काभ्रेमा आगलागी पीडितलाई सहयोग
काभ्रे : जिल्लाको रोशी गाउँपालिका-४ सानोपोटा गाउँका अग्निपीडितलाई विभिन्न व्यक्ति एवं संघसंस्थाले सहयोग गरेका छन्। १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत सामग्री वितरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले राहत वितरण गरिन्।
गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बल लगायत सामग्री वितरण गरिएको थियो। विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले नगद पनि उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई पाँच हजार दिइएको र बाँकी १० हजार केही दिनमै उपलब्ध गराइने बताइन्। गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरी बतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए।