ट्याक्टर दुर्घटना गराएर फरार चालक १८ वर्षपछि पक्राउ
काभ्रे : मण्डनदेउपुर नगरपालिका-३ नयाँगाउँमा १८ वर्षअघि दुर्घटना भएपछि फरार रहेका चालकलाई बनेपा प्रहरीले पक्राउ गरेको छ। २०६२ असार १२ गते राती काभ्रेपलाञ्चोकको नयाँगाउँ नगरकोट कच्ची सडक खण्डमा मल लोड गरी आँउदै गरेको ज १ त ४५ नं.को ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो।
सो दुर्घटनामा ट्रयाक्टर चालक मकवानपुर साविक कोगटे-९, हाल भिमफेदी गाउँपालिका -७ का ५१ वर्षीय अर्जुन स्याङतानलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको हो। ट्याक्टरमा सवार भक्तपुर चागँनारायण-६ का ५४ वर्षीय नर बहादुर श्रेष्ठ (राज भण्डारी) घाइते भएपछि तत्काल उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा पठाइएको थियो। उनको उपचारको क्रममा ८ दिनपछि मृत्यु भएको थियो।
उक्त घट्नापश्चात चालक फरार रहेको र सवारी ज्यान कसूरमा अनुसन्धान भइरहेको थियो। फरार रहेका ट्रयाक्टर चालक स्याङ्तानलाई खोजतलास गर्नेक्रममा १८ वर्षपछि बुधबार प्रहरी पक्राउ गरेको हो। चालकलाई काभ्रे जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।