नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ : राष्ट्रपति

नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ : राष्ट्रपति
फाइल तस्बिर।
सुन्नुहोस्

राष्ट्रपति पौडेलले राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न प्रेसजगतलाई सफलता प्राप्त होस् भन्ने कामना गरेका छन्।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा शुभकामना दिँदै उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन्।

‘निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्‌ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ। स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो।’ शुभकामना सन्देशमा भनिएको छ,‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ।’

राष्ट्रपति पौडेलले राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न प्रेसजगतलाई सफलता प्राप्त होस् भन्ने कामना गरेका छन्। पौडेलले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने तर्क गरेका छन्।  

‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने मलाई लाग्दछ। नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ। सूचना संकलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाधरुपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो।’ राष्ट्रपति  पौडेलको शुभकामना सन्देशमा भनिएको छ,‘बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुन्छ।’ 

उनले अफवाहले नागरिकहरूलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने भएकाले पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्ने धारणा राखेका छन्। ‘समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्छन्। यस्ता अफवाहले नागरिकहरूलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने गर्दछन्। त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु’ सन्देशमा भनिएको छ।
 
उनले राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेकाले प्रेस त्यसैतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। ‘बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रो सामु छ। यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्‌लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्दछु।’ सन्देशमा भनिएको छ, ‘जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट हामीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ। हाम्रो लामो राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेको छ। मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुँदै जानेछ भन्ने अपेक्षा गरेको छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.