'सिधाकुरा'लाई अडियो सामग्री उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई बयानका लागि झिकाउने सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रसारित अडियो सामग्री उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई बयानका लागि झिकाउने आदेश दिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले ललितपुरको गोदावरीमा बस्ने तिमिल्सिनालाई वैशाख २३ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
'बयानका क्रममा प्रकाशक युवराज कँडेलले प्रसारित अडियो सामाग्रीको स्रोत ललितपुर गोदावरी बस्ने राजकुमार तिमिल्सिना भनी खुलाएको देखिएको (फोन नं. ९७६०८२१३३३ इमेल [email protected]) र Dark File-2 र 3 मा निजले अन्तर्वार्ता दिएको भन्ने देखिएको हुँदा निजलाई समेत उल्लिखित अडियो भिडियो सम्बन्धमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो? त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए आफूसँग भएका सवुद प्रमाणसहित बयानका लागि यस अदालतमा उपस्थित हुनु भनी फोन र इमेलबाट जानकारी लिई त्यसको अभिलेख राख्नु,' आदेशमा भनिएको छ।
त्यस्तै सिधाकुरा डटकमका प्रकाशक कँडेलको बयान सकिएको र कार्यकारी सम्पादक नविन ढुंगानाको बयान बाँकी रहेको भन्दै अदालतले शुक्रबार १० बजे अदालतमा उपस्थित हुन आदेश दिएको छ।