन् ! राम्रो गरेका छन् ! समयसँगै प्रविधिले फड्को मार्दा हातहातमा मोबाइल र इन्टरनेट पुग्यो। दुनियाँ एउटा मोबाइल र कम्प्युटरभित्र अटेको छ। सबै कुरा त्यसैमा छ। सजिलोमा अति सजिलो भयो। सिकाइको लागि वरदान भयो। तर सिकाउने शैली उन्नत हुन नसक्दा अधिकांश शिक्षकले ज्ञानसँग सम्बन्धित कुरा मल्टिमिडियाबाट देखाउँदा सीप (स्किल) र प्रवृत्ति (एट्टिच्युड) विकास हुन सकेनन्। सहरी क्षेत्रमा ६० को दशकपछि प्रोजेक्टरमार्फत मल्टिमिडियाको प्रयोग गरेर पढाउन थालेता पनि ग्रामीण क्षेत्रमा ठाउँ हेरेर यो प्रणाली पुग्दैछ। कतै किताब पढाउने, भाषण सुनाउने र नोट लेखाउने परम्परा कायम छ। शिक्षकहरूले मल्टिमिडिया प्रयोग गरे पनि अतिरिक्त प्रयास गर्दैनन्। थप कुराहरू जोडेर सिकाउनुपर्छ भन्ने ठान्दैनन्।
मल्टिमिडियाको धक्कु लगाउनेहरूले नोटलाई स्लाइड बनाएर देखाएका हुन्छन्। सान्दर्भिक भिडियोहरू तथा अन्य पूरक शैक्षिक सामग्री देखाउन आवश्यक ठान्दैनन्। देखाउँदैनन्। किताबमा उल्लेख गरेका विषयवस्तुलाई स्लाइड बनाएर देखाउँछन्। प्रोजेक्टरबाट स्लाइड देखाउनुलाई चमत्कारपूर्ण सिकाइ ठान्छन्। विषयवस्तुलाई अन्तरक्रियात्मक ढंगले सिकाउँदैनन्। दसौं वर्षदेखिका पुराना स्लाइड देखाउँदैमा सिकाइ प्रभावकारी हँुदैन। स्लाइड देखाएर चिच्याउनु र कक्षा कोठामा भाषण दिनु उस्तै कुरा हो। दुवै शिक्षक केन्द्रित विधि हुन्। सिकाइमा त्यसले ताŒिवक अन्तर ल्याउँदैन। त्यसमा विद्यार्थी सक्रिय भएर सिक्दैनन्। आधुनिक सिकाइ भने पनि त्यो निराशपूर्ण र दिक्कलाग्दो हुन्छ। शिक्षकहरू सकेसम्म धेरै स्लाइड देखाउन खोज्छन्। त्यसले विद्यार्थीलाई झन् दिक्कलाग्दो बनाउँछ। विद्यार्थीहरू सक्रिय भएर छलफल, प्रश्नोत्तर, अन्तसंवाद, समस्या समाधान तथा खोजमा लाग्न पाउँदैनन्।
मल्टिमिडिया प्रयोग गरे पनि विद्यार्थीको भूमिका एउटा श्रोताको रूपमा हुन्छ। ऊ निष्क्रिय हुन्छ। विद्यार्थी निष्क्रिय हुनु भनेको शिक्षक केन्द्रित सिकाइ हुनु हो। आधुनिक मल्टिमिडिया सिकाइमा शिक्षकले सहजीकरण मात्र गर्ने हो सिकाइ विद्यार्थी आफैंले सक्रिय गर्नुपर्छ भन्ने मान्यता राखिन्छ। मल्टिमिडिया प्रयोग हुने कक्षा कोठामा यस्तो वातावरण बनेको छ त ? मापन त्यसैले गर्छ।
शैक्षिक संस्थामा मल्टिमिडियाको प्रयोग बढेको भएता पनि शिक्षक केन्द्रित विधिभन्दा माथि उठ्न सकेको छैन। सिकाउने पुरानो शैली र अहिलेको शैलीमा खास भिन्नता छैन। यो नै मुख्य सबाल हो। डायरीमा भएको नोटलाई शिक्षकले डिजिटलाइज गरे। विद्यार्थी कपीमा सार्थे। अहिले डिजिटल कपी आफ्नो खातामा सार्छन्। केवल साधन फरक अरू कुरा उस्तै। विद्यार्थीका लेखन सीप, तार्किक सीप, वाचन सीप र अन्तरक्रियात्मक सीपमा ह्रास आएको छ।
परीक्षाको बेला आफैंले तयार गरेको नोट वा साथीले तयार गरेको नोट पढेको पुस्ताले डिजिटल प्रणालीमा आफूलाई रूपान्तरण गरेता पनि सिकाइ शैलीमा फरक ल्याउन सकेन। वर्षौं अगाडि तयार गरेको डिजिटल नोटलाई कक्षा कोठामा स्लाइड देखाएर सिकाउनु र कपीको नोट सार्न लगाउनु कुरा उस्तै हो। फरक छैन। नवीनतम खोज गरी सिकाउने शैली शिक्षकमा विकास भएन। राज्यले त्यो खालको शिक्षक उत्पादन गर्न सकेन। शिक्षकलाई तालिम दिएर सक्षम बनाउन सकेन। उहीँ किताब पढाउने, त्यसको व्याख्या गर्ने र विकल्पमा आएको मल्टिमिडिया भने पनि स्लाइडबाट विषयवस्तु देखाउने कुरा एउटै हो। राम्रा र क्षमतावान् दिमागहरू शिक्षण पेसामा आउन मानेनन्।
विश्वविद्यालयको शिक्षण गराउनका लागि स्थापित शिक्षाशास्त्र संकाय बेकम्मा भयो। उन्नत शिक्षण सिकाइका लागि यो चुनौतीको विषय हो। ज्ञानको भारी बोकाउने र सम्झन लगाउनेबाहेक अरू तरिकाले सिकाइ भएन। विद्यार्थीले गृहकार्य वा प्रोजेक्टवर्क गर्दा डिजिटल कपी सार्ने वा च्याट जेपीटीबाट सार्ने प्रवृत्ति बढेर गयो। शिक्षकहरू बोल्नुको साटो स्लाइड हेर भन्न थाले। छलफल, अन्तसंवाद, समस्या समाधान, सामाजिक घुलमिलन, तर्क बितर्कजस्ता सीपको विकासमा समस्या देखियो। स्वाभाविक रूपमा नयाँ सिकाइ शैली पुरानोभन्दा प्रभावकारी होस् यसमा कुनै शंका छैन।तर कक्षा कोठामा विद्यार्थी केन्द्रित सिकाइ हुन सकेन। नयाँ र पुरानो सिकाइ शैलीमा फरक आउन सकेन। चिन्ताको विषय यही हो।
बजारमा डिजिटल प्रणाली प्रयोग नगर्ने शिक्षक पढाउन र सिकाउन नजान्ने मानक बनाइयो। तर नोट लेखाउने शिक्षक र स्लाइड देखाउने शिक्षकमा भिन्नता छैन। खाली एउटा शिक्षकले कम्प्युटर चलाउन जानेको र अर्को नजानेको फरक त्यत्ति हो। सिकाइका साधन परिवर्तनभन्दा सिकाइ शैलीमा व्यापक रूपान्तरण चाहिएको छ। समयले त्यो खोजेको छ। जबसम्म सिकाइलाई ज्ञानको तहबाट सीप सिकाइ तहमा र प्रवृत्ति विकासको तहमा पुग्दैन, तबसम्म सिकाइ प्रभावकारी भएको मान्न सकिँदैन। ज्ञानमा आधारित सिकाइलाई जीवनमा आधारित सिकाइ बनाउनु पर्छ। तल्लो तहको सिकाइ व्यावहारिक, खोजमूलक र अनुसन्धानमूलक भएन, माथिल्लो तहको सिकाइ पनि उस्तै भयो। सिकाइमा नवीनता आउन सकेन। साधन परिवर्तन हुनुले सिकाइ प्रभावकारी भएको मान्न सकिँदैन। मुख्य कुरा जीवनोपयोगी सिकाइ हो। सिकाइमा विद्यार्थी सक्रिय भएर आफ्ना लागि सिकेका छन्, छैनन् त्यो महŒवपूर्ण कुरा हो। अरू सबै गौण हुन्।
दाहाल, त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्।